भालुवाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले पछिल्लो वर्ष उपलब्धिमूलक भएको बताएका छन् । प्रदेशको चौथो स्थापना दिवसको अवसरमा आयोजना गरिएको विशेष कार्यक्रममा बोल्दै केसीले पछिल्लो वर्ष लुम्बिनीवासीका लागि उपलब्धिमूलक भएको बताएका हुन् ।
मुख्यमन्त्री केसीले प्रदेशलाई जनअपेक्षा अनुसार समृद्ध बनाउन अधिकतम प्रयास गरिएको बताएउँदै पछिल्लो वर्ष सबै हिसाबले उपलब्धिमूलक वर्ष भएको दाबी गरे। आगामी वर्षमा सरकारका काम कार्यलाई प्रभावकारी बनाउनको लागि अझै प्रदेश सरकारले गति प्रदान गरी अगाडि बढ्ने उनले बताए ।
‘लुम्बिनी प्रदेशवासीको लागि ४ वर्षको उपलब्धिमूलकको वर्ष बनेको छ । आगामी दिनमा अझै प्रभाकारी रूपमा अगाडि बढाउनु पर्ने विषयमा हामी गम्भीर छौँ,’ उनले भने ।
उनले लुम्बिनी प्रदेश सरकारको तीन वर्ष राजनीतिक हिसाबले एकल जस्तो भए पनि पछिल्लो एक वर्ष नयाँ राजनीतिक सहकार्यको आधारमा सरकार निर्माण र सञ्चालन भएको बताए । सरकारले प्रदेशवासीको गाँस, बास, कपास, शिक्षा स्वास्थ्यलगायत पक्षको सुधारका गर्न प्रतिबद्धता समेत व्यक्त गरे ।
लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसकै अवसर पारेर १० विधामा ५७ जनालाई विभिन्न पदकबाट विभूषित गरेका थिए । पदकबाट विभूषितहरुनेहरुलाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मान तथा विभूषणबाट विभूषित गरेका थिए ।
विभूषित हुनेमा प्रदेश प्रमुख जनसेवा पदक ‘ख’ बाट कपिलवस्तुका रामवरण यादव र रुकुम पूर्वका प्रेम मल्ल तथा दिलमाया विक विभूषित भएका छन् ।
यस्तै प्रदेश प्रमुख जनसेवा पदक ‘ग’ बाट बाँकेका माताप्रसाद कुर्मी रगुल्जार खान र बर्दियाकी निर्मला योगीलाई प्रदान गरिएको छ भने सोही पदक रोल्पाकी लली रोकालाई (मरणोपरान्त) प्रदान गरिएको छ । प्रदेश रत्न पदक ‘ख’ बाट गुल्मीमा प्रधान कार्यालय रहेको पैचो पसल प्रालीलाई प्रदान गरिएको छ ।
मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘क’ पदक गुल्मीका ९२ वर्षीय बामपन्थी नेता कर्णबहादुर क्षेत्री , मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘ग’ पदक बर्दियाका टीकाराम थारु र रोल्पाका तेजकुमारी वलीलाई प्रदान गरिएको छ। प्रदेश सेवा समर्पण ‘क’ एक जनालाई, प्रदेश सेवा समर्पण ‘ख’ १५ जनालाई, प्रदेश सेवा समर्पण ‘ग’ दुई जनालाई दिइएको छ ।
यस्तै उजिरसिंह दीप पदक ‘ख’ चार जनालाई, उजिरसिंह दीप पदक ‘ग’ दुई जनालाई, समाजसेवा श्री पदक ‘क’ एक जनालाई, ‘ख’ आठ जनालाई, ‘ग’ दुई जनालाई, प्रदेश रत्न ‘ग’ दुई जनालाई, पुथाश्री शिखर पदक ‘ग’ एक जनालाई, प्रदेश प्रज्ञा पदक ‘ख’ दुई जनालाई दिइएको छ ।
प्रजापति गौतमी पदक ‘ख’ एक जनालाई, ‘ग’ दुई जनालाई, दङ्गीशरण बलिहाङ पदक ‘ख’ एक जनालाई र ‘ग’ एक जनालाई दिईएको छ ।
लुम्बिनी प्रदेशमा प्रदेश राजधानीका सम्पूर्ण काम अस्थायी मुकाम बुटवलबाटै गरिएपनि गत वर्षबाट प्रदेश स्थापना दिवस भने दाङमा मनाउन थालिएको छ । प्रदेशसभाबाट प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यका तोकेपछि सरकारले दाङमा स्थापना दिवस मनाउन थालेको हो । चौथो स्थापना दिवसको अवसरमा प्रदेशमा मंगलबार सार्वजनिक बिदासमेत दिइएको थियो ।
प्रतिक्रिया