काठमाडौ । सेयर बजारले ३ वर्षपछि १७०० अंक पार गरेको छ । बुधबार नेप्से परिसूचक २८.८९ अंकले बढेर १७०७.६८ बिन्दुमा पुगेको हो । तीन वर्ष पछि नेप्से इन्डेक्स १७०० माथि पुगेपछि लगानीकर्ताहरु उत्साहित देखिएका छन् ।
यसअघि बजार २०७३ चैत २९ गते पनि नेप्से इन्डेक्स १७०९।८२ विन्दुमा पुगेको थियो । त्यसबेला एक अर्ब ९० करोड ७४ लाख रूपैयाँ मात्रै कारोबार भएको थियो । यस्तै २०७३ कार्तिक २९ गते १७०६.२८ विन्दुमा पुगेको थियो ।
बुधबार १९५ वटा कम्पनीको एक करोड २५ लाख ३६ हजार ६५१ कित्ता शेयर किनबेच भएर ४ अर्ब ९ करोड ९६ लाख रुपैयाँमा बराबरको कारोबार भएको छ । मंगलबार पनि ४ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएका उपसमुहहरुमध्ये ११ वटा उपसमुहको सूचक सकारात्मक देखिएको छ भने एउटा उपसमुहको सूचक मात्रै नकारात्मक देखिएको छ ।
व्यापार उपसमुहको सूचक सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमुहको सूचक ६.२१ प्रतिशत, अन्यको ४.१२, निर्जीवन बीमाको ४.०२ प्रतिशतले बढेको छ ।
यस्तै बुधबार ६ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया