काठमाडौं । नेपालमा भित्रिएको कोभिशिल्ड खोपको लगभग ३ लाख डोज कहाँ प्रयोग भयो भन्ने तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन । नेपाललाई प्राप्त कुल कोभिशिल्ड डोज र हालसम्म प्रयोग भएको उक्त खोपको संख्याबीचको फरक हेर्दा यस्तो देखिएको हो ।
स्वास्थ्य मन्त्रालयका सम्बन्धित अधिकारीले जिल्लाजिल्लाबाट खोप प्रयोगको तथ्यांक नआउँदा समस्या भएको दाबी गरे पनि यति ठूलो मात्रामा खोपको हिसाबकिताब नहुँदा अनियमितताको आशंका उब्जेको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म कोभिशिल्डको पहिलो डोज १८ लाख २८ हजार ४८४ जनाले लगाएका छन् । खोपको दुवै डोज लगाउनेको संख्या ४ लाख ६० हजार ७३४ छ । पहिलो र दुवै डोज लगाएकाको संख्या जोड्दा २२ लाख ८९ हजार २१८ डोज खोप प्रयोग भएको देखिन्छ ।
भारतीय सेनाले नेपाली सेनालाई उपलब्ध गराएको १ लाख डोजको हिसाब नगर्दा पनि नेपालले भारत सरकारबाट अनुदानमा १० लाख, सेरम इन्स्टिच्युटसँग खरिद गरेको १० लाख र कोभ्याक्सअन्तर्गत प्राप्त ३ लाख ४८ हजार गरी कुल २३ लाख ४८ हजार कोभिशिल्ड डोज खोप पाएको थियो । भायलका हिसाबले नेपालले कुल २ लाख ३४ हजार ८०० भायल खोप प्राप्त गरेको हो । नेपाली सेनाले प्रयोग गरेको १ लाख डोज खोपको तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन ।
भारत सरकारद्वारा सेरम इन्स्टिच्युटद्वारा उत्पादित १० लाख डोज कोभिशिल्ड खोप गत माघमा प्राप्त भएपछि नेपालले खोप अभियान सुरु गरेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार गत जनवरी २७ देखि फेब्रुअरी २२ सम्म ४ लाख ५८ हजार ९६२ डोज, मार्च ७ देखि २३ सम्म १३ लाख ६९ हजार ५२२ डोज गरी १८ लाख २८ हजार ४८४ डोज खोप लगाएको देखिन्छ ।
यसैगरी २० देखि २८ अप्रिल तथा २५ देखि ३० मेसम्म ४ लाख ६० हजार ७३४ जनालाई दोस्रो खोप डोज उपलब्ध गराएको देखिन्छ । यसरी पहिलो र दोस्रो डोजसहित नेपालमा कुल २२ लाख ८९ हजार २१८ डोज कोभिशिल्ड खोप लगाएको देखिन्छ ।
कोभिशिल्डको एक भायल खोपमा ६.३ मिलिलिटर औषधि हुन्छ । खोपको एक डोजमा ०.५ मिलिलिटर दिइने भएकाले एक भायलबाट १० अथवा ११ डोज खोप लगाउन पुग्छ । नेपालले कुल २ लाख ३४ हजार ८ सय भायल खोप प्राप्त गरेको हिसाबले एक भायलबाट १० डोज खोप लगाउँदा २३ लाख ४८ हजार डोज र ११ डोज खोप लगाउँदा २५ लाख ८२ हजार ८ सय डोज खोप लगाउन पुग्छ । खोप केन्द्रअनुसार केही फरक भए पनि नेपालका अधिकांश खोप केन्द्रमा हरेक भायलबाट ११ जनालाई खोप लगाइएको छ ।
यसरी हिसाब गर्दा कुल २५ लाख ८२ हजार ८ सय डोज कोभिशिल्ड खोप नेपालमा उपलब्ध भएको देखिन्छ । तर स्वास्थ्य मन्त्रालयको वेबसाइटमा उपलब्ध तथ्यांकअनुसार हालसम्म २२ लाख ८९ हजार २१८ डोज कोभिसिल्ड खोप लगाएको हिसाबले झन्डै ३ लाख डोज खोपको हिसाबकिताब देखिँदैन ।
