काठमाडौं । काठमाडौंमा जारी आईसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ३ विकेटले हराएको छ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई १८ बल बाँकी हुँदै ७ विकेट गुमाएर जित निकालेको हो। नेपाललाई विजयी बनाउन कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट पारी खेलेका छन् । स्कटल्यान्डले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपाल ३ विकेटले विजयी भएको हो ।
सुरुवाती ब्याटिङमा एक पछि अर्को विकेट गुमाएको नेपाललाई मध्यक्रममा पुगेपछि मल्ल र ऐरीले कुशलतापूर्व सम्हालेका थिए । दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाउँदा कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाए ।
यसअघि टस जितेर फिल्डिङ रोजेको नेपाललाई स्कटल्यान्डले ५० ओभरमा २७४ रनको लक्ष्य दिएको थियो । स्कटल्यान्डका लागि मिकेल लेस्कले शतक प्रहार गरेका थिए। लेस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १०७ रनमा नट आउट रहे ।
नेपालका लागि सन्दीप लामिछानेले ३, कुशल मल्लले २, सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले समान १/१ विकेट लिए ।
प्रतिक्रिया