१२ पुस २०८१, शुक्रबार | December 27, 2024

बुटवलको मेलामा मुख्य आर्कषण ‘साँस्कृतिक पक्ष’ बनेको छ : साँस्कृतिक संयोजक कसजु



बुटवल । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र संगै रहेको प्रदर्शनी मण्डप रामनगरमा बुटवल उद्योग वाणिज्य संघको आयोजनामा जारी २४ औं औद्योगिक व्यापार मेला बुटवल २०८१ मा जारी रहेको छ । यही पौष ३ गतेदेखि सुरु भएको औद्योगिक व्यापार मेला बुटवल २०८१ मा दिनप्रतिदिन दर्शकको भिड बढ्दो रहेको छ । विगत वर्षमा भन्दा यस वर्ष मेलामा साँस्कृतिक कार्यक्रमलाई फरक र आकर्षक बनाउने प्रयास गरिएको साँस्कृतिक उपसमितिका संयोजक निर्मित कसजु बताउँछन् । यसै विषयमा रहेर खबरकुराले साँस्कृतिक संयोजक कसजुसंग गरेको कुराकानीको सम्पादित अंश :

मेलाको आकर्षण नै साँस्कृतिक कार्यक्रम हो । यसलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?

– विगत वर्षभन्दा यो वर्ष हामीले फरक र केही विशेष गरिरहेका छौं । दर्शकको अपेक्षा अनुसार मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्नेमात्र नभई खर्च व्यवस्थापन र पारदर्शीतालाई समेत हामीले जोड दिएका छौं । यसैगरी स्थानीय कलाकारलाई प्रयाप्त अवसर सिर्जना गर्नुका साथै राष्ट्रिय कलाकारलाई बुटवलमा ल्याएर दर्शकलाई मनोरञ्जन प्रादन गर्ने हाम्रो प्रमुख लक्ष्य हो । कुनै न कुनै रुपमा यो मेलाको साँस्कृतिक कार्यक्रम केही फरक र विशेष रहेको कुरा जानकारी गराउन चाहान्छु ।

साँस्कृतिक कार्यक्रममा फरक र विशेष कसरी बनाउनु भएको छ ?

– यो मेलामा हामीले साँस्कृतिक कार्यक्रम अन्तरगत सबै विधा र विशेषतालाई जोड्ने प्रयास गरेका छौं । यस वर्षको मेलामा हामीले विगतदेखि माग हुँदै आएको तर प्रयोगमा नआएको लोकल ब्याण्डको प्रस्तुतीलाई राखेका छौं । जसले गर्दा युवाहरुलाई आकर्षण गर्नेछ भन्ने हाम्रो अपेक्षा हो । यस क्षेत्रका ७ वटा चर्चित लोकल ब्याण्डबाट साँस्कृतिक प्रस्तुती रहँदै गर्दा सोही स्टेजमा लोक भजन चुट्का प्रतियोगिताबाट परम्परा र सँस्कृतिलाई जगेर्ना गर्ने काम पनि हामीले गरेका छौं । यस बाहेक विद्यालयस्तरीय अन्तरमावि लोक दोहोरी प्रतियोगिता आयोजना गरिएको छ । बुटवल मेलाको ब्राण्डको रुपमा रहेको भ्वाइस अफ बुटवल सञ्चालन भैरहेको छ । खुला लोक दोहोरी प्रतियोगिताले देशभरका सिर्जना र नवकलाकारहरुलाई जोड्ने प्रयास गरेका छौं । बुटवल डान्स च्याम्पको आयोजना गरी प्रतिभाहरुको खोजीमा लागेका छौं । यस बाहेक राष्ट्रिय कालकार र स्थानीय कालाकारको प्रस्तुतीलाई जोड्दै दर्शकलाई मनोरञ्जन दिने हाम्रो प्रयास छ ।

आर्थिक पारदर्शिता र मितव्ययीताको कुरा उठाउनु भएको थियो, यसको व्यवस्थापन कसरी भएको छ ?

-कुनै पनि कार्यक्रम वा योजना सफल बनाउनका लागि आर्थिक पाटो महत्वपूर्ण रहन्छ । यसका साथै आर्थिक गतिविधिमा मितव्ययीता अपनाइएन भने, पादर्शी भएन उद्देश्य प्राप्त गर्न सम्भव पनि छैन । यसै कुरालाई मध्यनजर गरेर आर्थिक गतिविधिलाई परदर्शी राख्नका लागि सबै कारोबार बैंकिङ प्रणाली ९चेक मार्फत० गर्ने गरेका छौं । मेलामा आएका कुनै पनि कलाकारले समयमा पारिक्षमिक पाइएन भन्ने गुनासो नओस भन्नका लागि सोही दिननै उनीहरुलाई पारिश्रमिक दिएर सम्मानसहित विदा गर्ने परम्परा बसालेका छौं । यसका साथै संघको आर्थिक अवस्था, दर्शकले वर्तमान चाहना अनुसार कलाकारहरुको छनोट र परिचालन गरी मितव्ययीतालाई पनि जोड दिएका छौं । सकेसम्म बाल-बच्चादेखि युवा तथा वृद्ध-वृद्धाहरुलाई समेत मेलामा नचाउने र खुसी पार्नेगरी कालकार तथा साँस्कृतिक कार्यक्रमहरुको छनोट गरेर सञ्चालन गरिरहेका छौं ।

साँस्कृतिक कार्यक्रमले मनोरञ्जन बाहेक मेलालाई के सहयोग गर्नसक्छ ?