प्रतिभायल १० डोज खोप लगाइएको अवस्थामा पनि कुल ६४ हजार ६४६ डोज खोप प्रयोगको तथ्यांक देखिँदैन । विज्ञका अनुसार अन्य खोपको हकमा एक प्रतिशतको हाराहारीमा खोप खेर (वेस्टेज) जाने गर्छ। तर, कोभिशिल्डको हकमा खोप खेर जाने प्रतिशत नगण्य छ ।
उत्पादन मितिदेखि ६ महिनाभित्रमा कोभिशिल्ड खोप प्रयोग गरिसक्नु पर्छ । नेपालले पछिल्लो खेपमा प्राप्त गरेको कोभिशिल्डको प्रयोग गर्ने मिति पनि गत साता कटिसकेको छ । आपूर्ति सुनिश्चित नभएपछि जेठको मध्यदेखि कोभिसिल्ड खोप औपचारिक रूपमा लगाउन बन्द गरिएको थियो ।
सुरुमा अग्रपंक्तिमा खटेर काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सफाइकर्मी, बैंकका कर्मचारी, विदेशी नियोगका कर्मचारी, पत्रकार, स्थानीय सरकारका निर्वाचित प्रतिनिधि तथा दोस्रो चरणमा ६५ वर्षमाथिका वृद्धवृद्धालाई यो खोप उपलब्ध गराइएको थियो । सेरमसँग प्रतिडोज ४ अमेरिकी डलरमा नेपालले खोप खरिद गरेको हिसाबले लगभग ३ लाख डोजको सही हिसाबकिताब नहुँदा १३ करोड ८० लाख रूपैयाँ बराबरको आर्थिक अनियमितता भएको देखिन्छ । प्रतिभायल १० डोज खोप मात्र दिइएको मान्ने हो भने पनि झन्डै ३ करोड रूपैयाँ पर्ने खोपमा अनियमितता भएको देखिन्छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.झलक शर्मा गौतम खोपमा अनियमितता नभएको, डाटा इन्ट्रीमा समस्या देखिएको दाबी गर्छन् । उनी प्रारम्भिक तथ्यांकका आधारमा खोप हराएको तथा अनियमितता भएको भन्न नमिल्ने तर्क गर्छन् ।
‘स्थानीय तहबाट डाटा इन्ट्री गर्न हामीले निश्चित समय दिन्छौं तर जिल्लागत रूपमा डाटा इन्ट्रीमा समस्या देखिएका छन् । त्यसैले तथ्यांक संकलनमा केही समस्या भएको हुन सक्छ’, उनी तर्क गर्छन् । देशका ५ हजार खोप केन्द्रबाट कोभिशिल्ड खोप लगाइएको थियो । डा. गौतमले दुर्गम जिल्लामा खोप लगाउने क्रममा भायल खोल्दा चाहिने संख्यामा मानिस नआएर खोप खेर गएको पनि बताए ।
इमिडिमिओलोजी तथा सरुवा रोग महाशाखाका पूर्वप्रमुख डा। बाबुराम मरासिनी खोप लगाएको सही रेकर्ड नहुँदा अनियमितता भएको हुन सक्ने बताउँछन् । उनी स्वास्थ्यकर्मीले लक्षित समूहभन्दा बाहिरका नातागोतालाई खोप दिएको हुन सक्ने र शक्तिका आडमा स्थानीय राजनीतिक नेतृत्वले आफ्ना मान्छेलाई खोप लगाउँदा रेकर्ड नराखिएको हुन सक्ने उनको अनुमान छ ।
‘खोप खरिदमा मात्र होइन, खोप लगाउँदा पनि सुशासनको अभाव देखिएको छ,’ उनी भन्छन । आगामी दिनमा राज्यले खरिद गरेको हरेक डोज खोपको उपयोगमा पारदर्शिता हुनुपर्ने र समयमै तथ्यांक संकलन गर्ने चुस्त प्रणाली बनाउन उनको सुझाव छ ।
‘खोप प्रयोग गर्ने क्रममा खेर गएको हो भने त्यसको प्रतिशत प्रस्ट हुनुपर्छ, उनी भन्छन् । नेपालमा गत माघदेखि खोप अभियान सुरु भए पनि हालसम्म ४ प्रतिशत जनसंख्याले मात्र खोपका दुवै डोज लगाएका छन् । अमेरिकाको जोन्सन एन्ड जोन्सन तथा चिनियाँ कम्पनी सिनोफर्मबाट उत्पादित खोपमार्फत हाल नेपालको खोप अभियान अगाडि बढाइएको छ । आजको नागरिक दैनिकमा श्रीराम सुवेदीले लेखेका छन ।
प्रतिक्रिया