काठमाडौं । रौतहट ३ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएर विजयी प्रभु साहले नयाँ पार्टी खोल्ने भएका छन् ।
निर्वाचनको मनोनयन दर्ता गर्नेक्रममा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका साहले नयाँ पार्टी खोल्न छलफल सुरु भएको जानकारी दिए ।
‘नयाँ पार्टी खोल्ने विषयमा छलफल चलिरहेको छ । तर के नाम राख्ने भन्ने निर्णय भइसकेको छैन,’ साहले न्युज कारखानासँग भने । तत्कालीन नेकपा सरकारको पालामा साह माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । माओवादी र एमाले दुवैमा उनी स्थायी कमिटी सदस्यसमेत थिए । तर अहिले उनी दुवै पार्टीमा छैनन् ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशमा साहको बलियो पकड देखिएको छ । रौतहट २ मा उनी निकट किरण साह विजयी भएका छन् । मोरङ ४ मा निर्वाचित योगेन्द्र मण्डलसमेत प्रभु साह निकट मानिन्छन् । त्यसैले उनीसँग तीनजना प्रतिनिधिसभा सदस्य छन् । मधेस प्रदेशमा प्रभु साह निकट तीन–चारजना निर्वाचित छन् । सबैतिरबाट पार्टी खोलेरै राजनीति गर्न सुझाव आएकाले नयाँ पार्टी गठनको आन्तरिक तयारीमा लागेको साहको भनाइ छ ।
प्रतिक्रिया