१४ पुस २०८१, आइतबार | December 30, 2024

हिमालय वारिपारिको अभेद्य नेपाल–चीन सम्बन्ध



दुई दशक बढीपछि पहिलो पटक नेपाल भ्रमण गर्दै गरेका चिनियाँ राष्ट्रपति सी चिङफिङले गत वर्ष काठमाडौंमा भनेका थिए, ‘हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पु-याऔं’

अग्ला हिमालय पर्वतमालाले दुईतिर भए पनि नेपाल र चीन बीचको सम्बन्ध इतिहासदेखिको छ । दुई मुलुकबीच सन् १९६० मा औपचारिक रुपमा कुटनीतिक सम्बन्ध कायम भएको थियो । तर, यी दुई छिमेकी मुलुकबीच कुटनीतिको जनस्तरको सम्बन्धको मजबुद र ऐतिहासिक रहेको छ ।

सयौं वर्षअघिदेखिको सम्बन्धलाई पुनर्परिभाषित गर्दै राष्ट्रपति सी ले हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाईंमा पुर-याउँ भनेका थिए । अवश्य पनि नेपाल र चीनबीच यतिबेलाको सम्बन्ध अभूतपूर्व रहेको छ । सम्बन्धलाई कमजोर बनाउने कैयौं दृश्य/अदृश्य प्रयत्नका बाबजुद पनि सगरमाथा भन्दा अग्लो सम्बन्धलाई थप उचाईमा पु-याउन दुवै मुलुकको समान दायित्व र कर्तव्य अनिवार्य छ ।

ऐतिहासिक सम्बन्ध
नेपाल र चीनबीच सम्बन्धको ऐतिहासिकता खोजी गर्दै जाँदा मन्जुश्रीसम्म पुग्न सकिन्छ । अर्थात ३५ सय वर्षअघि पुग्न सकिन्छ । स्वयम्भू पुराणले नेपाल र चीनबीचको सम्बन्ध ३५ सय वर्षअघिको किंवदन्तीलाई स्मरण गराउँछ । चिनियाँ यात्री मञ्जुश्रीले काठमाडौं उपत्यकाको दक्षिणमा रहेको गल्छीलाई खड्गले काटेर उपत्यकाको पानी सुकाएपछि बस्न योग्य स्थान बन्यो र नेपालको उत्पत्ती भयो भन्ने किंवदन्ती रहेको छ ।

यो किंवदन्तीलाई छोड्ने हो भने करिब १६ सय वर्षअघि चिनियाँ बौद्ध यात्री भिक्षु फा सियानले नेपालको भ्रमण गरेका थिए भने नेपाली भिक्षु बुद्धभद्रले चीनको भ्रमण गरेका थिए । उनीहरुले संयुक्त रूपमा बौद्ध धर्मका शास्त्रपदहरू अनुवाद गरेका थिए भन्ने इतिहासकारहरु बताउँछन् ।

त्यसो त, स्कुले विद्यार्थीलाई समेत थाहा छ, नेपालकी छोरी भृकृटीको विवाह तिब्बतका राजा स्रोङचन गम्पोसँग भयो । त्यतिबेला चीनमा थाङ राजवंशको शासन थियो । यस्तै, चिनियाँ भिक्षु स्य वीयानचाङले आफ्नो यात्रा वृत्तान्तमा शाक्यमुनिको जन्मस्थल लुम्बिनीको बहुमुल्य वर्णन गरेका थिए ।

य्वीयान राजवंशका पालामा नेपालका प्रसिद्ध कलाकार अरनिकोले चीनमा आएर पेइचिङमा श्वेत स्तुपको निर्माण गरेका थिए । आजपर्यन्त अरनिकोलाई चीनमा स्मरण गरिन्छ । बेइजिङमा रहेको स्वेत स्तुपाले नेपाल चीन सम्बन्धको ऐतिहासिकतालाई प्रकाश पारिरहेको छ । युगौदेखि दुवै देशबीच रहेको मैत्रीपूर्ण सम्बन्धका यी अकाट्य आधार हुन् ।

