९ मंसिर २०८१, आइतबार | November 24, 2024

भेरी अस्पतालमा उपकरण र जनशक्तिको अभावमा गुणस्तरिय सेवा दिन असहज



नेपालगन्ज । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. निराजन सुवेदीले भेरी अस्पतालमा भौतिक पूर्वाधार रहेरपनि उपकरण र जनशक्तिको अभावमा प्रभावकारी सेवा दिन नसकिएको बताएका छन् । कार्यभार सम्हालेको एक महिनापछि पत्रकारहरुसँग परिचयात्मक भेटघाट गरेका डा. सुवेदीले सुबिधा सम्पन्न भवन निर्माण भएपनि त्यसमा आवश्यक उपकरण र जनशक्ति नहुँदा भवन पूर्णरुपमा प्रयोगमा आउन नसकेको बताएका हुन् ।

उनले स्वास्थ्य क्षेत्रमा नयाँ भर्सनको सिटी स्क्यान मसिन आइसक्दा पनि भेरीमा पुरानै भर्सनको सिटी संचालन गर्नु परेको, शल्यक्रियाका आवश्यक उपकरण नहुँदा नयाँ भवनमा शल्यक्रिया कक्ष पूर्णरुपमा चलाउन नसकिएको, जनशक्तिको अभावमा सिकनसेलका बिरामीलाई छुट्टै मेडिकल वार्ड उपलब्ध गराउन नसकिएको बताए । उनले अस्पतालकै फर्मेसीबाट स्वास्थ्य बीमा सहितका बिरामीलाई गुणस्तरिय औषधी उपलब्ध गराउने कार्यमा आफुले प्राथमिकता दिएको उल्लेख गर्दै औषधी खरीदमा पूर्ण पारदर्शीता कायम गरिने बताए । उनले अस्पतालको फार्मेसीमा बीमाले तोकेका औषधि नपाउने गरेको गुनासो बढिरहेको भन्दै त्यसलाई सहज बनाउन तिहार लगत्तै नयाँ टेण्डर आह्वान गर्ने जानकारी दिए ।

मेसु सुबेदीले एमडीरएमएस अध्ययनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) संग सम्झौता भइसकेकाले जानकारी दिँदै छिट्टै कार्यान्वयनमा जाने दाबी गरे । सम्झौता कार्यान्वयनसँगै भेरीका कन्सल्टेन्ट चिकित्सकहरुले न्याम्सबाट एकेडेमिक उपाधि पाउने उनले बताए ।

अस्पतालमा भइरहेको चुहावट पनि एक मुख्य समस्या रहेको खुलासा गर्दै मेडिकल सुपरिटेण्डेण्ट सुवेदीले त्यसलाई मितब्ययी बनाउने प्रतिबद्धता ब्यक्त गरे । चुहावत कहाँ भएको भन्ने विषय भने उनले प्रष्ट पारेनन् ।

अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहले सेवा सुधारका लागि आफू प्रयत्नशिल रहेको जनाउँदै अस्पतालको आर्थिक सुधारको पाटो आवश्यक रहेको बताए । पूर्वाधार र उपकरणमा संघीय सरकारले सहयोग गरे अन्य कामहरु अस्पताल विकास समितिले गर्न सक्ने उनले बताए । विकास समिति भेरी अस्पताललाई बिरामीको भरोसाको केन्द्र बनाउन सकिने उल्लेख गर्दै शाहले सन्चारजगतबाट पनि आफुले रचनात्मक सहयोगको अपेक्षा गरेको बताए ।

परिचयात्मक कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. प्रकाश बुढाथोकीले संघीय अस्पताल भएपनि अस्पतालमा प्रदेश र स्थानीयतहको पनि भूमिका देखिन आवश्यक रहेको बताए । उनले जनशक्ति र पूवाृधार निर्माणमा प्रदेश र स्थानीयतहबाट सहकार्य हुन सके अस्पतालले पूर्णरुपमा सेवा दिन सक्ने स्पष्ट पारे । ‘अस्पताल संघीय सरकार अन्तर्गतको भएपनि सेवा लिने बिरामी त प्रदेश र स्थानीयतह अन्तर्गतकै जनता हुन् ।’ उनले भने ।

प्रवक्ता बुढाथोकीले संघीय सबै अस्पतालमा डिजिटल डिस्प्ले राख्ने तयारी गरिएको जानकारी दिए । उनले अस्पतालमा बेडहरुको अवस्था, उपलब्धता, अक्पुपेन्सीबारे सर्वसाधारणलाई सहजरुपले जानकारी दिन अस्पतालको बाहिरै डिजिटल ड्यासबोर्ड र डिस्प्ले राख्ने तयारीमा मन्त्रालय लागेको जानकारी दिए ।

कार्यक्रममा पत्रकारहरुले अस्पताललाई जनमैत्री बनाउन बिरामीसँग समान मैत्रीपूर्ण ब्यवहार गर्न आवश्यक रहेको सुझाव दिएका थिए । उनीहरुले ड्युटी आवरमा चिकित्सकहरु नीजि क्लीनीकमा भेटिने गरेको, सरकारको निर्देशन बिपरित भेरीका चिकित्सकले नीजि क्लीनीकमा अस्पतालको नाम जोडेर प्रचार बोर्ड राख्ने गरेको, अस्पतालका कर्मचारीले बिरामीसँग रुखो ब्यवहार गर्ने गरेको जस्ता जन गुनासोहरु सुझावकारुपमा राखेका थिए । अस्पताल विकास समितिका सदस्य डक्टप्रसाद धितालको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ९ : २९ बजे

चिसोले जम्न थाले मनाङका नदी र ताल

मनाङ । जाडो मौसम सुरु भएसँगै यहाँका नदी, खोला र

समपूरक र विशेष अनुदान कार्यविधि संशोधन गरिँदै

काठमाडौँ । राष्ट्रिय विकास समस्या समाधान समिति (एनडेक)को ५३औँ बैठकले

उपत्यकाको फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल

काठमाडौँ । सहरी विकास मन्त्रालयले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा देखिएका

कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनयन भएका

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले दिए राजीनामा

काठमाडौँ । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन्।