राजविराज । आफ्नै पौरखमा भरोसा गर्ने राजविराज नगरपालिका-६ का युवा ओमप्रकाश शर्मा तरकारी खेतीमा लागेको चार वर्ष भयो । माटोमा पसिना पोखेर राम्रै आम्दानी गरेका उनलाई यस वर्ष भने कोरोनाको कहरले निकै समस्या थपिदिएको छ ।
रोजगारीका लागि बिदेसिने युवाहरू जस्तै उनमा पनि पहिला त विदेशै जाने सोच नआएको पनि होइन । विदेशमा पनि कडा मिहिनेत नगरी पैसा कमाउन सकिँदैन भन्ने साथीभाइबाट बुझेपछि उनले विदेश जाने सोच परित्याग गरी घरमै बसेर व्यावसायिक तरकारी खेती थालेका हुन् ।
बैंकबाट केही ऋण लिएर भाडाको जमिनमा सुरु गरिएको व्यवसायबाट विगतका वर्षसम्म उनले राम्रै आम्दानी पनि गर्दै आएका थिए । बारीमा हुर्केका तरकारीका बोटबिरुवा, लहरा हेरेर दंग परेका ओमप्रकाशले यसपालि पोहोरभन्दा पनि बढी आम्दानी हुने सोचेका थिए ।
नगरून् पनि किन रु भान्टा, काँक्रो, लौका, फर्सी, करेला, बोडीलगायत जातजातका तरकारीका बोट लहलह देखेका कारण उनमा झनै उत्साह जाग्ने गरेको थियो । तर, उनको हर्षित मनमा यस्तो आनन्द धेरै समय टिक्न पाएन ।
कोरोनाको संक्रमण नेपालमा पनि प्रवेश गरेपछि गत ११ चैतदेखि सरकारले देशैभरि करिब चार महिनासम्म गरेको लकडाउनले लटरम्मै फलेको तरकारी नबिकेपछि बारीमै कुहिँदा उनी अति पीडित बन्न पुगेका हुन् ।
पहिला बारीमै बाहिरका व्यापारी तरकारी किन्न धाउने गरेको र बाँकीलाई स्थानीय हाटबजारमा लगेर बेच्ने गर्दा गरेको मिहिनेतको राम्रै कमाइ भए पनि यसपटक बेच्ने बेलाको तरकारी बारीमै कुहेको टुलुटुलु हेरेर बस्नुको विकल्प नै नभएको उनको दुखेसो छ ।
बन्दाबन्दीका कारणले बाहिर पठाउनसमेत समस्या भएका कारण केही उपाय नलागेपछि आफूले उत्पादन गरेको तरकारी आँखा अगाडि कुहिएका कारण अहिले बैंकको किस्ता तिर्नसमेत समस्या परेको उनले पीडा पोखे ।
कोरोनाका कारण पीडित किसानमा ओमप्रकाश एक्ला भने होइनन् । जिल्लाको अग्निसाइर कृष्णसवरण गाउँपालिका–६ महुलीका गाईपालक किसान बद्री भण्डारीको पीडा पनि उनको भन्दा कम छैन । गाईपालन व्यवसाय चलाएर दूध बिक्रीबाट भएको आम्दानी नै उनको परिवारको गुजाराको एक मात्र आधार थियो ।
उत्पादित दूध लिएर २२ किलोमिटर दक्षिण सदरमुकाम राजविराजसम्म लगेर उनी बेच्ने गर्दथे । तर, कोरोनाका कारण भएको बन्दाबन्दीले उनका ग्राहक रहेका राजविराजका डेरी तथा होटलहरूले दूध नलिएपछि घाटा बेहोर्नुपरेको उनको भनाइ छ ।
बिक्री घटेका कारण डेरीले दूध लिन नमानेको अनि बन्दाबन्दीमा होटल पनि बन्द रहेका कारणले दूध नबिकेपछि आफूजस्ता सामान्य पशुपालकका लागि बज्रपातैसरह भएको उनले बताए । ‘कोरोनाका कारण बजारमा चहलपहल घटेको छ,’ उनले थपे, ‘यस्तोमा टाढाटाढा पुगेर दूध बेच्न पनि जोखिम भएकाले अहिले हामीलाई निकै समस्या परेको छ ।’
कोरोनाकै कारण पीडित हुनेमा यहाँका कुखुरापालक पनि अछुतो छैनन् । कुखुराको मासु खाए कोरोना सल्किन्छ भनी चलेको हल्लाबाट उसै पनि बिक्री घटेको राजविराज-१ स्थित कुखुरा फर्मका सञ्चालक ताज महम्मद बताउँछन् ।
‘कोरोनाको हल्ला चल्नासाथ कुखुराको मासु खाए कोरोना सर्छ भन्ने अफवाह चल्दा कुखुरा बिक्रीमा २५ प्रतिशन ह्रास आयो,’ उनले भने, ‘पछि त बन्दाबन्दी नै भएपछि अहिले थला बसेको अवस्था छ ।’
कोरोनाका कारण विवाह भोजभतेर बन्दै भएका कारण त्यसको प्रत्यक्ष असर आफूहरूमाथि समेत परेकोे उनको भनाइ छ । बन्दाबन्दीले गर्दा पसलमा कुखुरा काटेर बेच्न पनि सम्भव नभएको तथा होटल र पार्टी प्यालेसमा पनि माग नभएका कारण यस पटक अढाई लाखको घाटा परेको महम्मद बताउँछन् । बन्दले गर्दा बाहिरबाट दाना आयातमा समेत समस्या भएको र जसोतसो जोगाएका कुखुरा पनि नबिकेका कारण आफूहरू ठूलो समस्यामा परेको उनको भनाइ छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
प्रतिक्रिया