२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

आगलागी भएको ४ महिना पुरा हुँदा पनि बनेनन् खजुरा क्यान्सर अस्पतालका उपकरणहरु

सिटी स्क्यान र म्यामोग्राफी नचल्दा जडान भएको लिन्याक मसिनले काम पाएन



खजुरा । बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर परोपकार क्यान्सर अस्पतालको रेडियोलोजी भवनमा आगलागी भएको ४ महिना पुग्दा पनि भवनमा रहेका उपकरणहरु संचालनमा आएका छैनन् । रेडियोलोजी भवनमा रहेको सिटी स्क्यान, म्यामोग्राफी जस्ता अत्यावश्यक उपकरण संचालन गर्न अस्पताल प्रशासन असफल जस्तै देखिएको छ । निजी अस्पतालहरुमा आगलागी हुँदा सामान्यतया १५ देखि एक महिनामा मरमत गरि संचालनमा आउन सक्ने उपकरणहरु क्यान्सर अस्पतालमा आगलागी भएको ४ महिना पुरा हुँदा पनि संचालनमा आउन सकेको छैन ।

क्यान्सर अस्पतालको रेडियोलोजी भवनमा गत चैत १८ गते आगलागी हुँदा सिटी स्क्यान र म्यामोग्राफीको वायरिङ ध्वस्त भएको थियो भने भिडियो एक्सरे र एक्सरे मसिनमा सामान्य क्षति पुगेको थियो । भिडियो एक्सरे र एक्सरे संचालनमा आएपनि सिटी स्क्यान र मेमो ग्राफी भने कहिलेदेखि संचालनमा आउने हो ? अनिश्चित जस्तै देखिएको छ।

क्यान्सर रोग पहिचानका लागि अत्यावश्यक उपकरणहरु संचालन हुन नसक्दा क्यान्सरको पहिचान र निदान गर्न आएका बिरामीहरुले सास्ती खेप्न बाध्य बनेका छन् । सिटी स्क्यानदेखि लिएर एक्स रे सेवासमेत सन्चालन हुन नसक्दा बिरामीहरु ती सेवाहरु लिन नेपालगन्ज पुग्नुपर्ने अवस्था छ भने उनीहरु दोब्बर बढी मूल्य तिर्न बाध्य बनेका छन् ।

आगलागीले मेसिनहरुमा सामान्य मात्रै क्षति भएको र विद्युत प्रणालीमा मात्र बढी क्षति भएको भनिएपनि विद्युत प्रणालीको मरमत र जडानमात्र पनि ४ महिना सम्म हुन नसक्नुलाई सेवाग्राहीले अचम्मको विषय मानेका छन् । प्रारम्भीक रुपमा विद्युत प्रणाली सुचारु गरि मसिनहरुको जाँच गर्ने काम समेत अस्पताल प्रशासनबाट हुन नसकेको जाजरकोटबाट बिरामी लिएर अस्पताल आएका गोरख शाहीले बताए ।

सिटी स्क्यान संचालन हुन नसक्दा अस्पतालमा जडान भइ संचालनको तयारीमा रहेको लिन्याक मेसिन समेत बेकाम बनेको छ । झण्डै २ वर्ष लगाएर जडान सम्पन्न भएको भनिएको लिन्याक उपकरण सिटी स्क्यान नचल्दा संचालनमा आउन नसकेको अस्पतालका मेडिकल फिजिसिस्ट राजु न्यौपानेले बताए । सिटी स्क्यान बिना लिन्याकको कुनै काम नभएको उल्लेख गर्दै न्यौपानेले सिटी नचलेकै कारण लिन्याक जडान भएर पनि प्रयोगमा ल्याउन नसकिएको बताए । भरतपुर क्यान्सर अस्पताल पछि पश्चिममा खजुरा क्यान्सर अस्पतालमा मात्र रहेको म्यामोग्राफी पनि कहिले देखि चल्छ ? कसैले भन्न सक्ने अवस्था छैन ।

