५ मंसिर २०८१, बुधबार | November 20, 2024

पुष्पलाललाई फेसबुक वाल र बगैंचाको बिरुवामा होईन, अन्तरहृदयबाट सम्झ, बल्ल तिमी कम्युनिष्ट हुनेछौ



फेसबुकमा, ट्वीटरमा र विभिन्न सामाजिक सञ्जालमा आज पुष्पलालको स्मृतिहरुले भरिएका छन् । कम्युनिष्ट पार्टीको संस्थापक भन्दै सामाजिक सञ्जालमा पोष्ट्याउने मध्य धेरैले पुष्पलालको विषयमा बिस्तृत जानकारी नै राख्ने गरेका छैनन् ।

यत्ति थाहा छ पुष्पलाल कम्युनिष्ट पार्टीका संस्थापक हुन् । पुष्पलालले स्थापना गरेको पार्टीमा वैचारिक बहस भन्दा व्यक्तिगत बहस, सैद्धान्तिक बहस भन्दा पद केन्द्रित बहस र देश र जनताका लागि भन्दा सत्ता र स्वार्थका लागि पार्टीका नेताहरु अल्झिएपछि कार्यकर्ताहरुले पुष्पलाललाई नचिन्नु अस्वाभाविक पनि होईन ।

पछिल्लो समय नेपालमा नाम कम्युनिष्ट पार्टी भएका धेरै पार्टी देखिएका छन् । तर ती पार्टीहरुमा न कहिल्यै वैचारिक प्रशिक्षण हुन्छन्, न पार्टी इतिहासको समिक्षा हुन्छ न त कम्युनिष्ट आन्दोलनको भबिश्यका रेखा कोरिन्छन् । नाममा कम्युनिष्ट लेखेर बहस, विचार र दर्शनमा पुरै स्खलित भए पनि साउन ७ गते फेसबुकमा पुष्पलाललाई सम्झँदै २/४ शब्द कोर्न, सुकिला कपडा लगाएर बगैंचामा पुष्पलालको सम्झनामा बिरुवा रोप्न र १ एकै दिन भएपनि पार्टी कार्यालयमा पुष्पलालका बिषयमा प्रवचन दिन भने छाडिएको छैन ।

को हुन् पुष्पलाल ?

पुष्पलाल श्रेष्ठ  नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता हुन् । पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते पूर्व २ नं रामेछाप जिल्लामा पिता भक्तलाल र माता तुलसीकुमारीको माहिला छोराका रूपमा भएको थियो। उनको जन्म त्यस्तो परिवारमा भएको थियो जुन परिवार तत्कालिन अवस्थामा पनि सचेत थियो र परिवर्तनको पक्षधर थियो ।

पुष्पलालका पिता भक्तलाल २००९ सालको अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीहरूको हडतालको क्रममा एक्सन कमिटीको अध्यक्ष थिए । वि.सं. १९९७ सालमा पुष्पलालका दाजु अमर शहीद गंगालाल श्रेष्ठलाई राणाहरुले गोली ठोकी हत्या गरेका थिए । गंगालाललाई गोली हान्नु अघि भद्रगोल जेलमा सपरिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई ‘माइला, मैले प्रजातन्त्रका निमित्त बालेको दियोलाई तैँले प्रज्वलित पार्नेछस्’ भनेर भनेको कुरा नेपाली इतिहासमा सधैं स्मरणीय रहँदै आएको छ । शहीद गंगालालको त्यहि शब्द नै पुष्पलालको निम्ति राजनीतिमा प्रवेश गर्ने प्रेरणाको स्रोत बनेको भनिँदै आएको छ ।

वि.सं. १९९८ सालमा कम्युनिष्ट पार्टी स्थापना हुनु भन्दा पहिले नै पुष्पलाल श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गरेका थिए। संघमा रहेका सदस्यले आ–आफ्नो रगतले प्रतिज्ञापत्रमा सही गरेर पार्टीमा लाग्नुपर्ने नियम बनाईएको थियो । संघले राणाशासनको विरोध गर्ने, विद्यालयहरू खोली विभिन्न खालका (सिपमूलकसमेत) तालिम दिने काम गर्दथ्यो ।

पुष्पलालले वि.सं. १९९७ सालदेखि बन्दीजीवन बिताइरहेका नेपाल प्रजा परिषद्का नेताहरूसित गोप्यरूपले सम्पर्क राखी टंकप्रसाद आचार्यलगायत अरू नेताहरूको नेलसहितको फोटो सन् १९४२मा भारत, पटनाबाट प्रकाशित हुने ‘जनता’ पत्रिकामा प्रकाशित गर्न मद्दत गरेका थिए ।

२००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसले नागरिक अधिकारको लागि गरेको आन्दोलनको नेतृत्व पुष्पलाल श्रेष्ठ, शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ, साहना प्रधान लगायतले गरेका थिए । जनतालाई रैती ठान्ने राणाहरुका अगाडी जनताद्वारा गरिएको यही पहिलो जनआन्दोलनका कारण पद्म शमशेरले सुधारको कदम चाल्न बाध्य बनेका थिए ।

