बुटवल । जुम्ला सिंजाका पूर्ण प्रसाद आचार्य बुटवल र यस आसपासमा जुम्लाको राडी, काम्लो, गर्लैचा, ब्लेङ्केट, कोट आस्टकोट बोकेर हिंड्न थालेको १६ वर्ष बढी भयो । कालो कपाल भएकै बेला बुटवल सामन बेच्न झर्ने गरेका आचार्यको अहिले कपाल फुलेर सेताम्य बनिसकेको छ । कपाल फुलेपनि बिहानै देखि लौ गलैंचा आयो…काम्लो आयो….गलैंचा आयो …..भन्दै चिच्याउँदै हिंड्ने आचार्यको दिनचर्या भने उस्तै छ । एकाबिहानै कालिका चोकमा जम्मा भएर एरिया बाँड्दै चिच्याउँदै घरघरमा घरयासी प्रयोगको सामान पु¥याउने उनको शैली जमाना जहाँ पुगेपनि उस्तै छ ।
दिनका कार्यशैली उस्तै भएपनि ब्यापार भने दिनदिनै सुक्दै गएको छ । २ वर्ष पहिले सम्म हरेक दिन कम्तीमा ५ देखि १० थान सामान बेचेर कोठामा फर्कने गरेका पूर्णप्रसादको अचेल त कतिपय दिनमा ‘बोहोनी’ पनि हुँदैन । २,३ दिनमा एउटा गलौंचा वा राडी बेचेर खर्च धान्न निकै कठीन भएको आचार्य बताउँछन् । अलि वर्ष पहिले सम्म सामान बेचेरै खर्च धान्ने मात्र नभएर बचेको पैसाले कैलाली र बर्दियामा जग्गा पनि किन्न सक्ने अवस्था रहेको तर कोरोना पछि आएको मन्दीले व्यवसायमा ठुलो असर परेको उनी बताउँछन् । ‘हाम्रो ब्यापार बोलीको ब्यापार हो, मान्छेलाई चित्त बुझाएरै किन्ने चाहना नभएकालाई पनि किनौं किनौं बनाउने हाम्रो कला हो, तर अहिले जति फकाएपनि मान्छेले किन्दैनन्,’ उनले भने, ‘८० प्रतिशत ब्यापार डाउन छ ।’
कालिकोट खाँडाचक्र नगरपालिका ८ का मनिराम चौलागाईले बुटवललाई मुख्य बजार बनाएर घरयासी सामान बेच्न थालेको २० वर्ष भन्दा बढी भयो । उनी त जुंगाको रेखि बसेदेखि नै गलैंचा बेच्न बुटवल झरेका थिए । माओवादी जनयुद्धले गाँउमा बस्ने वातावरण नभएपछि मधेस झरेका उनी कलिलै उमेरबाट गलैंचा बेच्ने काममा लागे । यसपटक भने उनलाई आर्थिक मन्दीसँगै मौसमले पनि साथ दिएन । घरबुना स्विटर, कोट र काम्लो बेच्ने गरेका चौलागाईको ब्यापारमा जाडो नबढेपछि असर पु¥याएको छ । चिसोले कठाङ्ग्रीएपछि किन्ने सामान पुसको १५ जान लाग्दा पनि जाडो नभएपछि बिक्रि नभएको चौंलागाईको ठहर छ ।
आइतबार बिहानै कालिका चोक नजिकै कल्पना चिया पसलमा चिया पिउन पुगेका चौलागाईले पसलेहरुको भन्दा आफुहरुले बेच्ने सामान धेरै सस्तो पर्ने गफ लगाउँदै थिए । ‘पसलेले डिलरबाट किन्ने हुन्, घरभाडा, स्टाफ खर्च, सरकारी कर लगायतका सबैं ब्यहोर्दा हाम्रो भन्दा महङ्गो पर्ने नै भयो ।’ उनी भन्दै थिए,’हामी सिधै उद्योगबाट किन्छों, आफै मिहनत गरेर घरघर बेच्न पुग्छौं हाम्रो सामान सस्तो त परिहाल्छ नी ।’ खबरकुराको तपाईहरु कर तिर्नु हुन्न ? भन्ने प्रश्नको निकै हतारिएर जवाफ दिएका उनले सबैले पानमा दर्ता गरेर कारोबार गरिरहेको बताए । ‘ईपान लिएर कारोबार गरेका छौं ।’ उनले भने ।
चौलागाईले आफ्नो व्यवसायलाई एक प्रकारको नेटवर्क बिजनेश जस्तै भएको तुलना गरे । आफुहरुको उपभोक्ता र उद्योगसँग सिधै नेटवर्क भएको उनले दाबी गरे । ब्यापार घट्नुमा गाँउमा पसलहरु खुलेर होकी भन्ने जिज्ञासामा उनले भने, ‘गाँउमा खुलेका पसलले हाम्रो ब्यापारमा फरक पर्दैन, हाम्रो ब्यापार रिटेलिङ ब्यापार हो, ‘टेक्निक’ लगाएर बेच्ने हो । मुख्य समस्या त मौसम र मन्दी नै हो ।’
