बुटवल । बुटवल उपमहानगरले उपमहानगर क्षेत्रमा खुल्ला दुधको बिक्रि बितरणमा प्रतिबन्ध लगाए पनि बुटवलका डेरी उद्योगहरुले उपमहानगरको निर्णयलाई धज्जी उडाइदिएका छन् । उपमहानगरले खुल्ला दुध बिक्रि वितरण नगर्न सूचना जारी गरेको झण्डै एक वर्ष बढी हुँदा पनि डेरी उद्योग सम्म सूचनाको कुनै प्रभाव पर्न सकेको छैन ।
बुटवलका शहरी क्षेत्रमा बिहानै चोक चोकमा सिधै उपभोक्तालाई डेरी उद्योगहरुले संकलन गरेको भनिएको खुल्ला दुध बेचबिखन हुने गरेको मात्र होईन पसलमै राखिएका दुधहरुपनि कुनै परिक्षण बिना प्लास्टीकको ब्यागमा रबरले बाँधेर बेच्ने गरिएको छ ।
उपमहानगर सहितको अनुगमन टोलिले आज बुटवलमा गरेको ९ वटा डेरी उद्योगका दुध बितरण केन्द्रहरुमा अनुगमन गर्दा सबै पसलमा परिक्षण र प्याकेजिङ बिना रबरले बानिएका पोके दुध बेच्ने गरेको फेला परेको छ । ९ वटा डेरी मध्य बुटवल उपमहानगरपालिका ९ तिनकुनेमा रहेको मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारले त अखाद्य तथा गुणस्तरहिन समाग्रीहरु बेच्ने गरेको अनुगमन समितिले फेला पारेको छ ।
बिगतमा समेत अत्यन्त फोहर उत्पादन स्थल भेटिएर चेतावनी पाएको सो उद्योगबाट यस पटक ठुलो परिणाममा अखाद्य बस्तु फेला पारी नष्ट गरिएको हो । बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, उपभोक्ता हित संरक्षण मञ्च बुटवल , डेरी व्यवयासी संघ, नगरप्रहरी सहितको टोलीले बुधबार बिहान अनुगमन गर्ने क्रममा मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारबाट अखाद्य भईसकेका करिब ३० केजी समाग्री नष्ट गरिएको बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मुल्यांकन शाखा प्रमुख ठगीश्वर पोखरेलले जानकारी दिए । उनले ढुसी लागिसकेको घोटेर राखिएको कुराउनी २५ केजी, ३ केजी पनिर र ३ केजी रसबरी मिठाई अखाद्य भएकोले नष्ट गरिएको जानकारी दिए । थप कारवाहीको लागि उपमहानगर कार्यालय बोलाईएको बताउँदै उनले बरामद दुधको गुणस्तर परिक्षणको रिपोर्ट आएपछि कानुन बमोजिम कारवाही गरिने बताए ।
अनुगमनमा सहभागी उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले पनि मनकामना डेरिको विषयमा पटक पटक जनगुनासो आउने गरेअनुरुप नै अनुगमन गर्दा अखाद्य बस्तु सधै फेला परेको बताए । उनले ४ पटक सम्म सुधार गर्ने मौका दिँदा पनि सामान्य सो उद्योग सुधारउन्मुख नहुनु राम्रो नभएको बताए ।
उपमहानगरका अनुगमनले हरेक पटक अनुगमनमा कैफियत भेटिएकालाई सम्झाई बुझाईमा सिमित राख्ने भएकाले दण्डहिनता बढेको उपभोक्ताहरुको गुनासो आउने गरेको छ । वर्षौ देखि गलत धन्दा गर्दै आएका त्यस्ता ब्यवसायीलाई सम्झाई बुझाई वा सामान्य जरिवाना लगाएर बजार नसुध्रने एक उपभोक्ताले नाम नबताउने सर्तमा खबरकुरालाई भने ।
यता मनकामना डेरीकी सञ्चालक राधिका रिजालले अखाद्य भनिएका बस्तुहरु हिजो मात्रै बनाईएको भन्दै अनियमित बिद्युतका कारणले गन्ध आएको हुन सक्ने बताएकी छन् । उनले अघिल्लो पटकको अनुगमनपछि धेरै नै व्यवस्थीत गरेको बताईन् ।
अनुगमनका क्रममा कालिकाचोकमा खुल्ला रुपमा बिक्रि भईरहेको दुध, तथा बिभिन्न १० स्थानका दुध डेरी तथा बिक्रेता हरुसंगबाट दुधको नमुना लिएर खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयमा पठाईएको अनुगमन तथा मुल्यांकन शाखा प्रमुख पोखरेलले बताए । उनले खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयले दिएको रिपोर्ट अनुसार आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाउने बताए ।
बुटवल उपमहानगरले झण्डै एक वर्ष पहिले बुटवल उपमहानगरमा ‘पास्टाराइजेशन’ गरि उत्पादकको लेबल र ब्याच नम्बर हालेर मात्र दुध बेच्न पाइने गरि सूचना जारी गरेको थियो । त्यस बाहेकको खुल्ला दुधको बेचबिखनलाई उपमहानगरले पूर्णरुपमा निषेध गरेको थियो ।
अनुगमन समितिले सिद्धिबिनायक डेरी बुटवल ९, देवदह गोरस घर बुटवल ९, सिद्धिगणेश भद्रकाली बहुउद्देशीय सहकारी बुटवल ८, डिङ्गनगर दुर्गामी बहुउद्देश्यीय बुटवल ७, हिलपार्क दुध डेरी एण्ड मिलक बार बुटवल ८, सालझण्डी दुघ्द उत्पादक सहकारी बुटवल ८, पाल्पाली डेरी उद्योग, बुटवल ९, न्यु भैरव दुघ्द सप्लायर्स बुटवल ९ र मनकामना दुध डेरी उद्योगमा अनुगमन गरेको थियो । परिक्षण र प्याकेजिङ बिना दुध बेच्ने ब्यवसायीलाई कारवाही गर्ने बिषयमा भने पोखरेलले केही प्रतिक्रिया दिएनन् ।
प्रतिक्रिया