१२ पुस २०८१, शुक्रबार | December 28, 2024

चीनले ७० करोड मानिसलाई घरमै थुनेर सफलता पायो, नेपालको ढिलासुस्ती गम्भीर गल्ती बन्नसक्छ



काठमाडौ । कोरोना भाइरसलाई सामान्यरुपमा लिँदा इटली लगायत पश्चिमा राष्ट्रहरु अत्यधिक संटकमा फसेका छन् । इटली सरकारले मार्च १० मा लकडाउन घोषणा गरेको थियो तर त्यसको कडाईपूर्वक कसैले पनि पालना गरेनन् । लकडाउन गरिए पनि इटलीका कयौं शहरमा मानिसहरु सपिङ गरिरहेका भेटिन्थे, रेस्टुरेन्टमा खाना खाइरहेका भेटिन्थे, बार र क्लबमा मध्यरातसम्म रमाइरहेका भेटिन्थे । बजारमा घुमिरहेका भेटिन्थे ।

यस्तै चल्दाचल्दै इटलीमा कोरोनाको कारण संसारमै सबैभन्दा बढी क्षति भइसकेको छ । अहिले त्यहाँ लकडाउनलाई सफल बनाउन सेना परिचालनसम्म गरिएको छ । मानिसहरु घेरा तोडेर बाहिर ननिस्कउन भनेर सेनाले दिनरात मेहनत गरिरहेको छ ।

इटलीमा कोरोनाको पहिलो संक्रमण ३१ जनवरीमा रोमबाट बाहिर आएको थियो । तर देशमा लकडाउन भने १० मार्चमा लागू गरिएको थियो ।
नेपालको छिमेकी मुलुक भारतमा पनि पहिलो संक्रमण ३१ जनवरीमा केरलाबाट सार्वजनिक भएको थियो । तर त्यसको ५० दिन बितिसक्दा पनि लकडाउन गरिएको छैन । नेपालको अवस्था पनि उस्तै छ । अध्यागमनमा कुनै कडाई छैन भने खुला सिमानाबाट हुलका हुल मानिस आवतजावत गरिरहेका छन् ।

अहिले चीनबाट रेडक्रसका उपसभापति सनु शुओपेङ्ग इटली पुगेका छन् । उनले मिलानमा आयोजित एक पत्रकार भेटघाटमा भने, ‘दुई महिना पहिला कोरोना भाइरसको केन्द्र वुहान शहरमा पनि यस्तै अवस्था थियो, जुन अहिले यहाँ देखिइरहेको छ । वुहानमा एक महिनामा लकडाउन गरेपछि हामीले कोरोना संक्रमणको दरमा निकै गिरावट आएको पायौं ।’ उनले अगाडि भने, ‘यहाँ मिलान जहाँ सबैभन्दा बढी कोरोना फैलिइरहेको छ, लकडाउन धेरै कठिन छैन । यहाँ सार्वजनिक यातायात चलिरहेको छ । मानिसहरु लगातार एक ठाउँबाट अर्को ठाउँमा गइरहेका छन् । मानिसहरु होटलमा डिनर र पार्टी गरिरहेकै छन्, त्यही पनि मास्क नलगाईकन । मलाई थाहा छैन यहाँका मानिसहरुले के सोचिरहेका छन् ।’

इटलीमा सुरुवाती लापरवाहीको नतिजा अहिले गम्भीर बनिरहेको छ । शुक्रबार २४ घण्टामा ६२७ जनाको कोरोनाबाट मृत्यू भयो । अहिलेसम्म कोरोनाकै कारण एक दिनमा यतिधेरै मानिस कहीँ पनि मरेका थिएनन् । इटलीमा मृतकको संख्या ४८२५ पुगिसकेको छ । ५३,५७८ जनालाई कोरोना संक्रमण देखिइसकेको छ ।

गत महिना मात्रै कोरोना भेटिएको लोम्बार्डीको अवस्था दयनीय छ । हजारौं मानिसहरु अस्पतालमा छन् । उनीहरुको उपचारको लागि चिकित्सक नै छैनन् । यस्तो अवस्थामा चीनबाट मेडिकल विज्ञहरु इटली पुगेका छन् । उनीहरु कोरोनाको उपचार र लकडाउनलाई पनि राम्रोसँग नेतृत्व गर्न सक्छन् ।

लोम्बार्डीमा पनि लकडाउनको राम्रोसँग पालना भएको थिएन । सुरुमा त राज्यले नै ढिलासुस्ती गरेको थियो । अब बल्ल लोम्बार्डीका प्रमुखले सेना परिचालन गरेर भने पनि मानिसलाई घरभित्रै राख्न काम गरिरहेका छन् । अहिले त्यहाँको शहरमा सेनाहरु हतियारसहित गस्ती गरिरहेका भेटिन्छन् ।

