काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललिता निवासको सरकारीे जग्गा हिनामिना प्रकरणसम्बन्धी प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले उक्त प्रकरणको अनुसन्धान प्रतिवेदन प्राप्त भएको जानकारी दिएका छन् ।
सीआईबीले जग्गा हिनामिना प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित साढे २ सय जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिएको छ ।
सीआइबीले उक्त प्रकरणमा संलग्न भनिएकाहरुसँग आइतबार राति पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईको बयान लिएको थियो । यस्तै, सोमबार नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी, पूर्वराज्यमन्त्री सञ्जय साह (टक्ला) लगायतको बयान लिएको थियो ।
बालुवाटारस्थित ललिता निवास जग्गा व्यक्तिको नाममा गरी हिनामिना भएको विषय हाल विशेष अदालतमा विचाराधीन छ । सीआईबीले सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्दा सरकारी कागजात तथा दस्तखत कीर्ते प्रकरणमा अनुसन्धान अगाडि बढाएको थियो ।
प्रतिक्रिया