२० कार्तिक २०८१, मंगलबार | November 5, 2024

कोरोना भाइरसका बारेमा तपाईँले थाहा पाउनैपर्ने यी जानकारी



एजेन्सी । कोरोना भाइरसको संक्रमणसँगै विभिन्न विषयमा अध्ययन अनुसन्धान चलिरहेको छ । सन् २०१९ को डिसेम्बरदेखि संसारभर चर्चाको शिखरमा रहेको कोरोना भाइरसका विषयमा बिबिसी विश्वसेवाका लागि स्वाथ्य तथा विज्ञान संवाददाता जेम्स ग्यालहरले विशेष सामाग्री तयार पारेका छन् ।

कोरोना भाइरसका विषयमा विभिन्न चर्चा परिचर्चा भए पनि यसका विषयमा वैज्ञानिकहरुले पनि धेरै कुरा बुझ्न बाँकी नै छ । अहिलेसम्मका अध्ययनका आधारमा पनि हामीले धेरै कुराहरु बुझ्न बाँकी नै छ ।

सबै मानिस बिरामी पर्दैनन् ?

संसारभर लाखौँ मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । तथ्याङ्कमा देखिने वा पुष्टि भएका मानिसको सङ्ख्याले वास्तविक सङ्क्रमणको प्रतिनिधित्व गर्दैन। त्यो सङ्ख्या अझै अपूर्ण किन छ भने सङ्क्रमण भएका कैयौँ मानिस बिरामी नै पर्दैनन् ।

मानव शरीरमा हुने एन्टीबडीको परीक्षण गर्ने पद्धतिको विकास गर्न सके कसैमा भाइरस भए नभएको जाँच गर्न सकिन्छ । त्यसपछि मात्र कति छिटो र कति परसम्म यो भाइरस फैलिरहेको छ भन्ने कुरा थाहा हुन्छ ।

यो कति घातक छ ?

कति मानिसलाई सङ्क्रमण भएको छ भन्ने तथ्य थाहा नभइकन मृत्युदर थाहा हुन सक्दैन । अहिलेसम्म विश्वमा सङ्क्रण भएका झन्डै एक प्रतिशत मानिसको मृत्यु हुने अनुमान गरिएको छ ।

तर यदि लक्षणै नदेखिएका सङ्क्रमितहरूको सङ्ख्या धेरै छ भने मृत्युदर अझै बढी हुन सक्छ ।

कोरोना भाइरसका लक्षणहरू

ज्वरो आउनु र सुक्खा खोकी लाग्नु कोरोनाभाइरस सङ्क्रमणका मुख्य लक्षण हुन् । तपाईँ यी लक्षणबारे सतर्क हुनुपर्छ ।

केही बिरामीमा घाँटी दुख्ने, टाउको दुख्ने र पखाला लाग्ने गरेको पनि पाइएको छ । केही बिरामीमा सुँघ्ने क्षमतामा कमी आएको पनि पाइएको छ ।

विभिन्न अध्ययनले देखाए अनुसार केही मानिसहरूलाई सङ्क्रमण भइसके पनि उनीहरूमा कुनै लक्षण देखिँदैन । उनीहरूले यो भाइरस बोकिरहेका हुन सक्छन् जो अरू मानिसमा सजिलै फैलिन सक्छ ।

भाइरस फैलाउनमा बालबालिकाको भूमिका

केटाकेटीहरूले पक्कै पनि भाइरस समात्न सक्छन् र उनीहरुले अरू व्यक्तिमा सार्न सक्छन् ।

धेरैजसो बालबालिकामा सामान्य लक्षण देखिन्छ । अन्य उमेर समूहका मानिसको भन्दा बच्चाहरूको मृत्युदर निकै कम रहेको छ ।

प्रायस् खेलमैदानमा रमाउने बच्चाहरू स्वभावैले धेरै मानिससँग घुलमिल गर्छन् । उनीहरूले यो भाइरस निकै छिटोछिटो धेरै मानिसमा फैलाउन सक्छन् ।

यो भाइरस कहाँबाट आयो ?

यो भाइरस सन् २०१९ को अन्त्यमा चीनको वुहानमा पहिलो पटक देखिएको थियो । त्यहाँ पशुपंक्षी व्यापार हुने एक बजारमा पहिलो पटक यसको सङ्क्रमण देखिएको थियो ।

कोरोना भाइरस के हो ?

‌औपचारिक रूपमा कोभिड-१९ नाम दिइएको कोरोना भाइरस चमेराहरूलाई सङ्क्रमित तुल्याउने भाइरससँग मिल्दो जुल्दो छ । त्यो भाइरस चमेराबाट कुनै अज्ञात जनावरमा सर्दै मानिसमा सरेको विश्वास गरिएको छ ।

त्यो अज्ञात जनावर प्रष्ट भइसकेको छैन । त्यो थप सङ्क्रमणको कारक पनि बन्न सक्छ । यस बारेमा अनुसन्धान चलिरहेको छ ।

के गर्मी याममा सङ्क्रमण कम होला ?

