बुटवल । अलिवर्ष पहिले सम्म बुटवलको जितगढी पुग्दा घना झाडी, टोलबासीको फोहर फल्ने ठाउँ र लागुपदार्थ सेवन गर्नेहरुको अँखडा बनेको थियो । न पुग्ने गेट थियो न भित्र पसेर बस्ने ठाँउ । कुरोको झाडीले जितगढी पुगेर फर्कँदा लगाएको कपडा नष्ट हुने गर्दथ्यो । स्थानीयबासीहरु कहिलेकाहीँ भोजभतेर गर्न जितगढीको जग्गा उपयोग गर्थे । इतिहासमा सिंङ्गो नेपालको शिर उँचो बनाउने जितगढी नेपालीहरुका लागि मालपाएर चाल नपाएको जस्तो बनेको थियो ।
तर अहिले जितगढीको मुहार फेरिएको छ । पहिलेको जितगढी र अहिलेको जितगढीमा आकाश र जमिनकै जस्तो फरकपन आएको छ । ‘अंग्रेज-गोर्खा युद्ध’ को महत्वपूर्ण इतिहास बोकेको रुपन्देहीस्थित जितगढी किल्ला अहिले इतिहास पढ्ने विश्वविद्यालय जस्तै बनेको छ । जितगढी नजिकै घर भएका स्थानीय संजय कुमार श्रेष्ठलाई जितगढीले मुहार फेरिएला जस्तो लागेकै थिएन । अनावश्यक झारपातले ढाकिएको जितगढी पस्नै घिन लाग्थ्यो उनलाई । तर अहिले उनलाई जितगढी रमाइलो लाग्ने गर्दछ । हरेक दिन घुम्न आउने पर्यटकले जितगढी निकै रमाइलो भएको श्रेष्ठ बताउँछन् । ‘पहिले जितगढी भनेर कोही आउँदैन थिए,’ उनले भने, ‘अचेल मान्छेहरु जितगढी खोज्दै आउँछन् ।’
सन १८१४ यता भारतमा शासन गरिरहेको अंग्रेजको सेनालाई नेपाली सेनाले पटक पटक हराएको स्थान राणा, पञ्चायत र बहुदलबादीहरुले बेवास्ता गर्दा खण्डहर जस्तै बनेको थियो । राणाको परिवार स्वार्थको शासन तथा पञ्चायतको राजारङ्कहरु मात्र मोटाउने ब्यवस्थाले जितगढीलाई कहिले पनि सम्झेन । राज्यकै कुदृष्टीका कारण सयौं वर्ष इतिहासको गौरव बोकेको जितगढी एकादेशको कथा जस्तै बनेको जितगढीका अभियन्ता जिउँदा इतिहास रबिन्द्र गोपाल लाकौल बताउँछन् । स्थानीयबासीको तर्फबाट लगातार पहल गर्दापनि राज्यले नसुनेका कारण जितगढी ओझेलमा परेको उनी बताउँछन् ।
लाकौलकै संयोजकत्वमा बनेको बटौली संरक्षण सम्बर्धन केन्द्रको अगुवाईमा भएको लगातारको प्रयासले गणतन्त्र स्थापना भएपछि भने जितगढीको मुहार फेरिएको छ । आफुहरुको प्रयासले सार्थकता पाएको प्रति लाकौल अचेल दङ्ग छन् । ‘स्थानीय सरकार, नेपाली सेना र दलका नेताहरुले हाम्रोे आवाज सुनिदिए,’ उनी भन्छन्, ‘सेनाको सक्रियताले नै जितगढीको मुहार फेरियो, त्यसमा स्थानीय सरकारको पनि ठुलो योगदान छ ।’
अघिल्लो स्थानीय तहको कार्यकालमा नेपाली सेनाको सक्रियतामा भौतिक निर्माणका साथै पुरातात्विक सम्पदाको संरक्षण भएपछि र त्यसलाई निरन्तरता दिँदै बुटवल उपमहानगरको वर्तमान नेतृत्वले अपनत्व लिएसँगै जितगढीको मुहार फेरिएको हो । राष्ट्रियताको प्रतिबिम्बका रुपमा स्थापित युद्ध ईतिहासको ‘ऐतिहासिक र पुरातात्विक सम्पदा’ ‘जीतगढी अर्थात उजीरसिंहगढी’ यतीबेला सबै पुग्नै पर्ने एक गन्तव्य बनेको छ । यो गढीमा झण्डै २ सय वर्ष पुराना युद्धसम्बन्धी जीवन्त ऐतिहासिक वस्तु तथा प्रमाण भेट्न सकिन्छ ।
ईतिहासकार प्राध्यापक डाक्टर तेजबहादुर श्रेष्ठले बेलायतको एक संग्रालयमा भेटेको जितगढीको चर्चासहितको सामाग्री भेटिएपछि मात्र जितगढीको विषयमा नेपालमा बहस हुन थालेको इतिहासका ज्ञाता रबिन्द्र गोपाल लाकौल बताउँछन् ।