लगानीको सम्बन्ध
आजको दिनमा नेपाल र चीनबीच सुमधुर सम्बन्ध कायम छ । दुई देशबीच औपचारिक कुटनीतिक सम्बन्ध ७० वर्ष पहिले जोडिए पनि राष्ट्रपति सीले भनेजस्तै हिमालय वारपारका यी छिमेकीको सम्बन्ध ऐतिहासिक छ । यो सम्बन्ध स्थायी र दीगो बनाउन दुवै मुलुकको समान दायित्व छ । चीनसँग कुटनीतिक सम्बन्ध स्थापित भैसकेपछि चीनले नेपालको विकासका लागि औपचारिक रुपमा ठूलो लगानी गरेको छ । चीनले दशकौं पहिले निस्वार्थ गरिदिएको लगानी आज नेपालमा कहाँ पुगेको छ, आम सर्वसाधारण भुक्तमान छन् ।

भृकुटी कागज कारखाना कौडीको भाउमा बिक्रि भयो । गैंडाकोट पुग्दा कारखानाको अस्थिपञ्जर देखेर जो कसैको मन पनि कटक्क काट्छ । बाँसबारी छाला जुत्ता कारखानाका उत्कृष्ठ मेशिनलाई कपिलवस्तु हुँदै सीमा कटाइयो । आज भारतको सबैभन्दा प्रतिष्ठित जुत्ता कम्पनीका जुत्ता सोही मेशीनले उत्पादन गरिरहेको छ । हरिसिद्धी इट्टा तथा टायल कारखानालाई ध्वस्त बनाइयो । आज हरिसिद्धीको जमिन लुछ्न पनि हानाथापी छ नेताहरुमै ।

यी समान्य दृष्टान्त हुन् चीनले नेपालमा गरेको लगानी ध्वंस बनाउन खेलिएका खेलका । अन्य कैयौं फर्म र कम्पनीहरुको फेहरिस्त लामो छ । तथापी, चिनियाँ सहयोग नेपालमा निरन्तर छ । र, यो सहयोग पछिल्ला दिनमा झन बढी बढ्दो छ ।

अहिले नेपालमा सबैभन्दा ठूलो लगानीकर्ता कोही मुलुक छ भने चीन नै छ । चिनियाँ लगानीकर्ताहरु नेपालमा अझ बढी लगानी खन्याउन चाहन्छन् । नेपाल बेल्ट एण्ड रोडको सदस्य मुलुक हो । राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा अभियानको शुरूवात घोषणा गरेका थिए । १२५ मुलुक बढी जोडिएको यो विश्वव्यापी सञ्जालमा नेपाल सन् २०१७ मे १२ मा जोडियो । तर, बीआरआई अन्तर्गतका योजनाहरु के हुने र निर्माण मोडालिटीका बारेमा अझै पनि छलफल जारी रहँदा नेपालमा यसअन्तर्गतको काम सोचेजति अघि बढ्न सकेको देखिदैन । आफ्नो मुलुकको प्राथमिकता के हो भन्नेबारेमा नेपालको अलमल अझै देखिन्छ । नेपाल–चाइना चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनसीसीसीआई)का उपाध्यक्ष राष्ट्रभूषण चाकुबजी चीनबाट आउने भनेको लगानी रोकिनु र चीनले बनाइदिने भनेका पूर्वाधार नबन्नुमा चीनको दोष कम रहेको बताउँछन् ।

गत वर्ष बेइजिङमा आयोजित बीआरआईको दोस्रो फोरममा सहभागी राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो पटक नेपालको चासो प्रकट गरेकी थिइन । बीआरआईले दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न सघाउने बताउँदै भण्डारीले भनेकी थिइन, ‘नेपालजस्तो भूपरिवेष्ठित मुलुकका लागि सामाजिक, आर्थिक विकासका लागि कनेक्टिभिटी अति महत्वपूर्ण छ । नेपाल–चीन सीमापार रेलवे समेटिएको हिमालयपार बहुआयामिक कनेक्टिभिटी सञ्जालको विकासले नेपाल र चीनमात्र नभई यस क्षेत्रका अन्य देशबीच पनि सम्पर्क बढाउनेछ ।’

