नेपालगन्ज । राजावादीहरुले गरेको हिंसात्मक आन्दोलनका क्रममा भएको पत्रकार हत्या, आक्रमण तथा सञ्चार गृहमा भएको आगजनी र तोडफोडको घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै बाँकेका पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र पठाएका छन् । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र पठाइएको हो ।
महासंघ बाँकेले पठाएको ज्ञापनपत्रमा गत चैत १५ गते काठमाडौंको तिनकुनेमा राजावादीहरुको हिंसात्मक प्रदर्शनका क्रममा भिडियो खिच्दै गर्दा आगोमा जलेर ज्यान गुमाएका पत्रकार सुरेश रजकको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उहाँको परिवारलाई क्षतिपूर्ति दिन माग गरिएको छ । महासंघले सञ्चार माध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पु¥याइएका सञ्चार गृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रवन्ध मिलाउन पनि माग गरेको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीलाई ज्ञापनपत्र बुझाउँदै अध्यक्ष गिरीले एक साताभित्र माग पूरा हुने विश्वसनीय आधार नदेखिए महासंघ आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए । ज्ञापनपत्र बुझिसकेपछि सहायक प्रमुख जिल्ला अधिकारी खत्रीले उक्त ज्ञापनपत्र तत्काल प्रधानमन्त्री कार्यालयमा पठाइने प्रतिवद्धता जनाएका थिए ।
‘हाम्रो माग एक साताभित्रै सम्बोधन हुने विश्वसनीय आधार निर्माण गर्न प्रमुख जिल्ला अधिकारीज्यूमार्फत नेपाल सरकारसमक्ष आग्रह गर्दछौं । अन्यथा महासंघ सरकारविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुनेतर्फ ध्यानाकर्षण समेत गराउँदछौं ।’ ज्ञापनपत्रमा उल्लेख थरिएको छ ।
ज्ञापनपत्र बुझाउन पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखाका पूर्व अध्यक्षहरु निरज गौतम, झलक गैरे, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगी, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा लगायत पत्रकारहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।
उक्त हिंसात्मक आन्दोलनमा भिडियो खिच्ने क्रममा पत्रकार रजकको आगोमा जलेर ज्यान गएको थियो । अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइँतल्लामा आगो लगाउनुको साथै ढुंगामुढा गरी क्षति पु¥याइएको थियो भने कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा गरी क्षति पु¥याइएको थियो । यस्तै हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड गरी क्षति पु¥याउनुका साथै पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको र फोटो पत्रकार निरज तामाङको क्यामेरा लुटिएको थियो ।
प्रतिक्रिया