२८ चैत्र २०८१, बिहिबार | April 11, 2025

वैकल्पिक सिकाइः प्रविधिको पहुँचमै छैनन् विद्यार्थी



काठमाडौं । वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिक सत्रमा गणनाको तयारी भइरहेका बेला मुलुकको राजधानीसमेत रहेको वाग्मती प्रदेशमै करीब ३० प्रतिशत विद्यार्थीमा मात्र प्रविधिको पहुँच देखिएको छ ।

कोरोना महामारीका कारण शिक्षालयहरु बन्द भएकाले सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट अनलाइन, रेडियो, टेलिभिजन र अफलाइन माध्यमको वैकल्पिक प्रणालीको सिकाइ हुँदै आएकामा यसको प्रभावकारितामा वृद्धि हुन नसकेको उक्त आँकडाले औल्याउँछ ।

वाग्मती प्रदेश सरकारको प्रदेश शिक्षा निर्देशनालयले गरेको अनुगमन र विश्लेषणमा प्रदेशमा ३० प्रतिशत विद्यार्थीमा मात्र इन्टरनेट प्रविधिमा पहुँच रहेको देखिएको हो ।

निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुईँटेलले कतिपय विद्यालयमा ६०० विद्यार्थी रहेकामा १२ जनासँग मात्रै मोबाइल रहेको र त्यो पनि बाबुआमासँग भएकाले उनीहरुको सिकाइ चुनौतीपूर्ण भएको बताए ।

हाल मुलुकभर कूल ३५ हजार ६०१ विद्यालय छन् । एक तथ्याङ्कअनुसार मुलुकभर इन्टरनेटमा ७५ प्रतिशत, रेडियोमा ८५ प्रतिशत, टेलिभिजनको पहुँच ७२ प्रतिशत जनसङ्ख्यामा र मोबाइल प्रयोगकर्ता चार करोड मानिसमा रहेको पाइए पनि शिक्षामा यसको त्यसरुपमा प्रयोग भएको पाइँदैन ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ‘फ्ल्यास रिपोर्ट, २०१८’ मा वाग्मती प्रदेशमा पाँच हजार २४३ सामुदायिक र दुई हजार १४५ संस्थागत गरी कूल सात हजार ३८८ विद्यालय छन् । यी विद्यालयमा गरी कक्षा १ देखि १२ सम्म १४ लाख ३८ हजार ५९९ विद्यार्थी र २९ हजार ५२१ शिक्षक छन् ।

निर्देशक लुइँटेलले केन्द्रमा झैँ प्रदेशमा प्रकोप व्यवस्थापन शिक्षा समूह गठन गरिएको र सोह्र हजार शिक्षक निर्देशिका र कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि केन्द्रले तयार गरेको स्वाध्यन अभ्यास पुस्तिका १३ हजार प्रति छपाइ गरी वितरण गरिएको जानकारी दिए ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालको बिहीबारको भर्चुअल संवादमा उनले भने, “यस्तो स्थितिमा हाल शतप्रतिशत सिकाइ गुणस्तरीय र पहुँचयोग्य हुन्छ भन्नु भूल हुनेछ । विद्यार्थीलाई निःशुल्क मोबाइलन वितरण गर्न सकिए केही सुधार हुनेछ ।”

वाग्मती प्रदेशमा पाठ्यपुस्तकको उपलब्धता भने भएको देखिन्छ । निर्देशिकामा सबै किसिमको प्रविधिको पहुँच भएका, रेडियो वा टेलिभिजनमा पहुँच भएका, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका र इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थीका समूहमा वर्गीकरण गरी उनीहरुलाई त्यही परिवेशअनुसारको सिकाइ निरन्तरता दिन भनिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थितरूपमा सिकाइमा निरन्तरता दिन गत जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरी गत असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गराउन भनेको थियो ।