ड्यानिला कोनफालोनिरी मिलान शहरकी नर्स हुन् । न्यूज एजेन्सी रोयटर्सका अनुसार मानिसहरु यति डराइरहेका छन् कि मरेका लास गर्ने अवस्था पनि छैन । उनले तनाव र डरको बीचमा काम गरिरहेको अनुभव बाँडिन् । लोम्बार्डीको अवस्था नियन्त्रणभन्दा बाहिर गएको उनको बुझाई छ ।

लोम्बार्डीकै बेरगामोस्थित एक अस्पतालका चिकित्सक स्टेफानो मागंओनीले सिएनएनसँग कुरा गर्दै भने, ‘कोरोना भाइरसले यति भयानक ढंगले हानिरहेको छ कि आईसियूका बिरामीलाई पनि अन्त पठाउन परिरहेको छ । किनकी अस्पतालमा ठाउँ नै छैन । नजिकैका अन्य शहरहरुमा पनि आइसियू भरिपूर्ण छन् ।

तथ्यांकहरुका अनुसार इटलीमा मर्नेमध्ये धेरै वृद्धवृद्धा छन् । इटलीको हेल्थ इन्स्टिच्युटले विहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार ८६ प्रतिशत मृत्यू ७० वर्षभन्दा बढी उमेरका मानिसहरुको भइरहेको छ । १० प्रतिशत मानिस ६० देखि ६९ वर्ष उमेर समूहका छन् । इटलीमा जापानपछि संसारमा सबैभन्दा धेरै वृद्धवृद्धाको जनसंख्या रहेको छ ।

स्मरणीय छ, चीनले हुबेई प्रान्तको वुहानमा २३ जनवरीमा लकडाउन लागू गरेको थियो । त्यहीँबाट कोरोना भाइरस सुरु भएको सर्वविदितै छ । पहिलो संक्रमण ३१ डिसेम्बरमा बाहिर आएको थियो जहाँ १/१ करोड मानिस बस्छन् । चीनले त्यहाँ इतिहासमै संसारको सबैभन्दा ठूलो लकडाउन गरेको थियो । त्यसपछि २० राज्य र १६ ठूला शहरमा एकसाथ लकडाउन गर्‍यो चीनले । त्यहाँ करीब ७० करोड मानिस घरमा बन्द गरिएका थिए ।

चीनले यस्तो कदम उठाउँदा संसारले चिनलाई जिस्काइरहेको थियो । आर्थिक पण्डितहरुले चीनको यस्तो कदमबाट चीनले नै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए । उनीहरुले यस्तो लकडाउनले चिनियाँ अर्थतन्त्रलाई अत्यधिक नोक्सान पर्ने चेतावनी दिएका थिए । आधुनिक विश्वमा यसअघि यति विशाल क्वारेन्टाइन कहीँ पनि देखिएको थिएन ।

चीनले स्कूल, कार्यालय, यातायात सेवा, एयरपोर्ट, मेट्रो सेवा र मानिसहरुलाई एक ठाउँबाट अर्को ठाउँमा जान पूर्णरुपमा प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्धको घोषणा केही घण्टामै वुहानमा लागू भएको थियो । जरुरी सेवाहरु र मेडिकल इमरजेन्सीलाई पनि रोकिएको थियो । सबै पसलहरु बन्द थिए । यसमा खाद्य पसल र औषधि पसल पनि थिए । निजी वाहनलाई पनि अनुमति बिना चल्न दिइएको थिएन । मानिसहरुलाई घरबाट निक्लन पनि प्रतिबन्ध थियो । यसको लागि ठाउँठाउँमा प्रहरीहरु परिचालित थिए ।

सरकारले अत्यावश्यक सेवाको लागि सामुदायिक सेवा सुरु गर्‍यो । केही स्थानमा खाद्यवस्तु र अन्य जरुरी सेवाहरु दिइएको थियो । मानिसको गतिविधिलाई नियाल्न सामाजिक सञ्जालहरुको प्रयोग गरिएको थियो । केही दिनमा लकडाउन पूर्णरुपमा लागू भयो । स्वास्थ्यकर्मीहरु घरघर पुगेर मानिसको स्वास्थ्य जाँच्न थाले । कोरोनाको शंका हुनासाथ मानिसलाई जबरजस्तीरुपमा भने पनि क्वारेन्टाइनमा राखिन्थ्यो ।

यस्तोसम्म भयो कि एक अपाङ्गता भएको बच्चा घरमा एक्लै हुँदा खान नपाएर बसे किनकी उनका बुवा र दाईलाई प्रशासनले क्वारेन्टाइनमा राखेको थियो ।