त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय सम्बन्ध विभागका प्रमुख डा. खड्क केसी भन्छन्, ‘नेपालको पूर्वाधार विकासका लागि बीआरआई परियोजनाअन्तर्गत हिमालय सीमापार बहुआयामिक कनेक्टिभिटी सञ्जाल महत्वपूर्ण पाटो हुनेछ’ । तर केसीका अनुसार राष्ट्रहित अनुसार यो योजना अघि बढाउन नेपालकै पहिलो पहल हुन जरुरी छ ।

चीन आर्थिक सहयोगमा उदारतापूर्वक अगाडि आएको छ । बीआरआईको नीतिअन्तर्गत चीनले नेपालमा आपसी लगानीको सम्भावनासहित अनुरोध गरिरहेको छ । केही महत्वपूर्ण सम्झौता भएका छन् । मुख्य कुरा त, नेपालको भारतबाट एकलौटी हुँदै आएको पारवहनको अवस्था समाप्त भएको छ । भारतवेष्ठित अवस्थामा रहेको नेपाल अब फेरि हुने भारतीय नाकावन्दीलाई प्रभाव शुन्य बनाउनसक्ने अवस्थामा पुगेको छ । चीनको भूमि हुँदै मध्यएसियासँग व्यापार विस्तारको सम्भावना खुलेको छ र चिनियाँ बन्दरगाह प्रयोग गर्न नेपाललाई ढोका खुलेको छ ।

नेपालमा चिनियाँ सहयोग र चिनियाँ ऋण लगानी बढ्दै गएको छ । लगानीका आधार र प्राथमिकता निर्धारण गर्ने काम नेपाल स्वयंकै हो । तर, देशभित्र लगानीको वातावरण कमजोर बन्दा निर्धारण गरिएका परियोजनाहरु समेत समयमा बन्ने गरेका छैनन् । नत कबोल गरिएको वैदेशिक लगानी भित्रिएको छ । चीनको निजी क्षेत्रबाट आएको होङ्सी सिमेन्ट नेपालको सबैभन्दा ठूलो वैदेशिक लगानीको परियोजना हो । यस्तै, ह्वासिन सिमेन्ट धादिङमा निर्माणाधीन छ, जहाँ अर्बौको चिनियाँ लगानी रहेको छ । नेपालको उर्जा, सिंचाईं, प्रसारण लाइन, सडक, विमानस्थल निर्माणमा चिनियाँ कम्पनीहरु संलग्न रहेकाछन् ।

यीमध्ये पोखरा विमानस्थलको निर्माण प्रगति उत्साहजनक छ । निर्धारित समय भन्दा अगावै भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ सम्पन्न भयो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल रन वे स्तरोन्नती समयमै सम्पन्न भयो । भैरहवा अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम सकिने अवस्थामा छ । कोरोना महामारीले पारेको विश्वव्यापी प्रभावका कारण रोकिएको कामबाहेक अन्य कोणबाट हेर्ने हो भने काममा हुने ढिलाई नेपालको आन्तरिक व्यवस्थापनकै कारण भएको छ । चीनका कारणले ढिलाई भएको छैन ।

‘चाइना एड’को सहयोगमा भूकम्पछि विभिन्न जिल्लामा भत्किएका स्कुलहरु बने । लमजुङको भैरव माध्यमिक विद्यालय, सिन्धुपाल्चोकको रत्नराज्य माध्यमिक विद्यालय र काठमाडौंको दरबार हाइस्कुल समय अगावै सम्पन्न भए अभूतपूर्व भौतिक पूर्वाधारसहित । मातातीर्थमा सशस्त्र प्रहरीको भवन बन्यो विना शर्त समय अगावै ।

यी केही दृष्टान्तले अझै पनि भन्छ, चीनले नेपालमा इमान्दारितापूर्वक लगानी गरेको छ । नेपालको भद्रगोल व्यवस्थापन देखेर त्यसै अनुसार ढल्किएका एकाध कम्पनी बाहेक अन्य सबैजसो चिनियाँ कम्पनीहरुले नेपालमा समयमै काम सम्पन्न गरेका छन् । राम्रो काम सम्पन्न गरेका छन् ।