अमरसिंह थापाको समयमा भएको ‘अंग्रेज-गोर्खा युद्ध’मा पाल्पाको गोर्खा फौजको कमाण्ड कर्णेल उजीरसिंह थापाले सम्हालेका थिए । रणपतिका रूपमा लडाई लड्दा कर्नेल उजिरसिंह थापा १८ वर्षका नवयुवक थिए । जीतगढी सेनकालमा बनेको थियो वा पाल्पा गोर्खामा विलय भएपछि बनाइएको थियो भन्ने तथ्याङक आज पनि प्रष्ट छैन ।
संवत् १८७१ मा स्थल मार्गबाट अंग्रेजले बृहत गोर्खा अधिराज्यसित ६-७ ठाउँबाट युद्ध सुरुगरेकोमा तत्कालीन युद्धमा अंग्रेज फौजलाई परास्त गर्न जितगढी किल्लाका नेपाली फौज सफल भएका थिए । मकवानपुर-चितवन क्षेत्र, बारा-पर्सा-रौतहट, मिथिलाक्षेत्र र बुटवलको जीतगढी क्षेत्र युद्धबाट नेपाल जोगाउनका लागि किल्लाको रुपमा स्थापित गरिएको थियो । जीतगढीलगायतका किल्लाहरु गोर्खा फौज डटेर नलडेको नेपालको मध्य खण्डको भाग पनि गुम्ने निश्चित भएको इतिहासकारहरुको भनाई छ ।
कम्पनि सरकार र नेपाल सरकार संग भएको सन् १८०१ को सन्धीको धारा ५ मा ‘दुई देशबीच सिमा सम्बन्धी विवाद भएमा न्याय र अधिकारको सिद्धान्तको आधारमा दुवै देशका प्रतिनिधि बसेर सिमाना निर्धारण गर्ने’ भन्ने व्यहोरालाई समेत बेवास्ता गर्दै कम्पनि सरकारले पूर्वको बाइस गाउँ, बुटवल र स्यूराजको खिचलो उठाएको थियो । ब्यापारीक नाका कब्जागर्ने उद्देश्यले नै अग्रेजले बटौली र सिब्राज किल्ला कब्जा गर्न आक्रमण गरेको बताइन्छ ।
बुटवल क्षेत्रमा हमला गर्न मेजर जनरल जोन सुलिमान उड एक हजार अंग्रेजी सेना र तीन हजार हिन्दूस्तानी फौज लिई वनारस गोरखपुर बुटवल हुदै पाल्पा हान्ने कम्पनी सरकारको योजना जितगढी किल्लाबाटै नेपाली सेनाका कप्तान कर्णेल उजिर सिंह थापाको कमाण्डले असफल बनाइदिएको थियो ।
नेपाली सेनाको साहस, रणकौशल र आत्मविश्वास देख्दा अंग्रेज जनरल जोन सुलिभान उडको जोश हराइसकेको थियो । सधै रक्षात्मक युद्ध लढ्ने गोर्खाली फौज एक्कासी आक्रमक शैलीमा प्रस्तुत भएपछि उडको दिमागले ठाउ छाडी सकेको इतिहास साझी छ । लगातार घरेलु हतियारको साथमा युद्ध लड्दा पनि गोर्खाली फौजपछि हट्ने छाँट नदेखाएपछि आफ्नो सहयोगी हार्डीम्यानसंग सल्लाह गरी जनरल उडले युद्ध भूमि छाड्ने आदेश दिएका थिए । उडको आदेशसँगै अंग्रेज फौज युद्ध मैदान छाडेर भागेको थियो ।
‘युद्ध, त्यसमा पनि नेपालीले जितेको युद्ध त्यसैले जितगढीलाई सम्पूर्ण नेपालीले थाहा पाउनु पर्दछ ।’ बुटवलका पुराना लेखक तथा इतिहासका ज्ञाता देबेन्द्रराज शाक्यले भने, ‘हरेक नेपालीले एक पटक आफ्नो पुर्खाले जितेको ठाँउ हेर्नु पर्दछ ।’ फूलबारी, वनवाटिका जति आन्तरिक पर्यटक जाने गर्दछन् त्यती जीतगढीमा नआएको बताउँदै उनले धेरै नेपाली गढीमा आउने वातावरण बनाउन उपमहानगरलाई आग्रह गरे ।
विश्व विजेता अंग्रेजहरुलाई धुलो चटाउन सफल जितगढीले जोगाएको हाम्रो शान माथी नेपालका धेरै शासकहरुले शासन गरिसकेका छन् । उजिरसिंह थापाको नेतृत्वमा रहेको फौजले पराक्रम र चलाखी देखाई यसै गढीमा बसेर कम्पनी सरकारको फौजलाई हराएकोले यस गढीलाई जीतगढी भनिएको ईतिहांसकारको तर्क छ ।
पाँच सय वर्गफिट इलाकामा फैलिएको यो गढी पूर्वपश्चिम लम्वाई २०५ फिट छ र चौडाई करिव ५५ फिट छ । गढीको जग निकै फराकिलो छ र गढीको गारो क्रमशः माथितिर सांगुरो हुंदै गईराखेको छ । गढीको भित्री भागबाट पर्खालको उचाई ४ फुट ३ इन्च र १० इन्च चौडा छ । भित्ताको मोटाई ८ फुट ४ इन्च छ । गढीको भित्री भाग खुल्ला छ । यो गढीको निर्माण ईटा र सुर्खीको प्रयोगबाट भएको छ । किल्ला निर्माण गर्दा करीव बाह्र लाखदेखि पन्ध्र लाख ईटा प्रयोग भएको अनुमान छ ।