अस्पताल प्रशासनको अधिकार क्षेत्र भन्दा बाहिरको रकम मरमतमा लाग्ने भएपछि प्रक्रिया पुरा गर्न समय लागेको अस्पतालका कार्यकारी निर्देशक डा. प्रकाश प्रसाद साहले बताए । टिप्पणी उठाउने, निर्णय गर्ने, टेण्डर खोल्ने र सम्झौता प्रक्रिया पुरा गर्दा ४ महिना लागेको निर्देशक साहले बताए । चार महिना लगाएर अहिले अस्पताल प्रशासनले मेसिनहरु पुनः सन्चालनका लागि आवश्यक विद्युतीय उपकरणको खरिद गरेको छ । अस्पतालका प्रमुख डा. साहले २० लाख रुपैयाँभन्दा बढीका ब्याट्रि, युपिएस लगायतका विद्युतीय उपकरण खरिद गरिएको र सबै उपकरणहरु सुचारु गर्नका लागि कम्तिामा दुई हप्ता अझै लाग्ने बताए ।

सामान्यतया सरासर गर्दा १ महिनामा सकिने काम सरकारी प्रक्रिया भन्दै पुरा गर्न ४ महिना लागेको अस्पताल निकट एक कर्मचारीले बताए । खरिद गरिएका विद्युतिय उपकरण अस्पताल परिषरमा आइसकेपनि त्यसको जडानको काम भने कछुवा गतिमा भइरहेको छ ।

२०७२ सालमा स्थानीयबासीबाट संघीय सरकारले अस्पतालको स्वामित्व ग्रहण गरेपनि सरकारबाट दरबन्दी स्वीकृत नहुँदा करार र ज्यालादारी चिकित्सक र कर्मचारीबाट अस्पताल संचालन हुँदै आएको छ । अस्पतालमा रेडियोलोजिस्ट नहुँदा अस्पताल प्रशासनले नेपालगन्जको निजी अस्पतालबाट सहयोग मागेर रेडियोलोजी सेवा सुचारु गर्दै आएको थियो । अस्पतालमा हाल रेडियोलोजिस्ट र मेडिकल अङ्कोलोजिस्टको आवश्यकता रहेको अस्पताल प्रमुख साहले बताए । उनले बिरामीको चाप र आवश्यकताका आधारमा अस्पताललाई ७० बेडबाट १०० बेड बनाउनु पर्ने, अस्पतालको वार्डहरु संचालन गर्न थप एक भवन तथा चिकित्सक र कर्मचारीको आवास अति आवश्यक रहेको बताए ।

अस्पताललाई आवश्यक पर्ने कर्मचारी दरबन्दी स्वीकृतका लागि २०७२ सालदेखि नै लगातार अस्पताल प्रशासनले मन्त्रालयमा माग गर्दै आएपनि मन्त्रालयबाट सुनुवाई हुन सकेको छैन । दरबन्दी स्वीकृतिकै लागि अहिले पनि अस्पतालका मेसु डा. साहले निरन्तर प्रयास गरिरहेको बताउँछन् ।

स्थानीयले मुट्ठीदान गरेर निर्माण गरेको अस्पताल २०७२ सालमा सरकारलाई हस्तान्तरण गरिएको थियो । हिन्दुधर्मका धर्मगुरु सन्त दीनदयालजी महाराजको संकल्पमा महायज्ञबाट संकलित रकमबाट अस्पतालको निर्माण भर्एको हो ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहिबार  १ : ३६ बजे

सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउन माग

काठमाडौं । जवाफदेहिता निरगानी समितिले सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोटलाई

सेवा रेमिटको अनुमतिपत्र खारेज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज

वैदेशिक रोजगारले टुटेको राजकुमारको घर

खजुरा । झरेको पात झैं भयो, उजाड मेरो जिन्दगी, निभेको

दाङमा सर्प महोत्सव हुँदै

दाङ । दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस

सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ६४ हजार ४ सय कायम

काठमाडौँ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।