खजुरा । सूरुमा प्रसुति अस्पतालबाट परिकल्पनाबाट अभियान थालेर अन्तमा क्यान्सर अस्पतालकारुपमा सञ्चालन भएको अस्पताल हो खजुराको वर्तमान सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल । २०५२/५३ तिर खजुरामा धार्मिक प्रचारका उद्देश्यले आउने गरेका नवलपरासीका धर्मगुरु सन्त दीनदयाललाई खजुराबासीले शंखघण्ट बजाएर मात्र धर्म नहुने भन्दै धार्मिक अस्पताल बनाउने अभियान थाल्न सल्लाह दिएपछि खजुरामा अस्पतालको परिकल्पना भएको थियो । उनी दीनदयालको सम्पर्कमा रहेका भारतीय महामण्डलेश्वर प्रखरजी महाराजको प्रेरणाबाट प्रसुतिको परिकल्पना गरिएको अस्पताल क्यान्सर अस्पताल बनाउने अभियानमा परिणत भएको थियो ।
बाँकेको खजुरामा क्यान्सर अस्पताल स्थापनाका लागि स्थानीय वासिन्दाहरुले २०५६ सालमा महायज्ञ लगाएर करिब ५ करोड संकलन गरेर अस्पतालको जग बसाल्ने काम गरेपछि अस्पताल निर्माणले गति लिएको थियो । स्थानीयकै पहलमा तत्कालिन मध्यपश्चिम क्षेत्रिय प्रहरी कार्यालयका नाममा रहेको ४ बिगाहा जग्गा अस्पतालका लागि बन्दोबस्त गरेर अस्पताल निर्माणको काम सुरु भएको थियो । समुदाय स्तरबाट उठेको ५ करोड र केही स्थानीय आम्दानीबाट बन्दै गरेको अस्पतालमा २०६६ सालमा माधव नेपाल प्रधानमन्त्री भएको बेला पहिलो पटक सरकारले अस्पताल निर्माणका लागि ५ करोड अनुदान दिएपछि खजुराको अस्पतालमा सरकारको उपस्थिती देखिएको हो । आफुले संकल्प गरेको अस्पतालले रफ्तार लिन थालेको खबरले निकै खुसी लागेको अस्पतालका संकल्पकर्ता संत दीनदयाल जी महाराजले खबरकुरालाई बताए । संकल्प अनुसार अस्पतालमा दैनिक पुजाआजा हुनु पर्ने र बिरामीहरुलाई स्वास्थ्यलाभको कामना गर्ने व्यवस्था गर्न आवश्यक रहेको दीनदयाल महाराजको सुझाव छ ।
सरकारले वर्षेनी अनुदान दिदैं गएपछि अस्पतालको भवन त निर्माण भयो तर त्यसमा उपचार सुरु गर्ने चुनौति थपियो । चितवनको भरतपुरस्थित विपी कोइराला क्यान्सर अस्पतालको स्याटेलाइट सेवामार्फत २०७० असार २९ गतेदेखि खजुरामा क्यान्सरका बिरामीहरुको उपचार सेवा सुरु भएको थियो ।
हाल अस्पतालले शल्यक्रिया सहित अत्याधुनिक प्रयोगशाला, रेडियोलोजी विभाग, किमो थेरापी सेन्टरलगायतका सेवा दिँदै आएको छ । जनरल फिजिशियन, नाक, कान, घाँटी, (ईएनटी), शल्यक्रिया, हाडजोर्नी, शर्पदँश जस्ता रोगको ओपीडी संचालन गरेको अस्पतालले २४ सै घण्टा आकस्मिक कक्ष पनि संचालनमा ल्याएको छ । २०७० सालको असारबाट सेवा सुरु गरेपनि दैनिक २०/२५ जना बिरामीको चेकजाँच गर्ने, शंकास्पद बिरामीलाई थप उपचारका लागि भरतपुर र भक्तपुरस्थित क्यान्सर अस्पतालमा पठाउने र बिरामीहरुलाई किमो दिने बाहेक अन्य सेवा दिन नसकेको अस्पतालले नयाँ कार्यकारी प्रमुखकारुपमा २०७७ असोजमा डा. कृष्ण आचार्यको सरुवा भएपछि भने अस्पतालले गति लिएको हो ।