गढीमा शत्रुले आक्रमण गरेको बेला प्रत्याक्रमण गर्ने बुर्जा अर्धगोलाकार रुपमा निर्माण गरिएको छ । वुर्जाहरुमा चरहरु बनाइएका छन् । यी चरहरु बन्दुक छिराई आक्रमण गर्न सजिलो हुने हिसाबले निर्माण गरिएको हो ।
नेपाली सेनाले नेपालका गढीहरुको संरक्षणमा चासो देखाएसँगै जीतगढीमा कर्णेल उजिर सिंहको पहिचान स्थापित गर्न उनको पूर्णकदको सालिक निर्माण गरिएको छ भने त्यससँगै अंग्रेज नेपाल युद्धमा साहादात प्राप्त गरेका नेपाली वीरहरुको अर्धकदको सालिक पनि निर्माण गरिएको छ । युद्ध स्थलमा थियटर शैलीमा मञ्च निर्माण गरेर गोलाकार पाराफिट बनाइएको छ भने त्यसैको मुनी अण्डरग्राउन्ड युद्ध झल्कने फोटो प्रदर्शनी समेत गरिएको छ ।
पश्चिम नेपालको व्यापारिक केन्द्र तथा प्रदेश राजधानी बुटवल उपमहानगरपालिका वडा नम्बर १ को जितगढि किल्ला पूरानो बटौली शहरको तिनाउ नदि किनारमा छ । नेपाली सेनाले पुननिर्माण, संरक्षण र जिर्णोद्वार गरेर गत वर्ष मात्र जीतगढी किल्ला बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो ।
गढीलाई व्यवस्थित र नियमित संचालन गर्न बुटवल उपमहानगरले जीतगढी संचालन तथा व्यवस्थापन कार्यविधि-२०८० तयार गरेको जनाएको छ । कार्यविधिले तोकेको मापदण्ड पालना गर्दै आगामी विजय उत्सवदेखि जीतगढीलाई नियमित प्रवेश खुल्ला गरेर संचालन गर्ने योजना बनाइएको उपमहानगरका शहरी पूर्वाधार महाशाखाका प्रमुख गौतम रौनियारले बताए ।
उपमहानगरले बनाएको कायविधिमा नेपाली सेनाका प्रधान सेनापतिलाई संरक्षक बनाइएको छ भने उपमहानगर प्रमुखको अध्यक्षतामा १३ सदस्सीय जीतगढी किल्ला व्यवस्थापन समिति बनाइएको छ । समितिमा नेपाली सेनाको प्रितनापति, बाहिनीपति, प्रमुख जिल्ला अधिकारी, इतिहासकार, प्रहरी प्रमुखलगायतको सदस्य रहने व्यवस्था गरिएको छ । कार्यविधिमा प्रवेश शुल्कको व्यवस्था गरिनुका साथै भ्रमण गाइडको समेत उपलब्धतालाई सुनिश्चित गरेको छ ।
व्यवस्थापन समितिको पहिलो बैठकबाटै कार्यविधि कार्यान्वयन गराउने योजनाकासाथ काम भइरहेको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय बताउँछन् । विगतमा पुरातात्विक विभागसँग समन्वय नगरि भौतिक निर्माण भएकाले विभागले गढीमा आउन रुची नदेखाएको मेयर पाण्डेयले बताए । उनका अनुसार सेनाको समन्वयमा पुरातात्विक विभागलाई जीतगढीमा आमन्त्रण गरिएको छ । पुरातात्विककै निर्देशनमा अन्य बाँकी काम गर्ने गरि उपमहानगरले योजना बनाएको उनले बताए । विभागको मापदण्डलाई असर नपुग्ने गरि तिनाउ किनारमा सन्ध्या आरती स्थल निर्माणको योजना बनाइएको पनि मेयर पाण्डेयले बताए ।
मध्येकालिन नेपालको ऐतिहासमा महत्वपूर्ण स्थान राख्ने सेनवंशी राजाहरुको पालामा बनेको यो गढी किल्लाले नेपालको एकिकरणमा समेत महत्वपूर्ण भूमिका खेलेको छ । यस गढीको संरक्षण र प्रचार-प्रसार हुन सके बुटवल क्षेत्रकै अतितको गौरवमय इतिहासलाई सम्झाउदै सांस्कृतिक पर्यटनको विकासमा महत्वपूर्ण भुमिका खेल्ने निश्चित छ ।
प्रतिक्रिया