काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले मन्त्री चयनको विषयमा छलफल गरेको छ । एमालेसँग सत्ता सहकार्य हुने भएपछि कांग्रेसभित्र मन्त्री चयनको विषय पेचिलो बन्दै गएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आफु पक्षका धेरै नेतालाई मन्त्री चयन गर्ने संकेत गरेपछि नेता शेखर कोइराला पक्ष बैठक बसेर छलफल गरेको छ ।
कोइरालाको निजी सचिवालयमा बसेको बैठकमा आफ्नो समुहबाट कम्तिमा चार मन्त्रालय पाउनुपर्ने अडान राख्ने निष्कर्ष निकालेको छ । एमालेसँग कांग्रेसले १० मन्त्रालय पाउने सहमति भएको बताइएको छ ।
स्रोतका अनुसार १० मध्ये सभापति देउवाले कोइराला समुहलाई ३ मन्त्रालय दिने तयारी गरेका छन् ।
कोइराला पक्षको बैठकमा महामन्त्री गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी लगायतका नेताहरु सहभागी थिए ।
अहिलेसम्म कोइराला पक्षबाट जीवन परियार, चन्द्र भण्डारी, प्रतिमा गौतमको नाम मन्त्री बन्नेमा चर्चामा रहेको छ ।
कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने चर्चा छ भने आरजु देउवा र रमेश लेखक मन्त्री बन्ने निश्चित भएको बताइएको छ ।
प्रतिक्रिया