आफुहरुले खरिद गर्ने ठाँउ कतिपय ब्यापारी र उपभोक्तालाई थाहा नै नहुने पनि उनले बताए ।
२०५८ सालमा भारी बोकेर गलैंचा बेच्न बुटवल झरेका कालिकोट खाँडाचक्र ८ कै दिपक चौलागाईले भने बुटवलमा भ्याटमा फर्म दर्ता गरेर जुम्ला कालिकोटका रिटेलर ब्यापारीलाई सामान सप्लाई गर्ने गर्छन् । बुटवल कालिका चोकमा गोदाम र पसल राखेर बसेका उनको पसलबाट ३० बढी रिटेलरले हरेक दिन सामान लिएर घरघर सामान बेच्न जान्छन् । जुम्लामा बुनिएको लिउ (काम्लो), होजियारीको स्वेटर, गलैंचा, ब्लेङ्केट, तन्ना, फाइबर सिरक जस्ता घरमा प्रयोग हुने सामानहरु उनले गोदाममा राखेका छन् ।
शुरुमा रिटेलरबाटै ब्यापार शुरु गरेका चौलागाईले ब्यापारलाई विज्ञानसँग तुलना गरे । रिटेलिङ ब्यापार टेक्निकले नै चल्ने गरेको उनले बताए । उपभोक्तालाई चित्त बुझाउनु निकै कठिन काम भएको उनको ठहर छ । उनको पसलमा जुम्ला, कालिकोटमा बनेको भन्दा काठमाडौं, बिराटनगर बनेको समाग्री बढी भेटिएपछि किन यस्तो भन्ने जिज्ञासामा गाँउमा बसेर काम गर्ने मान्छेको कमी रहेको बताए । जुम्ला र कालिकोटमा प्रसस्त अल्लो उत्पादन हुने गरेपनि त्यसबाट बन्ने समाग्री निर्माणको पक्रिया र ढुवानीको लागतका कारण कर्णालीका हिमाली जिल्लामा अल्लोको ब्यवसायीक उत्पादन नगरिने गरेको उनी बताउँछन् ।
पछिल्लो समय गाँउमा राजनीति गर्ने मान्छेहरु, महिला र बृद्द नागरिकमात्र भेटिने गरेको चौलागाईले बताए । ‘पहूँच भएकाहरु साउदी मलेसिया, पहुँच नहुनेहरु कालापहाड(भारत) र त्यसबाट बचेकाहरु गलैंचा बेच्न नेपालका शरहमा हुन्छन् ।’ उनले भने । चौलागाई पनि माओवादी जनयुद्धका कारण घरमा बस्ने अवस्था नभएपछि एसएलसी दिने बेलामा परक्षिा नै नदिएर तराई झरेका थिए । गाँउमा बसे या त माओवादीमा भर्ति हुनु पर्ने या तत्कालिन शाहीनेपाली सेनाले माओवादी भन्दै दिने यातना खेप्नु पर्ने र बजारमा डेरा लिएर बसे माओवादीले सेनाको सुराकी भन्दै जनकारवाही गर्ने गरेपछि आफु कलिलै उमेरमा भारत काम गर्न गएको चौलागाईले बताए । आफुले घर छाड्नु परेपनि जनयुद्धले गाँउका चेतनास्तरमा आमुल परिवर्तन ल्याएको उनको ठम्याई छ ।
त्यसो त जुम्लामा परम्परा देखि नै चैत्र महिनामा मात्र जुम्ली घर फर्कने बाँकी महिनामा ब्यापार गर्न तराई झर्ने गरेको इतिहास रहँदै आएको छ । मार्सी धानको बिउ हाल्ने चैत्रमा भने जुम्लीहरु जिल्ला फर्कने गरेको परम्परा अहिले पनि केही बाँकी रहेको सिंजाका पूर्णप्रसादको स्विकारोक्ति छ ।
पूर्णप्रसाद जस्तै जुम्ला कालिकोटका ५ सय बढी रिटेलरहरु बुटवलमा डेरा लिएर बस्ने गरेका छन् । उनीहरु हरेक दिन बिहानै सामान बोकेर घरघ पुग्ने र साँझ डेरा फर्कने गर्दछन् । बुटवलका स्थानीयलाई थाहा नभएको बुटवलका गल्लीहरु उनीहरुलाई कण्ठ छ । बुटवल र यस आसपासका हरेक गल्ली चोक र कुनाकाप्चाबाट चिरपरिचित बनेका उनीहरु आर्थिक मन्दीका कारण निकै चिन्तामा परेका छन् ।
प्रतिक्रिया