खजुरा । आफ्नै पालिकाका प्राबिधिक कुटेर चर्चा कमाएका बाँके खजुरा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गरिबे शेखले पार्टीको कार्यक्रम गर्न गाउँ पुगेका माओवादी बैद्य समुहका कार्यकर्तामाथि आक्रमण गरेका छन् ।
आज मध्यान्ह नियमित कार्यक्रम अन्तर्गत पार्टीको कार्यक्रम गर्न खजुरा ५ पुगेका बैद्य माओवादीका कार्यकर्ताहरुलाई वडा अध्यक्ष शेखको अगुवाईमा आक्रमण गर्दै कुटपिट गरिएको छ । गरिबे नेतृत्वको समुहको आक्रमणबाट कम्तीमा ५ जना सो समुहको कार्यकर्ताहरु घाइते भएका छन् । आक्रमणबाट कृष्ण शाह, प्रेम थापा, खेरण चौधरी, तिलक गिरि र जगत ओली घाइते भएको बैद्य माओबादी स्रोतले जनाएको छ । घाइतेहरुको भेरी अस्पतालमा उपचार भै रहेको छ ।
३ जना राजनीतिक कार्यकर्ताहरु सामान्य घाइते भएको र दुई समुहबीच हातहालहाल भएको बाँके प्रहरी प्रमुख सुवासचन्द्र बोहोराले बताए ।
वडा अध्यक्ष शेखले भने सुरक्षा भत्ता बाँडिरहेको स्थानमा झण्डा सहित आएका ९ जनाको समुहले पहिले आफुमाथि आक्रमण गरेको र गाउँलेले प्रतिकार गर्दा ४ जना समातिएको र ५ जना भागेको बताए ।
मंगलबार मात्र आफै बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष रहेको खजुरा ६ को एक बिद्यालयमा बिना नापजाँच कार्य सम्पन्न प्रतिबेदन नबनाएको भन्दै वडा अध्यक्ष गरिबेले गाउँपालिकाका प्राबिधिक लिलाराज धामीलाई मुक्का प्रहार गरेका थिए ।
प्रतिक्रिया