फ्लू वा रुघाजस्ता रोग गर्मी महिनामा भन्दा जाडो महिनामा बढी हुने गर्छन् । तर न्यानो हावापानीमा यो भाइरस फैलिने क्रममा कमी आउँछ कि आउँदैन भन्ने अझै प्रष्ट भइसकेको छैन ।

ब्रिटेन सरकारका विज्ञान सल्लाहकारहरूले कोरोनाभाइरस सङ्क्रमणमा मौसमी प्रभाव हुन्छ कि हुँदैन भन्नेबारे प्रष्ट नभइसकेको चेतावनी दिएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको दर गर्मी महिनामा कम भएमा फेरि जाडो महिनामा त्यो फैलिने क्रम बढ्न सक्छ। त्यतिबेला अस्पतालहरूलाई बिरामीको चाप धान्न मुस्किल हुनेछ ।

केही मानिसमा किन गम्भीर लक्षण देखिन्छन् ?

धेरै मानिसमा कोभिड १९ का सामान्य लक्षण मात्रै देखिन्छन् । तर झन्डै २० प्रतिशतमा गम्भीर लक्षण देखिन्छन् । किन होला ?

मानिसको प्रतिरक्षा प्रणालीको अवस्थाले त्यसमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ । केही कुरा व्यक्तिको आनुवंशिक गुण र विशेषतामा पनि भर पर्न सक्छ ।

त्यसबारे जति धेरै ज्ञान प्राप्त हुन सक्छ त्यसले सघन उपचार गर्नु पर्ने बिरामीको सङ्ख्या घटाउन त्यति नै ठूलो सहयोग पुर्‍याउन सक्छ ।

मानिसको प्रतिरक्षा क्षमता कति समयसम्म रहला ?

कोरोना भाइरससँग सङ्घर्ष गर्न सक्ने मानिसको प्रतिरक्षा क्षमताबारे धेरै अनुमान गरिएको छ । तर त्यसतो क्षमता कति समयसम्म रहला भन्ने बारे निकै थोरै प्रमाणहरू उपलब्ध छन् ।

कुनै बिरामीको शरीरले कोरोना भाइरससँग राम्ररी सङ्घर्ष गरेको छ भने उसको प्रतिरक्षा प्रणालीलाई राम्रै मान्नुपर्छ । तर यो रोग केही महिनाअघि मात्र देखा परेकोले यसबारे पर्याप्त तथ्याङ्क उपलब्ध छैन ।

कुनै बिरामीमा दोस्रो पटक पनि यो भाइरस देखिएको विषय सङ्क्रमण भए नभएको परीक्षण गर्ने विधि र पद्धतिको विश्वसनीयतासँग गाँसिएको हुन्छ । त्यो विधिले कहिलेकाहीँ सही परिणाम नदेखाएको पनि हुन सक्छ।

के भाइरसले आफ्नो स्वरूप परिवर्तन गर्ला ?

भाइरसहरू बारम्बार आफ्नो स्वरूप र गुण परिवर्तन गरिरहन्छन्। तर उनीहरूको आनुवंशिक सङ्केतलाई चलाउँदा धेरै फरक पर्दैन ।

त्यसरी भाइरसहरूले आफ्नो स्वरूप फेर्ने क्रम जारी राख्दा उनीहरू लामो समयपछि कम घातक हुन्छन् भन्ने सामान्य नियम छ । तर त्यो निश्चित भने हुँदैन ।

यी भाइरसहरूले आफ्ना स्वरूप फेरे भने तिनलाई मानिसको प्रतिरक्षा प्रणालीले नचिन्न पनि सक्छ र कुनै भ्याक्सीन वा खोपको विकास गरिहालियो भने पनि त्यसले काम नगर्ने अवस्था आउन सक्छ ।

भाइरसले स्वरूपमा परिवर्तन गरेकै कारण फ्लू रोग नियन्त्रण गर्ने खोपले राम्रो काम नगरेका उदाहरणहरू प्रशस्त छन् । यो मानव समुदायका लागि ठूलो चिन्ताको विषय हो ।

बिबिसीबाट साभार

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ५ : ०८ बजे

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चीन भ्रमणमा जाने

लुम्बिनी । यही कात्तिक २६ देखि २८ गतेसम्म चीनको सिछुआन

सुरुभयो राजमार्ग चौराहा-चिडिया खोला सडक बिस्तारको काम

बुटवल । अदालतको मुद्दा र स्थानीयको अवरोध सहित ठेकेदारको चरम

काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण सकियो, १९ प्रसारण लाइन सञ्चालनमा

काठमाडौं। इलामको माईखोला आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२

सर्लाहीको एक पोखरीमा बेपत्ता दुई जनाको शव गोताखोर टोलीले निकाल्यो

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा कारसहित पोखरीमा खसेर बेपत्ता

रवि लामिछानेसहित ४ जनालाई कास्की जिल्ला अदालत लगियो, बहस जारी

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई