भैरहवा । रुपन्देही प्रहरीले समाचारका झुटो विवरण दिई विभिन्न सञ्चारमाध्यममार्फत नेपाल प्रहरीको बदनाम गराउन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार सिद्धार्थनगर नगरपालिका–१२ स्थित जिल्ला प्रहरी कार्यालयको गेटअगाडि स्टेसनरी व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी भानबहादुर अधिकारीलाई सरकारी छाप कीर्ते अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले पक्राउ परेका अधिकारीबाट एकथान ल्यापटप र जिल्ला प्रहरी कार्यालयको सरकारी छाप बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले विज्ञप्तिमा जनाएका छन् ।
अभियुक्त अधिकारीले आफ्नो स्टेसनरीबाट प्रहरीको निवेदनलाई स्क्यान गरी विवरण थपघट गरी आफ्नो व्यक्तिगत इमेल आइडीबाट विभिन्न सञ्चारमाध्यममा जिल्ला प्रहरी कार्यालयको सरकारी छापसमेत प्रयोग गरी झुटो भ्रामक विवरण प्रेषित गरेको पाइएको डीएसपी अर्यालले जानकारी दिए ।
उनले प्रहरीमा दर्ता भएको उजुरीको स्क्यान पेपरमा सप्पादन गरि थपघट गर्ने र प्रहरीले निबेदन दर्ता गरे बापत रकम लिएको विरण स्थानीय सञ्चारमाध्यममा पठाउने गरेको समेत पाईएको डीएसपी अर्यालले बताए ।
पक्राउ परेका अधिकारीलाई रुपन्देही जिल्ला अदालतबाट सरकारी छाप कीर्ते मुद्दामा सात दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका अधिकारी जिल्ला प्रहरी कार्यालयबाटै हवल्दार पृन्सन लिएर कार्यालयको गेट अगाडि स्टेसनरी पसल गरेर बसिरहेका व्यक्ति हुन् ।
प्रतिक्रिया