६ कार्तिक २०८१, मंगलबार | October 22, 2024

ताराखोले आलु उत्पादनमा ह्रास



बागलुङ । नेपालमै ख्याती कमाएको बागलुङको ताराखोले आलु उत्पादन अघिल्लो वर्षको तुलनामा पाँच प्रतिशतले घटेको छ । गत वर्षको कात्तिकदेखि वैशाखसम्मको खडेरीले ताराखोले ब्राण्डको वर्षे आलु उत्पादन पाँच प्रतिशत घटेको हो ।

गत वर्षको कात्तिकदेखि वैशाखसम्मको खडेरीले वर्षे आलु उत्पादन पाँच प्रतिशत घटेको कृषि ज्ञान केन्द्र बागलुङका बागवानी विकास अधिकृत कुमार पुनले जानकारी दिए । विशेषगरी ताराखोला र ढोरपाटनमा लगाइएको आलुमा कमी आएको हो । बागलुङको ताराखोला र ढोरपाटनमा हिउँदमा लगाएर बर्खामा आलु खन्ने गरिन्छ । कात्तिकमा लगाएर फागुन–चैतमा खन्ने आलुमा भने खासै असर परेको छैन ।

ताराखोले आलुको स्वाद र तत्कालै नबिग्रने हुँदा धेरैको रोजाइमा पर्ने गरेको अधिकृत पुन बताउँछन् । गाउँपालिकाका कृषि शाखा प्रमुख सञ्जीव थापाका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा ताराखोलाभित्र तीन हजार दुई सय ९७ मेट्रिक टन आलु फलेको छ । कुल एक सय ८४ हेक्टरमा किसानले आलु लगाएको शाखाको तथ्याङ्क छ । रासायनिक मल प्रयोग नगरेकाले उपभोक्ताले पनि ताराखोलाको आलु भनेपछि खोजीखोजी खाने गरेका हुन् । खडेरीकै कारण उत्पादन भने कमी भएको थापाले बताए ।

ताराखोला–२ अर्गलका किसान अमृत घर्तीले आलुलाई उपयुक्त वातावरण भएकाले मिठो भए पनि यस वर्ष उत्पादनमा समस्या आएको बताए । विकासे आलु प्रयोग नगर्ने, रासायनिक मल नहाल्ने र जैविक मल प्रयोग गर्दा आलुको स्वाद मिठो भएको घर्तीको अनुभव छ । यसका कारण किसानले आलुको बजार खोज्नै नपरेको हो । तर खडेरीलगायत समस्यामा राज्यले साथ दिनुपर्ने उनले बताए ।

घर्तीका छिमेकीले पनि आलु फलाएर जिप र ट्रयाक्टरमा बजार पठाउने गरेका छन् । बागलुङ बजारका ठूला र होलसेल व्यापारीले ताराखोलाको आलु भनेपछि गाडी पठाएर ल्याउने गर्छन् । कृषि ज्ञान केन्द्रले पनि ताराखोला, काठेखोला र ढोरपाटन क्षेत्र आलुका लागि विशेष क्षेत्र मानेर उत्पादनमा सहयोग गर्दै आएको छ । तर खडेरी, अतिवृष्टि र असिनाको क्षतिमा न्यूनीकरण गर्न नसकेको हो । “असिनाले क्षति भएमा केही राहत दिने कार्यक्रम भए पनि रोक्ने वा उत्पादन जस्ताको त्यस्तै बनाउने काम भने गर्न सकिएको छैन”, पुन भन्छन्, “व्यवस्थापन गर्न सके हालको उत्पादनबाट २० प्रतिशतसम्म आलु बढाउन सकिन्छ ।” केन्द्रको तथ्याङ्कमा पनि हरेक वर्ष बागलुङमा ४० हजार मेट्रिक टनसम्म आलु उत्पादन हुने गरेको छ ।

बागलुङमा हिउँदमा २३ हजार नौ सय मेट्रिक टन र बर्खामा ११ हजार छ सय ९४ मेट्रिक टन गरी ३५ हजार मेट्रिक टन आलु बजारमा आउने गरेको हो । त्यसबाहेक घरघरमा खाने र गाउँमै बिक्री हुने आलुको तथ्याङ्क छैन । यो वर्ष खडेरी धेरै परेको र वैशाखमा असिना पर्दा आलुमा समस्या आउँदा उत्पादन घटेकाले आयात बढ्ने निश्चित छ । जिल्लामा उत्पादित आलुले वर्षको नौ महिनासम्म थेग्ने गरे पनि तीन महिनाका लागि आयात गर्नुपर्छ । त्यसका लागि भण्डारण क्षमता बढाउनुपर्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख नारायण पौडेलले बताए ।

प्रकाशित मिति : ४ भदौ २०८१, मंगलबार  ११ : २७ बजे

न्यूरो उपचारसम्बन्धी सरकारी केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न समिति

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले न्यूरो उपचार केन्द्र

सहकारी ठगी प्रकरण : रुपन्देही ल्याइएका पूर्वडीआईजी जोशीसँग साढे ७ घण्टा बयान

बुटवल । सहकारी ठगीको आरोपमा पक्राउ परेर बयानका लागि रुपन्देही

फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै

काठमाडौं । दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५

गुल्मीको हवाई उडान अनियमित हुँदा यात्रुहरू समस्यामा

गुल्मी । विगत चार महिनादेखि गुल्मीमा हवाई उडान पटकपटक अवरुद्ध

माओवादी एसिया महादेश समितिबाट बाढीपीडितलाई आठ लाख सहयोग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एसिया महादेश सङ्गठन