बिगार्न खोजिएको प्रयत्न
चीनसँग नेपालको सम्बन्ध र ऊसँगको घनिष्टता आफैंमा अत्यन्त महत्वपूर्ण रणनीतिक छ भन्ने कुरा इतिहासले समेत स्थापित गरेको तथ्य हो । जनस्तर, कुटनीति र व्यापारिक सम्बन्धले दुई देशलाई यहाँसम्म ल्याइपुर्याएको छ । नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ । नेपालको प्रतिवद्धता अकाट्य छ । तर, उदियमान विश्व महाशक्ति चीनलाई नियन्त्रण गर्न इन्डोप्यासिफिक स्ट्राटेजीको अंग रहेको एमसीसी पास गर्न अमेरिकाले नेपाललाई दबाब दिइरहेको छ । इन्डोप्यासिफिक स्ट्राटेजी चीनलाई नियन्त्रण गर्न चलिएको अमेरिकाको रणनीति भएको कुटनीतिक मामिला जानकार एवं पूर्व राजदूत हिरण्यलाल श्रेष्ठ बताउँछन् ।

चिनियाँ उपस्थिति हस्तक्षेपको तहमा पुग्यो भन्दै दक्षिण छिमेकी भारतको हर्कत झन बढ्दैछ । चीन विरोधी गतिविधि बढाउनका लागि भारतीय सक्रियता र अदृश्य लगानी झन ठूलो छ । चीन विरोधी गतिविधि बढाउनैका लागि केही दिन अघि काठमाडौंका होटलहरुमा गरिएका भेलाको परिणाम सडकमा समेत देखिएको थियो । हङ्कङ चीनको आन्तरिक मामिला भएको विषयमा नेपालको परराष्ट्र मन्त्रालयले प्रष्ट पार्दा नयाँ दिल्ली र वासिङ्गटनलाई टाउको दुख्यो । कुनै सम्बन्धै नरहेको सिनजियाङ् प्रान्तको प्रसंगलाई समेत नेपालमा जवरजस्त उठाउन थालिएको छ । तथाकथित स्वतन्त्र तिब्बत पक्षधर व्यक्तिहरुको सक्रियता सडकसम्म योजनावद्ध रुपमा देखिएको छ । मूल रुपमा नेपाली जनतामा रहेको चीनप्रतिको सकारात्मक मनोविज्ञानलाई भत्काउन यतिबेला निकै ठूलो लगानी गरिएको छ । हजारौं वर्ष पुरानो जनस्तरको सम्बन्ध र विश्वासलाई हिमालय पर्वतमालाले त छेक्न सकेको छैन, विदेशी शक्तिकेन्द्रको प्रयासले रोकिँदैन भन्ने प्रष्ट छ ।

नेपाल र चीनबीच रणनीतिक सहयोगपूर्ण अवस्था छ अहिले । चीनले नेपालका आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप गरेको छैन । अहिले कतिपय व्यक्ति र शक्तिकेन्द्रहरुले चिनियाँ राजदूत हौउ यान्छीको हालैको सक्रियतालाई नेपालको आन्तरिक मामिलाको ‘माइक्रो म्यानेजमेन्ट’को रुपमा व्याख्या गर्ने प्रयत्न गरेका छन् । चिनियाँ राजदूतसँग भेट गरेका नेकपाका वरिष्ठ नेता झलनाथ खनालका अनुसार दुवै देशमा कम्युनिष्ट पार्टी सत्ता भएका कारण भाइचारा सम्बन्धको आधारमा राजनीतिक दलका नेताहरुसँगको भेटघाट सामान्य हो । यो भेटघाट न त नेपाल विरुद्ध केन्द्रित थियो, न त अर्को कुनै मुलुक विरुद्ध । बरु यस्ता भेटघाट पारदर्शी ढंगले परराष्ट्र मन्त्रालयको समन्वयमा गर्ने र त्यहाँबाट नै भेटबारे प्रकाश पार्न जरुरी हुने कुटनीतिक विश्लेषकहरु बताउँछन् ।

