२० चैत्र २०८१, बुधबार | April 2, 2025

चलचित्र ‘अञ्जिला’को नेपाल प्रिमियर



काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ को नेपाल प्रिमियर गरिएको छ । ललितपुरको क्युएफएक्स लाविम मलमा सोमबार साँझ गरिएको प्रिमियरमा चलचित्रकर्मीसँगै फुटबल खेलाडीको राम्रो उपस्थिति थियो ।

चलचित्रमा कप्तान सुब्बाको जीवनको सङ्घर्ष र सफलता देखाइएको छ । चलचित्र यसअघि हङ्कङ, बेलायत र दक्षिण कोरियामा प्रिमियर भइसकेको निर्देशक मिलन चाम्सले जानकारी दिए । उनले भने, “विदेशमा भन्दा नेपालमा प्रतिक्रिया राम्रो आएको छ, खेलाडीको जीवनीमा चलचित्र बनाउनु चुनौतीपूर्ण विषय थियो”, उनले भने, “चलचित्र एउटा फुटबल खेलाडी र कप्तान सुब्बाका लागि डिजिटल दस्तावेज पनि हुनेछ ।”

चलचित्र हेर्न पुगेका अभिनेता दयाहाङ राईले अञ्जिला सम्झनलायक चलचित्र बनेको बताए । “खेलप्रेमीका हिसाबले मेरा लागि यो चलचित्रमा जोडिएर काम गर्न पाउनु सौभाग्य हो । खेलाडी र खेलका विषयलाई चलचित्रमार्फत प्रवद्र्धन गर्नुपर्ने बेला आएको छ, अन्य चलचित्रकर्मीले पनि यो आँट गर्नुहुन्छ भन्नेमा विश्वस्त छु”, अभिनेता राईले भने ।

कप्तान सुब्बाका धर्मपिता तथा चलचित्र निर्माता प्रेमकुमार श्रेष्ठले खेलकुदमा लाग्नेलाई चलचित्रले प्रेरित गर्नेमा विश्वास व्यक्त गरे । कप्तान सुब्बालाई काठमाडौं ल्याएर विभागीय टिम सशस्त्र प्रहरी बलमा भर्ना गराउनुका साथै होस्टेल राखेर पढाएका निर्माता श्रेष्ठले सुब्बाको सङ्घर्ष कनाथक चलचित्रको पटकथाभन्दा कम नभएको बताए।

निर्देशक चाम्सले कप्तान सुब्बाको जीवनीको ९० प्रतिशत कथालाई चलचित्रमा समावेश गरेको बताए । “खेलकुदमा आधारित रही चलचित्र बनाउन नेपाली स्रोत र साधनले भ्याएसम्म प्रयास गरेका छौँ । सुब्बाको जीवनको महत्त्वपूर्ण हिस्सालाई चलचित्रमा समावेश गरेका छौँ”, उनले भने ।

चलचित्रमा सुनील थापा, विजय बराल, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन । सुदीप बरालले छायाङ्कन गरेको चलचित्रमा मिलन श्रेष्ठले सम्पादन गरेका छन । चलचित्र यही फागुन २९ गते नेपालसहित विश्वभर प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ८ : ३५ बजे

चैते दसैँमा कालिका मन्दिरमा पर्यटक बढे

बागलुङ । चैते दसैँ सुरु भएसँगै यहाँस्थित कालिका मन्दिरमा धार्मिक

ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन

भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र

प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै

बैङ्कक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली

यस वर्षको एसइई सम्पन्न, असार ७ गतेभित्र परीक्षाफल

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) मंगलबाट सम्पन्न भएको छ