धार्मिक उद्देश्यबाट अस्पताल संचालन गर्ने उद्देश्यका साथ अस्पतालको स्पापना भएपनि संचालनमा बिभिन्न व्यवधान आएपछि अस्पताल स्थापनार्थ गठन भएको प्रखर परोपकार मिसन नेपालले नेपाल सरकारलाई स्वामित्व ग्रहण गर्न आग्रह गरे अनुरुप २०७३ फागुनमा नेपाल सरकारले सो अस्पतालको स्वामित्व लिएको थियो । स्वास्थ्यमन्त्री गगन थापाको कार्यकालमा सरकारले स्वामित्व लिएको सरकारले अस्पताल निर्माणमा सकारात्मक भुमिका नै नहरेका कांग्रेसका तत्कालिन सभापति सुशिल कोईरालाको नाम जोडिएकोमा स्थानीबासीको गुनासो छ । अस्पताल बनाउँदा कुनै भुमिका नरहेका सुशिल कोईरालाको नाम राखेर स्थानीयको मुट्ठीदानको अपमान गरिएको खजुराका स्थानीय धनप्रसाद ढकालले बताए ।
भेरी अस्पताल नेपालगन्जका कन्सल्टेन्ट एनेस्थेसिलोजिस्ट रहेका डा. कृष्ण आचार्यलाई क्यान्सर अस्पताल खजुरामा कार्यकारी निर्देशकको रुपमा जिम्मेवारी दिएलगत्तै सो अस्पतालमा सर्जरी सेवा शुरु भएको थियो । आचार्यकै पहलमा विशेषज्ञ चिकित्सक थपेर अस्पतालले २०७७ चैतदेखि हिष्टोप्याथोलोजी सेवा पनि सुरु ग¥यो । बिरामीहरुमा क्यान्सर भए नभएको यकीन गर्नका लागि क्यान्सर भएको आंशका भएको अंगको अप्रेशन गरेर मासुको टुक्रा निकालेर गरिने परीक्षणलाई हिस्टोप्याथोलोजी भनिन्छ । हिस्टोप्याथोलोजी परीक्षणपछि क्यान्सर रोग कुन अवस्थामा छ भन्ने पनि पत्ता लाग्छ । हिस्टोप्याथोलोजी सेवा शुरु भएपछि बिरामीहरु काठमाण्डौं, भरतपुर र भारतको लखनउ दील्ली पुगेर क्यान्सर भए–नभएको यकीन गर्नुपर्ने बाध्यता हटेको छ । क्यान्सर अस्पतालले क्यान्सर पहिचान भइसकेका बिरामीहरुलाई औषधीमार्फत दिइने किमो सेवालाई निरन्तरता दिइरहेको छ । स्थापना कालदेखि हाल सम्म ४ सय जना बिरामीले निरन्तर किमो सेवा लिइरहेको अस्पतालका प्रमुख डा. आचार्यले जानकारी दिए ।
डा. आचार्यकै पहलमा डेढ वर्षको अवधिमा ९ जना विशेषज्ञ चिकित्सक, ६ जना मेडिकल अफिसर र १४ जना स्टाफ नर्श जनशक्ति अस्पतालमा थपिएका छन् । डाइलाइसिस सेवा शुरु गर्नका लागि परामर्श भइरहेको डा. आचार्यले बताए । काठमाण्डौंको नेपाल–कोरिया अस्पताल, नेपाल मेडिकल कलेजका महिला क्यान्सर रोग विशेषज्ञ चिकित्सकका साथै नेपालगन्ज मेडिकल कलेज, भेरी अस्पताल स्त्री रोग विशेषज्ञ र जनरल सर्जन चिकित्सकसँगको सहकार्य क्यान्सर अस्पतालले खजुरामै दूरबिन प्रविधीबाट पाठेघर र डिम्बाशयमा क्यान्सर भएका बिरामीको अप्रेशन सेवा दिन शुरु गरेको उनले बताए । ‘नेपाल–कोरिया अस्पताल र क्यान्सर अस्पताल खजुराका विशेषज्ञ चिकित्सकहरुको टोलीले पाठेघर र डिम्बाशयमा क्यान्सर भएका बिरामीहरुको अप्रेशन गर्दै आएका छन् ।’ उनले भने ।