प्रजातान्त्रिक आन्दोलनमा सहभागिता जनाईरहँदा पुष्पलाललाई माक्र्सवादी लेनिनवादी विचारले आकर्षण दिईसकेको थियो । उनी दिउँसो राष्ट्रिय काँग्रेसको कार्यक्रम बनाउन सक्रिय भए पनि राती कार्लमाक्र्सको पुँजी पढ्थे ।

चीनमा माओले सुरु गरेको नयाँ जनवादी क्रान्ति र भारतीय कम्युनिष्ट पार्टीका नेताहरुको सम्पर्कले पुष्पलाललाई कम्युनिष्ट विचारप्रति आकर्षित गराएको थियो ।

मार्क्सवाद–लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । २००६ सालमा भारतको कलकत्तामा भारत कम्युनिष्ट पार्टीका नेता अजय चक्रवर्तीसँगको भेट र पश्चिम बङ्गालका तत्कालिन मुख्यमन्त्री ज्योति बसुको संगतले पुष्पलाल कम्युनिष्ट कार्यकर्ता बन्न पुगेका थिए ।

पुष्पलालले नेपालमा साम्यवादी विचारधाराको व्यापक प्रचार९प्रसार गर्न ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ नेपाली भाषामा अनुवाद गरे । सम्भवतः नेपाली भाषाको सबभन्दा पहिलो साम्यवादी साहित्य पुष्पलालबाट लिखीत कम्युनिष्ट पार्टीको घोषणापत्र नै हो ।

२०१७ साल पौष १ गते राजा महेन्द्रले राजननीतिक कु गरेपछि पुष्पलाल भूमिगत भए । भूमिगत र निर्वासितजीवनकै बिचबाट उनले पञ्चायती दमनका कारण छरपस्त भएका कम्युनिष्टहरुलाई जम्मा गरे र तेस्रो महाधिवेशन गरे ।

कम्युनिष्टहरुले दस्तावेजमा वर्ग दुस्मन किटान गरेको काँग्रेससँग मिलेर निरंकुश व्यवस्थाको अन्त्य गर्न सकिने पुष्पलालले निश्कर्ष निकाल्दा धेरैलाई अचम्म लागेको थियो, तर पुष्पलालले गरेको त्यो भविश्यवाणी २०४६ र २०६३ सालको जन आन्दोलन र जनक्रान्तीमा आएर सत्य साबित भयो ।

कालान्तरमा गद्दार पुष्पलाल भन्ने कम्युनिष्ट नेताहरु, कांग्रेस परस्त पुष्पलाल भन्ने कम्युनिष्टहरु र सेना विना कम्युनिष्ट पार्टी बन्नै सक्दैन भन्ने कम्युनिष्टहरु एक स्थानमा उभिए र संयुक्त जनआन्दोलन भयो । फलस्वरुप नेपालमा गणतन्त्र आयो, जुन गणतन्त्रलाई उपयोग गर्ने क्रममा आफुलाई पुष्पलालका अनुयायी दाबी गर्ने नेताहरु बिचार, सिद्धान्त र दर्शनको होईन सत्ता, सुबिधा र पदको लुछाचुंडी गरिरहेका छन् ।

पुष्पलालले जहिले पनि कम्युनिष्ट पार्टी नीति प्रधान हुन्छ भन्ने गर्दथे । नीतिले नेता चुन्नु पर्छ भन्थे, कम्युनिष्ट पार्टीका हरेक सदस्य पार्टीको मातहत हन्छ भन्थे र पार्टीलाई लेबी नबुझाउने कार्यकर्ता कम्युनिष्ट पार्टीको सदस्य बन्न सक्दैन भन्थे । २ लाईनको संघर्ष र जस्को नीति उसैको नेतृत्व भन्ने बहस पनि पुष्पलालबाटै सुरु भएको थियो । पुष्पलालको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्लीस्थित अल इण्डिया मेडिकल इन्स्टीच्युटमा उपचारका क्रममा निधन भएको थियो ।

आज धेरै स्थानमा तिनै पुष्पलालका नाममा बिरुवा रोपिँदै होलान्, धेरै स्थानमा उनकै व्यक्तित्वको चर्चा हुँदै होला र धेरै नेताहरुले त पुष्पलालको फोटो पोष्ट गरेर बिहानै देखि सामाजिक सञ्जाल रङ्गाई रहेका पनि छन् ।

उनका नाममा बिरुवा रोप्नेहरु, उनको विषयमा शब्द खर्चिनेहरु र उनको फोटो वालमा राखेर स्मरण गर्नेहरुलाई उनले कम्युनिष्ट पार्टी गठन गर्दा रगतले हस्ताक्षर गरेर सपथ खाईरहेको दृष्य सम्झेर पार्टीलाई साँच्चिकै कम्युनिष्ट पार्टी बनाउन अग्रसर होलान् ?

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार  १० : १४ बजे

पहिलो चौमासिकमा रु १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालले रु १२

राष्ट्रपति पौडेलद्वारा ‘नेपालका निधि’ पुस्तक लोकार्पण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा पछाडि परेका क्षेत्र र

नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बेसबल खेल क्षेत्रका विभिन्न

उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपको आग्रह

काठमाडौं । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (जिसप) ले उपनिर्वाचनको कुनै