९ मंसिर २०८१, आइतबार | November 24, 2024

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका सूचना प्रवाहलाई प्रभावकारी बनाइ सूचनाको हकलाई नागरिकको दायित्वका रुपमा स्थापित गर्न आवश्यक रहेको बताएकी छन् ।

राष्ट्रिय सूचना आयोगको १७औँ स्थापना दिवसका अवसरमा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा मन्त्री शर्माले सूचनाको हक सार्वजनिक निकायले चाहेका बेला दिने ऐच्छिक विषय नभई नागरिकले मागेका बेला दिनैपर्ने दायित्व भएको बताइन् ।

सार्वजनिक सरोकारका क्षेत्रमा नागरिकको सहज पहुँच स्थापित गरी लोकतन्त्र बलियो र दिगो शान्ति कायम गर्न सूचनाको हकको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनको भनाइ थियो ।

“संविधानको मौलिक हकको कार्यान्वयन गर्न सूचनाको हकको प्रचलनलाई बढाएर लैजानुपर्नेछ । यसमा सरकार दृढ र प्रतिबद्ध छ । हरेक सरकारी निकायमा जनताले मागेका सार्वजनिक सरोकारका सूचना प्रवाह गर्न सूचना अधिकारीको व्यवस्था गरिएको छ”, मन्त्री शर्माले भनिन्, “सार्वजनिक सूचना सञ्चारमाध्यमबाट प्रवाह गर्न प्रवक्ताको व्यवस्था गरिएको छ । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलेसमेत यो अभ्यास गरिरहेका छन् । नागरिकले सूचना माग्न र सरकारी निकायको कार्यसम्पादन प्रभावकारी बनाउनकै लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत हेलो सरकार सञ्चालनमा पनि ल्याएको छ ।”

मन्त्री शर्माले सरकारी निकायले पारदर्शीता र सुशासनका लागि कतिपय सूचना स्वतः सार्वजनिक गर्नुपर्ने र कतिपय सूचना मागेपछि दिनुपर्ने भएकाले सरकारको मुख्य जोड सुशासन र सेवा प्रवाहलाई सरलीकरण गर्नेतिर केन्द्रित रहेको जानकारी दिइन् । उनले सूचनाको हकको कार्यान्वयन गर्दा सरकारको कार्यसम्पादन प्रभावकारी बनाउन सहयोगी हुने स्पष्ट पारिन् ।

“सूचनादाताको सुरक्षाको सवालमा सरकार संवेदनशील छ । जनताले सूचनाको माग गर्नुको अर्थ सरकारी अधिकारीलाई झन्झट दिन नभएर सरकारी सेवा प्रवाहलाई पारदर्शी बनाउनु हो”, मन्त्री शर्माले भनिन्, “जनताले चाहेको सूचना सहजरुपमा प्राप्त नगरेमा सम्बन्धित अधिकारी दण्डित हुने कानुनी व्यवस्था भएकाले आफूले चाहेका सार्वजनिक महत्वका सूचना ढुक्क भएर माग्न म आम जनतासँग अपिल गर्न चाहन्छु ।”

आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले नागरिकको सूचनाको हकको संरक्षण, सम्वद्र्धन र प्रचलन गर्न गठित आयोगले अहिलेसम्म निर्वाह गरेको भूमिकाप्रति नेपाल सरकारकोतर्फबाट आभार व्यक्त गर्दै सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयनमा आगामी दिनमा अझै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल पत्रकार महासङ्घका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले सूचनाको हकको कानुनको प्रभावकारी कार्यान्वयनमा महासङ्घ सक्रिय रहेको बताए । उनले नागरिकले राज्यलाई प्रश्न सोध्नसक्ने बनाउने र नागरिकस्तरबाट प्रभावकारी अभ्यास गर्नसके मात्र सूचनाको हकबाट लोकतन्त्र सुदृढ हुने विश्वास व्यक्त गरे ।

सूचनाको हकका अभियन्ता उमिद बागचन्दले नागरिकलाई सशक्त बनाउन सूचनाको हक प्रभावकारी माध्यम भएको बताए ।

संविधानको धारा २७ मा प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै विषयको सूचना माग्ने र पाउने हकको व्यवस्था छ । संवैधानिक हकको प्रचलनका लागि सूचनाको हकसम्बन्धी ऐन, २०६४ मा व्यवस्था भएअनुसार सूचनाको हकको संरक्षण, सम्वद्र्धन र प्रचलनका लागि आयोगको स्थापना गरिएको हो । विसं २०६५ वैशाख २२ गते आयोगको स्थापना भएको हो । सूचनाको हकलाई संविधानले मौलिक हकका रुपमा स्थापित गरेको छ ।

हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट काम पुरस्कृत

कार्यक्रममा सूचनाको हकसम्बन्धी उत्कृष्ट काम गर्ने सूचना अधिकारी र अभियन्ताहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट पुरस्कृत गरिएको छ ।

पुरस्कृत हुनेमा ‘विनय कसजु उत्कृष्ट अभियन्ता’ पुरस्कारबाट सिराहा नगरपालिका-७ का पर्शुराम साह, पोखरा महानगरपालिका(१६ का यदुनाथ बञ्जरा, हेटौँडा उपमहागरपालिका-८ का इन्दप्रसाद बन्जरा र मेलम्ची नगरपालिका-१० का आदित्य दाहाल छन् ।

यसैगरी उत्कृष्ट सूचना अधिकारी पुरस्कारबाट पञ्चदेवल विनायक नगरपालिका अछामका ललितबहाुदर बुढा, घ्याङलेख गाउँपालिका सिन्धुलीका किशोरकुमार वाइबा, गल्कोट नगरपालिका बाग्लुङका तुलबहादुर विक, दङ्गीशरण गाउँपालिका दाङका टेकबहादुर खत्री र धनकुटा नगरपालिका धनकुटाका सूचना अधिकारी डम्बर रोगुलाई पुरस्कृत गरिएको छ ।

उत्कृष्ट कर्मचारी पुरस्कारबाट आयोगका शाखा अधिकृत हरिहर कार्की, नायब सुब्बा शान्ता न्यौपाने, लेखापाल लक्ष्मण अर्याल र कम्प्युटर अपरेटर गौरव गुरुङ पुरस्कृत भएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  १ : १३ बजे

कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै

बागलुङ । कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो

बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी

झापा । राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ यान्चोकस्थित आँधीमूलमा निर्माणाधीन कृत्रिम तालमा

आजको मौसम : देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनका साथै