मासिक एक लाख आम्दानी हुने क्यान्सर अस्पतालको आम्दानी दैनिक एक लाख पुगेको आचार्यले बताए । अस्पताललाई नेपाल सरकारले वार्षिक करिब ६ करोड अनुदान दिदैँ आएको छ । अनुदानको अधिकांश रकम चिकित्सकको तलब भत्ता र प्रशासनिक काममा खर्च हुन्छ । अस्पतालले क्यान्सरका बिरामीहरुको भित्री सेकाइ गरेर गरिने उपचारका ब्राकी थेरापी शुरु गर्ने तयारी गरिरहेको छ । डा. आचार्यका अनुसार आगामी वर्षको सुरुवातमै ब्राकी थेरापी शुरु गर्ने अस्पतालको लक्ष्य छ । अस्पतालले ६ बेडको आईसीयु सेवा शुरु गर्ने तयारी गरिरहेको छ भने अस्पतालको बेड संख्या ४० बाट बढाएर एक सय बेड पु¥याउने लक्ष्य रहेको छ ।
क्यान्सरका बिरामीहरुको उपचारका लागि निकै महत्वपूर्ण मानिने रेडियसन थेरापी लागि लिन्याक मेसिन खरिदको प्रक्रिया अगाडि बढाएको छ । लिन्याक मेसिनका लागि संघीय सरकारबाट २९ करोड ४० लाख बजेट सुनिश्चता भएर खरिदको प्रक्रिया अगाडि बढेकाले छिट्टै खजुरा क्यान्सर अस्पतालमा रेडियसन थेरापी पनि शुरु हुने उनले दाबी गरे । रेडियसन थेरापी शुरु भएपछि खजुराको क्यान्सर अस्पताल नारायणी पश्चिमको एक मात्र पूर्ण क्यान्सर अस्पताल बन्ने आचार्यको भनाई छ । अन्य सरकारकारी अस्पतालका तुलनामा हरेक सेवाको शुल्क निकै सस्तो राखिएका कारण बिरामीहरुको रोजाईमा क्यान्सर अस्पताल पर्ने अपेक्षा रहेको आचार्यले आशा गरे ।
अस्पतालमा उपचारका लागि आउने विरामीहरुले सम्पूर्ण सरकारी सुबिधा पाउने बताउँदै डा. आचार्यले जटिल प्रकृतिका रोगको उपचारमा राज्यबाट पाउने उपचार अनुदान समेत अस्पतालबाट उपलब्ध हुनेगरि सम्झौता भएको जानकारी दिए ।
अस्पताल जन्माउने संस्था नै अध्यावधिक छैन :
अस्पतालको दैनिक संचालनका लागि अस्पतालको मातृसंस्था प्रखर परोपकार मिसन नेपाल नामक संस्थाबाट ३ जना सदस्य रहनेगरि अस्पताल बिकास समिति समेत बनेको छ । अस्पताल जन्माउने संस्थाकै विगत ३ वर्ष देखि साधारणसभा भएको छैन भने संस्थालाई अध्यावधिक गर्ने काम समेत नहुँदा समितिका तर्फबाट विकास समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरुको बैधानिकतामाथि प्रश्न समेत उठेको छ । अर्तमान खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिको अध्यक्षतामा रहेको मिशन नेपालको ३ वर्षबाट साधारणसभा समेत भएको छैन । संस्था अध्यावधिक समेत नगरिएको सोही संस्थाका सचिव सतिस निरौलाले बताए । ‘बैठक समेत बोलाइएको छैन,’ निरौलाले भने ।
अध्यक्ष कक्षपतिले संस्थापक र दाताहहरुको सिलालेख तयार हुँदै गरेको र छिट्टै साधारणसभा बोलाएर नयाँ नेतृत्व चयन गरिने जानकारी दिए । उनले कार्यव्यस्तता र अस्पतालको संचालनमा समय खर्चिनुपरेकाले साधारणसभामा केही ढिलाई भएको स्विकार गर्दै अव ढिला नहुने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया