८ मंसिर २०८१, शनिबार | November 23, 2024

बदनियतपूर्ण ढङ्गले संविधान संशोधनको कुरा आयो : वर्षमान पुन



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले नयाँ सत्ता गठबन्धनका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बदनियतपूर्ण ढङ्गले संविधान संशोधनको विषय उठाएको आरोप लगाएकाछन् ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा आफ्नो दल रहेको धारणा राख्दै पुनले कुनै ठूला काण्ड ढाकछोप गर्न संविधान संशोधनको मुद्दा अघि सारिएको हुनसक्ने शङ्का व्यक्त गरे ।
“बेमौसममा संविधान संशोधनको कुरा आएको छ । खराब र बदनियतपूर्ण तरिकाले सत्ता समीकरण बन्यो कि भन्ने प्रश्न उठिरहेको बेला केही कुरा छोप्न यो विषय ल्याइएको हो कि भन्ने आशङ्का छ”, पुनले भने, “असल नियतले ल्याएको कुराभन्दा गलत तरिकाले सत्ता समीकरण भएको र त्यसलाई छोप्न संविधान संशोधनको कुरा अघि सारेको देखिन्छ । महिला, दलित, जनजातिले पाएका अधिकार खोस्न संशोधन गर्न खोजेको देखिन्छ ।”
समानुपातिक निर्वाचन प्रणाली र साना दलका कारण राजनीतिक अस्थिरता देखिएको र यसलाई सच्याउन संविधान संशोधन आवश्यक रहेको भन्नेमा सत्यता नरहेको उनको भनाइ छ । विगतमा एकल दलको बहुमतको सरकार बन्दा पनि मुलुकमा राजनीतिक स्थिरता नदेखिएको उनले बताए ।
निवर्तमान अर्थमन्त्री समेत रहेका पुनले  मुलुकको अर्थतन्त्रमा केही शिथिलता रहेको भए पनि चर्को निराशाको अवस्था देखाउन प्रधानमन्त्रीले संसद्मा मिथ्याङ्क प्रस्तुत गरेको आरोप लगाए । “वर्तमान प्रधानमन्त्रीको नेतृत्वमै तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बहुमतको सरकार बनेको थियो । त्यतिखेरको अर्थतन्त्रको अवस्था, राष्ट्रको ऋणको अवस्था र आर्थिक वृद्धिदरको अवस्था हेर्दा अहिले हामी निकै राम्रो अवस्थामा पुगेका छौँ”, पुनले भने, “२०७४/७५ देखि २०७७/७८ मा मुलुकको सार्वजनिक ऋण अत्यधिक बढेर मुलुकको कूल गार्हस्थ्य उत्पादनको तुलनामा उच्च विन्दुमा पुगेको थियो ।”
अहिले समग्र अर्थतन्त्र केही समस्यामा रहेको भए पनि तथ्याङ्क बङ्ग्याएर निराशा देखिनेगरी प्रस्तुत गर्न नहुने उनको धारणा छ । अहिले शोधनान्तर बचतमा रहेको, बाह्य क्षेत्र सन्तुलनमा रहेको, १३ महिनाको वस्तु तथा सेवा आयात गर्न सक्ने विदेशी मुद्रासञ्चिति रहेको, मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेकोलगायत सकारात्मक कुरालाई नजरअन्दाज गर्न नहुने पुनको भनाइ छ ।
त्यस्तै, वैदेशिक व्यापार घाटा घट्दै गएको, पुँजीगत खर्च बढेको र समग्र अर्थतन्त्रको वृद्धिदर अपेक्षित रुपमा अगाडि बढिरहेको उनले बताए। आफू केन्द्रित गरेर तथ्याङ्क प्रस्तुत गर्दा त्यसले भोलिका दिनमा सरकारलाई समस्यामा पार्ने पुनको बुझाइ छ । अहिलेको सरकारले निराशा बाँड्न खोजेको भए पनि निराश हुनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । गत आर्थिक वर्षमा सूचना प्रविधि क्षेत्रबाट करिब रु एक खर्ब बराबरको निर्यात भएको उल्लेख गर्नुहुँदै पुनले चालु आवको बजेटमार्फत सरकारले सूचना प्रविधि दशक र कृषिमा लगानी दशकका रुपमा घोषणा गरेकाले नवगठित सरकारले त्यसको स्वामित्व लिन्छ वा लिँदैन भनेर प्रश्न गरे। अर्थतन्त्र सुस्ताउँदा जलविद्युत् क्षेत्र र पर्यटन क्षेत्रमा प्रगति देखिएको जानकारी दिए। जलविद्युत् क्षेत्रमा नीतिको निरन्तरता भएका कारण त्यसले राम्रो नतिजा देखाएको उनको भनाइ छ ।
सरकारले ऋण लिएर प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत कार्यकर्तालाई पैसा बाँडेको आरोप पुनले लगाए। प्रधानमन्त्री ओलीको गृह जिल्लामा दमकको भ्युटावर बनेपछि हरेक गाउँगाउँमा भ्युटावर बनाउने खराब परिपाटी सुरु भएको उल्लेख गर्दै पुनले ठूला भवनलगायतका अनुत्पादक क्षेत्रमा ठूलो बजेट खर्च हुँदा पुँजी सिर्जना गर्न नसकेको बताए। सरकारले उत्पादन र उत्पादकत्व बढाउने गरी सोचविचार गरेर बजेटको प्राथमिकता निर्धारण गर्नुपर्ने पुनको सुझाव छ ।
चालु आर्थिक वर्ष २०८१/८२ का लागि अघिल्लो सरकारले ल्याएको बजेटका राम्रा योजना तथा कार्यक्रम कार्यान्वयनको निरन्तरता दिन उनले आग्रह गरे। नयाँ सरकारप्रति विश्वास गर्न सक्ने अवस्था नदेखिएकाले आफ्नो दल माओवादी केन्द्रले समर्थन नगर्ने उनले स्पष्ट गरे। “संविधानको जुन धारा र उपधारामा टेकेर प्रधानमन्त्री बन्नुभएको छ, जुन परिस्थिति, परिवेश र जस्तो गठबन्धन तोडेर अपारदर्शी ढङ्गले गठबन्धन बनाउनु भएको छ, यी सबै विषयका आधारमा उहाँप्रति हाम्रो दलको विश्वास छैन”, प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै पुनले भने ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ४ : ५६ बजे

चार महिनामा साढे चार खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा

मगर साहित्य महोत्सव : स्वयम् सेवक परिचालनका लागि विद्यार्थी संगठनहरुसँग छलफल

बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीले यही मंसिर २१

सिन्धुलीबाट १८९ किलो गाँजा बोकेको पिकअप गाडीसहित एक जना पक्राउ

काठमाडौं । सिन्धुलीबाट प्रहरीले १८९ किलोग्राम गाँजा बोकेको पिकअप गाडीसहित

धरहरा चढ्ने स्वदेशीलाई दुई सय शुल्क

काठमाडौं । परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न स्वदेशी

गैँडाको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैँडाको आक्रमणबाट आज बिहान