७ पुस २०८१, आइतबार | December 22, 2024

लोपोन्मुख कुशबधिया बस्ती विकासको पर्खाइमा, जस्ले खानेपानी दिन्छ उसैलाई भोट


२८ कार्तिक २०७९, सोमबार  

182
Shares

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका वडा नं ३ स्थित इन्द्रपुरको लोपोन्मुख कुशबधिया बस्ती विकासको पर्खाइमा रहेको छ ।

नेपालगञ्ज बजार र गाउँपालिकाको बजार नजिकै रहेको कुशबधिया बस्ती विकासको अवसरबाट बञ्चित रहेको छ । उक्त बस्तीमा खानपिन र रहनसहन परम्परागत अवस्थामा रहेको छ ।

“हामीलाई यो ठाँउको पनि विकास भए खुसी हुन्थ्यौँ”, जानकी गाउँपालिका–३ निवासी इदु कुशबधियाले भने, “वर्षौंदेखि भोट हाले पनि हाम्रो समुदायमा कुनै परिवर्तन भएको छैन ।”

स्थानीय ६७ वर्षीय कसबधियाले आफूहरुको अवस्थामा हिजोभन्दा खासै सुधार आउन नसकेको बताए । “म हिजो जस्तो अवस्थामा थिएँ, अहिले पनि त्यस्तै अवस्थामा छु”, उनले भने, “चुनावमा सडकबाट हिँडिरहेको देखिएको छ तर हामीसँग घरघरमा आएर भोट मागेका छैनन् ।”

उनले गाँस, बास र कपासको बढी समस्या भएको उल्लेख गर्दै भने, “न त व्यापार, व्यवसाय चलेको न कुनै रोजगारी छ ।”

कुशबधियाले झातो र सिलौटा बनाउन भारतबाट भारु १०० मा ढुङ्गा किनेर ल्याउने गरेको र सो ढुङ्गाको भारु १०० प्रहरीलाई बुझाउँदा त्यसबाट आफ्नो आयआर्जन हुन नसकेको बताए ।

बाँकेको जानकी गाउँपालिक– ३ इन्द्रपुरस्थित कुसबधिया बस्तीका समुदायले ‘सिलौटा खोप्ने, डोरी बाट्ने र बजारमा बेचेर घरखर्च चलाउने गर्छन् । तर अहिले उनीहरुको सो व्यवसाय पनि राम्रोसँग चल्न नसक्दा घर गुजारा गर्न धौधौ भएको कुसबधिया बताउँछन् ।

सोही स्थानकी २८ वर्षीया समरइया कुशबधियाले आफ्नो बस्तीमा पानीको पनि उचित व्यवस्था नभएको बताइन् । “जसले हामीलाई खानेपानीको जोहो गरिदिन्छ त्यसैलाई भोट हाल्छौँ”, उनले भनिन् । बस्तीमा भएका चार वटा चापकल (धारा) मध्ये तीन वटा सामुदायिकरुपमा स्थापना भए पनि एउटा चापकल (धारा) आफ्नै समुदायको मेहनत र श्रमबाट बनेको उनले बताइन् ।

समरइया कुशबधियाले आफ्ना बालबालिकाले मातृभाषामा पढाइ नभएका कारण बीचमा नै विद्यालय छाड्ने गरेको गुनासो गरिन् । उनले शिक्षालाई सरल र सहज बनाउनुपर्ने माग पनि गरिन् । “सानो कक्षामा हुञ्जेलसम्म पढ्छन् ठूलो भएपछि भाषाको समस्याले पढ्न छाडदिन्छन”, उनले भनिन् ।

इन्द्रपुरगाउँमा रहेको ऐलानी जग्गामा बसेका दुई बस्तीमा ६३ परिवार कुसबधियाको बसोबास छ । उनीहरूको सबैभन्दा ठूलो पिरलो आफ्नै जग्गा, जमिन नहुँदा कुशबधिया समुदायसँग डोरी र सिलौटा बिक्री गरेर जीविकोपार्जन गर्नुपर्ने बाध्यता रहेको छ ।

राष्ट्रिय जनगणना विसं २०६८ अनुसार, बाँकेको इन्द्रपुर, गनापुर र फुल्टेक्रा, मनिकापुरमा कुशबधियाको करिब पाँच सय ५२ जनसङ्ख्या रहेको छ । अधिकांशका घर झुपडी छन् । यसमध्ये सबैभन्दा बढी कुशबधिया समुदाय इन्द्रपुरमा रहेका छन् । तीमध्ये आगामी आमनिर्वाचनमा एक सय ५० जना मतदानमा सहभागी हुने बताइएको छ ।

जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले लोपोन्मुख जातिका रुपमा रहेका कुशबधिया सुमदायलाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत दुई सय ५० घरपरिवारलाई मासिक रु चार हजार र आठ बालबालिकालाई बालपोषण कार्यक्रमअन्तर्गत अनुदान दिइएको बताए ।

उनले लक्षित वर्गलाई सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा र स्वास्थ्यको प्रबन्ध भएको उल्लेख गर्दै आवास नभएका परिवारलाई आवासमा समेत सहयोग गरिने कार्यक्रम रहेको बताए ।

“कुशबधिया समुदाय बच्चाले जन्मनेबित्तिकै लोपोन्मुख जातिकारुपमा भत्ता पाउछन्”, प्रमुख प्रशासकीय अधिकृत डाँगीले भने ।

नेपाल सरकारले आर्थिकरूपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने हकको व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७९, सोमबार  १ : ४९ बजे

कालिका मानवज्ञानको उपलब्धि प्रदेशका अन्य विद्यालयहरुका लागि बलियो सिकाई : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कालिका मानवज्ञान विद्यालयले

सुनको मूल्य प्रतितोला एक हजार एक सय बढ्यो

काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ ।

पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ

चितवन । पाटेबाघ मार्ने उद्योगमा एक जनालाई पक्राउ गरिएको छ

एमाले सचिवालय बैठक पुस १० गते बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको

रवि लामिछानेविरुद्ध आज मुद्दा दर्ता हुँदै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत