काठमाडौं । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भेट गरेकी छन् ।
सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सोमबार भएको भेट दुईको पारस्परिक सम्बन्ध, संसदीय अनुभव आदानप्रदानलगायतमा केन्द्रित थियो । सभामुखमा निर्वाचित भएपछि घिमिरेले भारतीय र चिनियाँ राजदूतसँग भेट गरिसकेका छन् ।
बेलायती राजदूत पोलिटसँगको भेटमा सभामुख घिमिरेले दुई देशबीच सरकार-सरकार मात्र नभई जनता-जनतामा पनि सम्बन्ध विकास भएको उल्लेख गरे ।
‘बेलायत नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो मुलुक हो,’ सभामुख घिमिरेले भने, ‘दुई देशबीच २ सय वर्ष पुरानो सम्बन्ध अविष्मरणीय छ । विकास साझेदारी र विश्वमा शान्ति स्थापनाका काममा हामी सँगै हिँडेका थियौँ ।’
बेलायत संसदीय व्यवस्थाको जननी भएको बताउँदै सभामुख घिमिरेले आगामी दिनमा संसदीय आदानप्रदानलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताए ।
जवाफमा बेलायती राजदूत पोलिटले नेपाल र बेलायतीबीच दौत्य सम्बन्ध कायम भएको एक सय वर्ष पुगेको अवसरमा नेपालमा उच्चस्तरीय भ्रमणको तयारी भइरहेको समेत जानकारी दिइन् ।
उनले विधायन निर्माण प्रक्रियामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन् । राजदूत पोलिटले गत निर्वाचनमार्फत नयाँ राजनीतिक दल र नयाँ प्रतिनिधिसभा सदस्य निर्वाचित भएको उल्लेख गर्दै संसदमा उनीहरुको उपस्थितिले नयाँपन आउने अपेक्षा गरिन् ।
प्रतिक्रिया