सचेत बन्नुपर्ने 
चीन संसारको एउटा आर्थिक शक्ति हो । चीन राष्ट्रमात्रै धनी होइन, नागरिक पनि सम्पन्न भएको देश हो । कोरोना भाइरसको महामारी चीनबाट फैलियो । यद्यपी, यो महामारी फैलाउने भाइरसको उत्पत्ती कहाँबाट भयो भन्नेबारेमा अझै पनि अन्यौल कायमै छ । चीनबाट फैलिएको महामारीले विश्वव्यापी बन्दै गर्दा अमेरिका र यूरोप संकटग्रस्त अवस्थामा पुग्यो । तर, महामारी नियन्त्रणका लागि चीनले समयमै अभूतपूर्व पहल गर्यो । चीनले आफ्नो देशभित्र महामारीलाई नियन्त्रण मात्र गरेन, अमेरिका यूरोप लगायतका मुलुकलाई भेन्टिलेटरदेखि मास्कसम्म सहयोग ग-यो । यो तथ्यलाई छोडेर चीनले महामारी फैलाएको भन्ने एकपक्षीय अमेरिकी भनाइको पछि कैयौं मुलुक लागे, जो अझै पनि कोरोनाबाट प्रताडित बनिरहेका छन् । अर्कोलाई गाली गर्दैमा समय विताउँदा अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भयो, सबैभन्दा धेरै संक्रमित भए । चीनले भने सामुहिक हितका लागि विश्वमा उद्दार राहतको नेतृत्व गर्यो ।

प्रष्टै छ, अहिलेको विश्वमा चीनलाई अलग गरेर संसारको आधुनिक व्यवस्था कल्पना गर्न सम्भव छैन । चीन पूर्णरूपमा राजनीतिक स्थायित्व र आर्थिक अनुशासन भएको देश हो । चीन अहिले विश्वकै नेतृत्व गर्न सक्षम भइसकेको छ । पश्चिमाहरुले जतिसुकै रोक्न खोजेपनि चीनको ‘भिजन २०२५’ रोकिने देखिदैन । त्यसैले कुनै पनि मुलुकले चीनप्रति अनुदार बन्ने प्रयास गर्नु, चीनसँग लगानीका सम्भावना त्यागेर विकासबाट विमुख बन्नु र चीनलाई शंकित बनाउनु भनेको आफ्नै अवसर अपहरण गर्नु हो । हालै बेलायतले अमेरिकी दबाबममा ५ जी सेवामा चिनियाँ कम्पनी हुवावेलाई हटाउन गरेको निर्णयप्रति त्यहाँका दूरसंचार कम्पनीहरुले निराशपूर्वक दिएको प्रतिक्रियाले यो कुरा प्रष्ट पार्छ ।

भूराजनीतिक विश्लेषक डा. युवराज संग्रौला भन्छन्, ‘चीनसँगको नेपालको सम्बन्ध खेलाँची गर्ने विषय होइन । एक चीन नीति नेपालको घोषित नीति हो । यसलाई विथोल्न खोज्ने कुनै पनि कदम विश्वासघात हो ।’ अवश्य पनि चीनसँग सयौंवर्षदेखि नेपालको जनस्तरको सम्बन्ध रहेको छ । दुवै मुलुकबीच अहिले अभूतपूर्व विश्वास पनि छ । कुटनीतिक राजनीतिक स्तरमा विश्वास अहिलेसम्म कायमै छ । चीनसँगको सम्बन्धलाई कुनै पनि कोणबाट कमजोर बनाउने हैन, थप मजबुद बनाउन जरुरी छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  २ : २५ बजे

घुससहित किताब खानाका शाखा अधिकृत पक्राउ

काठमाडौँ । राष्ट्रिय किताब खाना (शिक्षक), छाउनी मार्ग तहाचल, काठमाडौँमा

खेलकुद मन्त्रीको कारवाहीको चेतावनीबीच नेपाल ओलम्पिक कमिटीको बैठकबाट बिभिन्न निर्णय

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ऐन र कानुन

कुखुराको मासु खाँदा एकजनाको मृत्यु, तीन बिरामी

अछाम । कुखुराको मासु खाँदा अछाममा एकजनाको मृत्यु भएको छ

अध्यक्ष प्रचण्डद्वारा महासचिव वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

लुम्बिनी कप महिला फुटबलको सल्लाहकारमा सम्झना र राठौर मनोनयन

नेपालगन्ज । नेपालगन्जमा हुन लागेको प्रथम लुम्बिनी कप महिला फुटबल