१० मंसिर २०८१, सोमबार | November 25, 2024

बाढीले केराखेती नष्ट भएपछि किसानको व्यवसाय चौपट



सप्तरी । यही असोज ११ र १२ गते आएको बाढीका कारण सप्तरीको विभिन्न गाउँमा किसानको केराखेती नष्ट हुँदा उनीहरुको व्यवसाय चौपट भएको छ । भारदहमा मात्रै बाढीले पाँच सय बिघामा लगाएको केराखेती नष्ट गरेको थियो ।

बाढीले फलेको केरा खेतमै डुब्नुका साथै ढलेर नष्ट भएको थियो । यसबाट व्यावसायिक रुपमा केराखेती गर्दै आएका किसान मर्कामा परेका छन् । बिक्री गर्ने समयमा आएको बाढीका कारण केराखेती गर्ने किसानलाई लाखौँ रुपैयाँको घाटा भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका-१ भलुवाका विलक्षण खंग १० कट्ठामा लगाएको केराखेती कोसी नदीको बाढीले नष्ट गरेपछि लाखौँ रुपैयाँको घाटा बेहोर्नुपरेको बताउँछन ।

उनले भने, “मैले १० कट्ठा जमिनमा करिब दुई सयजति केराका बोट लगाएको थिए, बाढीका कारण त्यो अहिले खेतमै सुकिरहेको छ ।” खंगले केराखेतीबाट गरेको आम्दानीकै भरमा नौ जनाको परिवार पाल्दै आएका थिए । केरा बेच्न तयार भएको समयमा आएको बाढीले सखाप पारेपछि अब अन्य विकल्प सोच्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

खंगले दसैँ, तिहार तथा छठ पर्वमा गत वर्ष झैँ यस वर्ष पनि ठेलामा लिएर सप्तरीको कञ्चनपुर, रुपनगर हनुमाननगर र भारदह बजारमा बेचेर मनग्य आम्दानी गर्ने योजना बनाएका थिए । “बाढीले योजना भताभुङ्ग बनाइदियो”, उनले भने । फलेको केराको बोट खेतमै ढलेपछि पानीमै कुहिएको उनले बताए ।

सोही ठाउँका किसान शोभानन्द यादवले पनि सात बिघामा केराखेती लगाएका थिए । उनको पनि सबै केराका बोट बाढीका कारण नष्ट भएका छन् । उनी भन्छन, “सरकारले राहत तथा क्षतिपूर्तिको व्यवस्था नगरे त यहाँका किसान पलायन हुनुपर्ने अवस्था छ ।” बैंकबाट ऋण काढेर केराखेतीमा हात हालेकाले ब्याज र लगानी उठाउन समस्या भएको उनको भनाइ छ ।

हनुमाननगर कङ्कालिनी-१ कोसी पलारमा लगाएको केराखेती बाढीले सखाप भएको छ । यहाँ एक सय पाँच किसानले जग्गा भाडामा लिएर केराखेती गर्दैआएका थिए । हनुमाननगर कङ्कालिनी-२ सकरदहीका दिनेशकुमार राउतले मात्रै कोसी नदीको किनारमा १० बिघामा केराखेती गरेका थिए । सबै नष्ट भएपछि उनी अहिले चिन्तामा छन ।

“दसैँ, तिहार र छठमा केरा बिक्री गरेर पर्याप्त आम्दानी गर्ने सोचमा थिए, दसैँ सुरु हुनु अगाडि नै दसा लाग्यो”, राउतले भने- “केराखेतीकै आम्दानीले छोराछोरी पढाउने तथा घरखर्च चलाउने योजना थियो, बाढीले सब चौपट बनायो ।” केराखेतीमा पसेको बाढी सुकेपनि केराका घरी यत्रतत्र छरिएर खेतमै रहेका छन् ।

भारदह–१ की आशाकुमारी मण्डलले १५ कट्ठामा केराखेती गरेकी थिइन । बाढीले त्यो सब नष्ट पारिदिएको छ । उनका सात दिदीबहिनी मिलेर केराखेती गरेकी थिइन । केराखेती नष्ट भएपछि लगानी डुबेको उनले बताइन । केराखेतीकै आम्दानीले गुजारा गर्दै आएकाले बाढीले केरा नष्ट गरेपछि परिवार पाल्न समस्या भएको मण्डल बताउँछिन ।

“खेत रु ३० हजारका दरले भाडामा लिएर केरा लगायौँ । केरा नष्ट भएपछि भाडा तिर्ने अवस्थासमेत रहेन”, उनले भनिन । घरछेउमै दसैँमा कङ्कालिनी भगवती मन्दिरमा लाग्ने मेलामा केरा बेचेर आम्दानी गर्ने मण्डलको इच्छा बाढीका कारण पूरा हुन पाएन ।

बाढीका कारण भारदह–१ भलुवाका रामदेव मण्डलले ५० कट्ठा जग्गामा लगाएको केराखेती नष्ट भएको छ । केराखेती सबै कोसीको बाढीले बगाइदिएपछि उनी साहुँको ऋण कसरी तिर्ने भन्ने चिन्तामा छन । भगवतीप्रसाद मण्डलको अवस्था पनि रामदेवको जस्तै भएको छ । “दश कट्ठामा लगाएको केराखेती सब सखाप भयो, यो वर्ष दसैँ जस्तै तिहार र छठ पर्व पनि राम्रोसँग मनाउन नसकिने भयो, घरखर्च टार्नै मुश्किल भयो”, उनले पीडा सुनाए ।

केरा बिक्री गरेर मनग्य आम्दानी गर्दैआएका इनर्देव लोगी वैकल्पिक उपायको खोजीमा छिन । लगाएको केराखेती नष्ट हुँदा घर खर्च चलाउन समस्या भएको भलुवाका रामचन्द्र ठाकुर बताउँछन । एक बिघा क्षेत्रफलमा केराखेती गर्न एकपटकमा रु दुई लाखभन्दा बढी खर्च हुने गरेको उनको भनाइ छ ।

बाढीले लाखौँको क्षति भएपछि यहाँका किसानको केराखेतीतर्फ आकर्षण घट्ने भएको छ । किसानले हालसम्म कुनै निकायबाट पनि राहत नपाएको गुनासो गरेका छन् । यसअघि गत वैशाखमा हावाहुरी आउँदा पनि केरा ढलेर किसानले ठूलो क्षति बेहोर्नुपरेको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ८ : १८ बजे

महिला आयोग १६ दिने अभियान मनाउन व्यस्त, आयोगको ढोका बाहिर पीडित अलपत्र

काठमाडौं । तनावग्रस्त अवस्थामा राष्ट्रिय महिला आयोगको गेटैमा भेटिइन्, कलङ्की

धितोपत्र बोर्डको अध्यक्षमा पेट्रोलियम ढुवानी व्यवसायमा बिवादीत व्यवसायी सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा इन्धन ढुवानी व्यवसायमा

नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी सङ्गठनको बृहत्तर हितका

खजुरा क्यान्सर अस्पतालमा सिटी स्क्यान सञ्चालनमा आयो, लिन्याक मसिन चल्ने कहिले ?

खजुरा । सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा आगलागीका कारण

लुम्बिनी प्रदेश सरकारले एसियाली विकास बैंकसँगको ऋण सिंचाई अभिवृद्धिकालागि उपयोग गर्ने

दाङ । । लुम्बिनी प्रदेशमा सिंचाई अभिवृद्धिकालागि नयाँ आयोजना सञ्चालन