चीनले उठाएको यस्तो कदमको संसारले खुलेर विरोध गरिरहेको थियो खासगरी पश्चिमाहरुले । तर चीनले दुनियाँको आवाजलाई बेवास्ता गर्दै आफ्नो काम र नीतिमा प्रतिवद्ध हुँदै कोरोनाविरुद्ध लडाई लडिरह्यो ।

त्यसो त अहिले संसारका २० भन्दा बढी देशले लकडाउन गरेका छन् र १२० करोड मानिसहरु लकडाउनको अवस्थामा घरमा बन्द छन् । तर चीनमा जस्तो कडाई कहीँ भएको छैन । त्यसैले कोरोना संक्रमण तीव्ररुपमा फैलिइरहेको छ ।

अहिले विश्व स्वास्थ्य संगठनले पनि स्वीकारेको छ कि कोरोना संक्रमण नियन्त्रणमा लिन चिनिया शैलीको लकडाउन अत्यावश्यक भइसक्यो ।

अहिले नेपालमा अध्यागमनबाट मानिस धमाधम नेपाल छिरिरहेका छन् । क्वारेन्टाइनमा राख्न पनि सरकार चुकिरहेको छ । उता खुला सिमानाको फाइदा उठाउँदै भीडमा ठेलम्ठेल गर्दै मानिसहरु नेपाल प्रवेश गरिरहेका छन् ।

भारतमा कोरोनाको अवस्था हेर्दा ३० जनवरीमा कोरलामा कोरोनाको पहिलो संक्रमण देखिएको थियो । त्यसपछि २ फेब्रुअरीमा अरु २ मानिसमा कोरोना भेटियो । उनीहरु उपचारपछि ठिक भए । त्यसपछि एक महिनासम्म कोरोनाको संक्रमण देखिएन । तर २ मार्चपछी भने दिनदिनै संक्रमितको संख्या बढिरहेको छ । ११ मार्चदेखि २१ सम्ममा कोरोना संक्रमितको संख्या ४५४ प्रतिशत बढिसकेको छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई भारतसँगका सबै नाका तत्काल बन्द गर्न सुझाव दिएको छ । दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण संकट चुलिँदै गएपछि डब्ल्यूएचओले नेपाललाई पछिल्लो सुझाव दिएको हो ।

कोरोना रोकथामका लागि डब्ल्यूएचओका महानिर्देशक डा। टेड्रोस अधानोम नेतृत्वमा बनेको ‘न्युक्लिसय टीम’ले आइतबार बिहान गरेको नियमित पत्रकार सम्मेलनमा भारतसँगका सीमा तत्काल बन्द गर्न सुझाव दिइएको छ । संगठनले नाकाबाट आउनेहरुको स्वास्थ्य परीक्षण गरी १४ दिनसम्म क्वारेन्टाइनमा राख्न र संक्रमण फैलिहालेमा त्यसलाई नियन्त्रण गर्ने आपत्तकालिन संरचना बनाउनतर्फ पनि आग्रह गरेको छ ।

उता नेपालसँग जोडिएको भारतको विहार राज्यमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । विहारको राजधानी राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युट पटनामा दुई जना बिरामीको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो । त्यसमध्ये सङ्क्रमित एक बिरामीको आइतबार मृत्यु भएको छ । विहारसँग जोडिएको नेपालसँगको नाका खुल्ला छ ।

नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण देखिएको छैन । तर, संसारबाट नसिक्ने हो भने स्थिति हामीले सोचेभन्दा भयावह बन्न सक्छ । यसमा सम्बन्धित पक्षहरुले बेलैमा ध्यान दिन आवश्यक छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ६ : ०१ बजे

बुटवल मेलामा उपमहानगरपालिकाको अनुगमन

बुटवल । बुटवल उद्योग वाणिज्य संघको आयोजना तथा बुटवल उपमहानगरपालिका

चिनियाँ टोलीसँग द्विपक्षीय सहकार्यबारे छलफल

पोखरा । चीनको सिचुवान प्रान्तमा रहेको लुजाउ नगरका आर्थिक सहकार्य

अण्डाको मूल्य हालसम्मकै उच्च

चितवन । लेयर्स कुखुरापालक किसानले अण्डाको मूल्य हालसम्मकै उच्च पाएका

बुटवल मेलामा दिपक बज्राचार्य एण्ड रिदम व्याण्डको धमकेदार प्रस्तुती (फोटो फिचरसहित)

बुटवल । बुटवलकाे औद्योगिक व्यापार मेलामा दीपक बज्राचार्य एण्ड द