-बुटवलमा विगतदेखि मेला महोत्सवको प्रमुख मेरुदण्ड यहाँ हुने साँस्कृतिक कार्यक्रम अर्थात स्टेज शो नै हुन् । यस कारण पनि यहाँ साँस्कृतिक कार्यक्रमका मेला अवलोकन गर्ने दर्शकको सङ्ख्या निर्धारण गर्दछ । यस बाहेक पर्यटकीय बिकास र सम्भावनाहरुलाई साँस्कृतिक कार्यक्रमकै माध्यमबाट उजार गर्न प्रयास हुने गरेका छन् । परम्परा र सँस्कृतिको संरक्षण, प्रतिभाहरुको पहिचान र उनीहरुलाई प्रवर्द्धन, सम्भावनाहरुको खोजी र उत्पादनको बजारीकरणका लागि सबै उपभोक्ता, दर्शक वा सेवाग्राहीलाई एकै ठाउँमा भेला गर्ने काममा साँस्कृतिक कार्यक्रमको महत्व ठूलो रहने गर्दछ । त्यस कारण पनि हामीले बुटवलको मेलामा साँस्कृतिक कार्यक्रमहरुलाई हरेक वर्ष फरक र विशेष बनाउँदै लैजाने प्रयासमा हुन्छौं ।

अन्तिममा, साँस्कृतिक संयोजकको हिसाबले दर्शकको उत्साह कत्तिको देख्नु भएको छ ?

-मेला सञ्चालन भएदेखि हालसम्मको अवस्थामा दर्शकको साथ हामीले सोचे अनुसारनै प्राप्त गरेका छौं । दर्शकको चापका आधारमा सार्वजनिक विदाको समयमा कलाकारहरुको छनोट तथा साँस्कृतिक कार्यक्रमहरुको कार्यतालिका निर्माणलाई हामिले विशेष जोड दिएका छौं । यस कारण पनि दर्शकको उत्साह र चाप बढ्दो पाएका छौं । महोत्सवको बाँकी दिनमा रहेको पौष १० गते क्रिसमस, पौष पन्ध्र अर्थाथ तमु ल्होसार, पुस १६ गते अंग्रेजी नयाँ वर्षमा दर्शकको भीड उल्लेख्य हुने हामीले अनुमान गरेका छौं । यसका साथै पौष १२ गते चर्चित गायक दिपक बज्राचार्यको ब्याण्डले प्रस्तुतीले दिने भएकाले उनलाई सुन्न र हेर्नका लागि दर्शकको उल्लेख्य सहभागिता रहने विश्वास लिएका छौं । अझ सबैभन्दा महत्वपूर्ण भनेको गुरुङ जातीहरुको ल्होसार पर्वलाई मध्येनजर गरि साँस्कृतिक प्रस्तुति राखेको छौ । साझ ल्होसारको दिन चाईनिज ल्याम्प उडाएर विश्व शान्तिको कामना गरि विशेष दीप प्रज्वलन गरि मनाउने तयारी छ । मेलामा नै बढीभन्दा बढी दर्शक भित्राएर नयाँ वर्ष स्वागत गरि मनाउने गरि भब्य कार्यक्रम हुने छ । मेलाको अन्य दिनहरुमा पनि चर्चित कलाकारहरुको प्रस्तुती रहने भएकाले दर्शकको साथ पाउनेमा हामी विश्वस्त नै छौं ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  १२ : ३५ बजे

आफै सुतेको बिस्तरामा आगो लागेर पौडेलको मृत्यु

खजुरा । बाँकेको खजुरामा आफै सुतेको बिस्तरामा आगो लागेर एक

भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनमा प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन

भीम रावलले स्पष्टीकरण पनि दिनु भएन, अनुशासनहिन काम गरे पछि कारबाही: महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावल पार्टी

भेरी-बबई बहुउद्देश्यीय आयोजनाको प्रगति बारे मुख्यमन्त्री आचार्यको चासो

बर्दिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन

रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा

रसुवा । चीनसँग सीमा जोडिएको मुलुकको उत्तरी नाका रसुवाको टिमुरेमा