नेपालगन्ज । बाँके र यस आसपासकानागरिकबाट वर्षौदेखि प्रियजन र आफन्तजनको निधनपछि दाहसंस्कार गर्दा भोग्नुपरेको समस्या र दाहसंस्कारमा सहभागीहरुले ब्यहोर्नुपरेको दुःखलाई मध्यनजर गर्दै परिकल्पना गरिएको सुविधायुक्त बैकुण्ठधाम सिधनियाघाटको योजनालाई सार्थक बनाउन आयोजनागर्न लागिएको बैकुण्ठधाम आध्यात्मिक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।
भोलि कार्तिक २२ गतेबाट ३० गतेसम्म सञ्चालन हुने महोत्सवलाई व्यवस्थित बनाउन सबै वर्ग, क्षेत्र, धर्म र समुदायलाई समेटेर २००० बढी सदस्य रहेको मूल समिति र त्यस अन्तर्गत रहनेगरि ११० बढीउपसमिति गठन भएको आयोजक वैकुण्ठधाम सिधनियाघाटले जनाएको छ । सम्पूर्ण समितिबाट महोत्सवका लागि आवश्यक सबै तयारी पुरा भएको सम्बन्धित समितिका संयोजकहरुबाट जानकारी दिएको आज पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा डुडुवा —५ सिधनियाघाटमा प्रस्तावित बैकुण्ठधाम सिधनियाघाटको प्रचारप्रसार तथा धाम निर्माणलाई सबैको संलग्नता प्रदानगर्न वाचन शिरोमणी पं दीनबन्धु पोखरेलको प्रमुख वाचनसहित उनको संगीतमय टोलीबाट कार्तिक ३० गतेसम्म नेपालगन्जको रामलिला मैदानमा भागवत प्रवचन हुने जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा बोल्दै प्रमुख वाचक पंडीत पोखरेलले पूर्विय दर्शनको बैज्ञानिक प्रमाणलाई आध्यात्मिक महोत्सव मार्फत प्रकाश पारिने बताए । उनले वैकुण्ठधामको परिकल्पना कुनै जाती, धर्म र सम्प्रदाय विशेषको नभएर सबै मानवजातीको भएको उल्लेख गर्दै पुन्यकार्यमा सबैको योगदान जरुरी रहने बताए । आफ्नो प्रवचनमा सबै धर्म, जात र सम्प्रदायको हितमा र समन्वयमा आधारित हुने जनाउँदै पंडीत पोखरेलले आध्यात्मिक महोत्सवमा मुस्लिम समुदायलाई पनि सहभागिताका लागि आमन्त्रण गरे ।
महोत्सव आयोजक समितिका संयोजक डा. सुरेश कानोडियाले संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर सबै कामहरु अगाडि बढाइने प्रतिबद्धता ब्यक्त गरे । वैकुण्ठधाम निर्माण हुने डुडुवाको स्थानीय सरकारसँग आफुहरु सरसल्लाहमै रहेको उल्लेख गर्दै उनले गाउँपालिकाले बनाएको दाहसंस्कार गृहलाई पनि वैकुण्ठधामले टेवा पु¥याउने दाबी गरे । डा. कानोडियाले महोत्सव र वैकुण्ठधाम सिधनियाघाट संस्थाको कसैप्रति वैरभाव नरहेको स्पष्ट पार्दै सबैका लागि संस्थामा ढोका खुल्ला रहेको बताए ।
मुल समितिका महासचिव श्रीराम सिग्देलले दानकर्ताहरुलाई सम्मान प्रदान गर्न र सबैलाई धाममा आवद्धता प्रदान गर्न सदस्सताको वर्गिकरणका आधारमा दान रकम निर्धारण गरिएको स्पष्ट पारे । उनले महोत्सवका हरेक दिनको आम्दानी र गतिबिधिहरु सञ्चारमाध्यमहरुलाई जानकारी दिइने बताउँदै संस्थाका सबै क्रियाकलापहरु पारदर्शी रहेको बताए ।
आयोजकका अनुसार महोत्सव तथा भागवत वाचनका बीचमा इच्छुक भक्तजनहरुबाट ब्रतबन्ध, चौरासीपूजा, तुलादान, रुद्री पूजन जस्ता अनुष्ठान समेत गर्ने गरि व्यवस्था मिलाइएको छ ।
महोत्सवको पहिलो दिन २२ गते बिहान ११ बजे महोत्सवस्थल रामलिला मैदानबाट विभिन्न जाती, भाषा, धर्म र सम्प्रदायको झाँकीसहितको कलशयात्रा प्रराम्भ हुनेछ भने कलशयात्राको समापन संगै महोत्सवको उदघाटन गरिने छ ।
महोत्सवलाई सुरक्षित र व्यवस्थित बनाउन महोत्सवस्थललाई पूर्णरुपमा सिसि क्यामेरा जडान गरिएका छन् भने खानेपानी, शौचालय, विश्राम स्थलसहित प्रसाद वितरण, व्यवस्थित बसाई र वाटरप्रुफ पण्डालको व्यवस्था गरिएको छ ।
महोत्सवमा दानगर्न चाहने इच्छुक दाताहरुलाई मर्यादा अनुसार रथारोहणदेखि बिशेष सम्मान प्रदान गरिने आयोजकको कार्यक्रममा उल्लेख छ ।
महोत्सवको तयारीकै क्रममा दाताहरुबाट दानप्राप्तहुने क्रमपनि सुरु भइसकेको छ । अहिलेसम्ममा ५० लाखबढी संकलन भइसकेको आर्थिक समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । धेरै दाताहरु सम्पर्कमा रहेको उनले जनाए । महोत्सव पूर्व दान गर्ने दाताहरुलाई पनि कार्यक्रममा सम्मान गरिने उनले बताए । दानलाई पारदर्शी बनाउन क्युआर, नगदी रसिद र बैंक खातामा सिधै जम्माहुने व्यवस्था गरिएको उनले बताए ।
गैरनाफामुलक र वैकुण्ठधाम निर्माणको प्रमुख उद्देश्यसहित गठन भएको वैकुण्ठधाम सिधनियाघाटले प्रस्ताव गरेको धामनिर्माणमा सबैको योगदानको अपेक्षागरिएको पत्रकार सम्मेलनमा संयोजक ढा. कानोडियाले बताए । जीवनको अन्तिम सत्यकारुपमा रहेको मृत्युलाई सहज र सम्मानपूर्ण बनाउन वैकुण्ठधामले पूर्ण सार्थकता पाउने आयोजकले विश्वास लिएको छ ।
प्रतिक्रिया