हाल सोही निर्देशिकाअनुसार सिकाइलाई चालू शैक्षिक सत्रको मान्यता दिन पाठ्यक्रम विकास केन्द्रले गृहकार्य गरिरहेको छ । हालसम्म यस्तो प्रणालीलाई वैकल्पिक माध्यमको मान्यता नदिइएकाले पनि शिक्षक, अभिभावक र विद्यार्थीले जिम्मेवार भइ नियमित सिकाइ प्रक्रियामा अभ्यस्त नभएको देखिन्छ भने विपन्न र प्रविधिको पहुँच नभएका विद्यार्थीका लागि निःशुल्क मोबाइल र इन्टरनेट सुविधाका लागि स्थानीय तहले बजेट विनियोजन गर्नुपर्ने सुझाव आएको छ ।

निर्देशिकाले निर्दिष्ट गरेअनुसार मानव स्रोत विकास केन्द्रद्वारा पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित भई उत्पादन गरिएका विषयगत श्रव्यदृश्य पाठहरू प्रसारण भइरहेको छन् ।

काठमाडौंकै धेरैजसो अभिभावकमा पनि स्मार्टफोन, ट्याब्लेट, ल्यापटप कम्प्युटर, इन्टरनेट नहुने, बिजुली गइरहने समस्याले अनलाइन कक्षाको पहुँच सहज नभएको पाइएको छ । कोरोना जोखिम बढेपछि गत चैत ११ गतेदेखि जारी भएको बन्दाबन्दीयता शिक्षालय खुल्न सकेका छैनन् ।

शिक्षाविद् डा. विद्यानाथ कोइरालाले वैकल्पिक प्रणालीको सिकाइमा न्यून विद्यार्थीको पहुँच रहेको स्थितिमा शिक्षकरुलाई यति धेरै सङ्ख्यामा किन पाल्ने भन्ने प्रश्न उत्पन्न भएको जनाए।

विश्लेषक टीका भट्टराईले विषम स्थितिमा सिकाइ निरन्तरताका लागि शिक्षकहरुको परिचालन अति जरुरी भएको टिप्पणी गरे ।

महासङ्घका अध्यक्ष कृष्ण थापाले वैकल्पिक प्रणालीको सिकाइ प्रभावकारी गराउन स्थानीय तह र विद्यालय व्यवस्थापन समिति सक्रिय हुनुपर्ने जनाउँदै स्वास्थ्य जोखिम कायम रहेको स्थितिमा विद्यालय तत्काल खुलाउन नसकिने बताए ।

महासङ्घका महासचिव गुणराज मोक्तानले सो प्रणालीको कार्यान्वयन प्रभावकारी बनाउन सरोकार भएका पक्षबीच सहजीकरण गर्दै आएको जनाए ।

विजयस्मारक मावि, काठमाडौंका प्रधानाध्यापक डिल्लीप्रसाद शर्माले इन्टरनेट र मोबाइलको पहुँचबाट टाढा रहेका विद्यार्थीका लागि टेलिफोनको प्रयोगजस्ता खुल्ला विकल्पमा जान सुझाव दिए ।

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  १ : ५३ बजे

नेपाल प्रहरीले भन्यो – ‘दुर्गा प्रसाईं पक्राउ परेका छैनन्’

काठमाडौँ । राजावादीहरुको हिँसात्मक तीनकुने घटनापछि फरार भएका मेडिकल ब्यवसायी

शिक्षा मन्त्रालय र शिक्षक महासङ्घबीच पहिलो छलफल सम्पन्न

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र आन्दोलनरत नेपाल

दुर्गा प्रसाई भारतको आसाम राज्यबाट पक्राउ, प्रसाईको सचिवालयले भन्यो आफै आत्मसमर्पण

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई भारतबाट पक्राउ परेका छन्

‘संविधान कार्यान्वयनको अवस्थाबारे समीक्षा गरौँ’

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनको अवस्थाबारे

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धको मृत्यु

अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको