काठमाडौं । यतिबेला एमाले नेता खिमलाल भट्टराईलाई ‘चोक्टा खान गएकी बढी झोलमा डुवेर मरी’ जस्तै भएको छ ।
राष्ट्रिय सभामा विपक्षी दलका सचेतक रहेका भट्टराईले पदबाट राजीनामा दिँदै रुपन्देही क्षेत्र नं. ५ मा उम्मेदवारी दर्ता गर्न काठमाडौंबाट हान्निँदै गए। यो क्षेत्र भट्टराईको गृह क्षेत्र हो । भट्टराईले २०७४ को निर्वाचनअघि पनि यसै क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवार बन्न प्रयास गरेका थिए । तर, त्यतिबेला माओवादीसँग गठबन्धन गरेको हुँदा उनको क्षेत्र माओवादीको भागमा पर्यो ।
तै पनि भट्टराईले आफ्नो क्षेत्रमा संगठन विस्तारका लागि यसबीचमा गच्छेअनुसार प्रयास गरे । उनकै प्रयासस्वरुप स्थानीय तह निर्वाचनमा परिणाम पनि एमालेका लागि सकारात्मक बन्यो । स्वभाविक रुपमा भट्टराई क्षेत्र नं. ५ का मुख्य दाबेदार थिए । र, उनलाई जिल्ला पार्टीले एकल सिफारिस पनि गरेको थियो ।
भट्टराई राष्ट्रिय सभामा पहिलोपटक प्रवेश गरेपछि गोलाप्रथाद्वारा आफ्नो कार्यकाल छानिँदा ६ वर्षेमा परेका थिए । तर, उनको खास इच्छा चाहिँ दुई वर्षे या चार वर्षेमा सीमित होस भन्ने नै थियो । नेकपा रहँदा भट्टराईसँगै लामो समय रहेका एक माओवादी नेता भन्छन्, भट्टराई राष्ट्रिय सभामा आउनै चाहेका थिएनन् । उनी ६ वर्षे कार्यकाल परेकोमा त्यतिबेला खुशी भएका थिएनन ।’ किनकी उनी अर्को प्रतिनिधिसभा निर्वाचन(२०७९)का लागि तयारी गर्ने पक्षमा थिए ।
भट्टराईले गरेको मेहनत तब खेर गयो, जब उनलाई टिकट नदिइ अध्यक्ष केपी शर्मा ओलीले तिलोत्तमा नगरपालिकाका पूर्वमेयर वासुदेव घिमिरेलाई दिए । त्यतिबेलै भट्टराई छाँगाबाट खसेजस्तै भएका थिए । राष्ट्रियसभाबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराउने अन्तिम तयारीमा रहेका भट्टराईले टिकट नपाएपछि आफ्नो लविङ तिब्र बनाएका थिए । र, एकै रातमा पुनः पासा पल्टाउँदै अध्यक्ष ओलीलाई कन्भिन्स गर्दै आफ्नो पक्षमा टिकट पाएका थिए । तर, त्यसअघि नै घिमिरेले ओलीको पत्र पाइसकेका थिए । घिमिरेले समेत आफ्नो सबै तयारी पुरा गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउन हिँडेपछि उनको टिकट रद्द गरेको सूचना पाएका थिए । यो सूचनाबारे घिमिरेलाई साथ सधैं साथ दिँदे आएका उपाध्यक्ष विष्णु पौडेल पनि अचम्मित भएका थिए । तर, काठमाडौंमा भट्टराईले अध्यक्ष ओलीको सच्चाइएको पत्र बोकेर भैरहवाका लागि एयरपोर्टमा जहाज कुरिरहेका थिए, घिमिरेले निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराएसकेका थिए । घिमिरेसँग पनि पार्टीको आधिकारिक पत्र थियो, उता भट्राईले पनि आधिकारिक नै पत्र बोकेरै क्षेत्र नं. ५ को निर्वाचन कार्यालयमा पुगे र आफ्नो उम्मेदवारी दर्ता गराए ।
रुपन्देही जिल्ला पार्टीका नेताले समेत पछिल्लो पत्र नै आधिकारिक भएको दाबी गर्दै भट्टराई नै अधिकारिक उम्मेदवार भएको जिकिर गरिरहेका थिए । तर, निर्वाचन आयोगले सोमबार भट्टराईको उम्मेदवारी खारेज गर्दियो । एउटै पार्टीबाट दुई जनाको उम्मेदवारी परेमा जसले पहिला दर्ता गराउछ उसैलाई आधिकारिकता दिने निर्वाचन निर्देशिका २०७८ को दफा १९ को ९ मा व्यवस्था रहेको छ । यही व्यवस्था अनुसार वासु घिमिरे एमाले पार्टीको आधिकारिक उम्मेदवार बने । खिमलाल भट्टराई खोटो मोहोर फर्किए झैं रुपन्देहीबाट काठमाडौं फर्किन बाध्य बने ।
अब, भट्टराई न त राष्ट्रियसभाको सदस्य रहन पुगे, न त प्रतिनिधिसभाको उम्मेदवार नै बन्न पुगे । पार्टीभित्रको असमझदारी र असमन्वयका कारण भट्टराईको पद गुम्यो, उम्मेदवारी पनि पनि गयो । यद्यपी, चित्त शान्त बनाउन भट्टराईले भनेका छन्, ‘ जसले टिकट पाएपनि एमालेका देशभरका उम्मेदवारले जित्नुपर्छ भन्ने मेरो मान्यता हो ।’
अध्यक्ष ओली धेरै जान्ने पल्टिँदा धेरै बाठो बन्न खोज्दा रुपन्देही ५ मा एमालेले बल्ड्याङ खाएको छ । भट्टराईको मन कुँढिदा वासुको विजयी यात्रा त प्रभावित हुन सक्नेछ नै (यस्तो वासुको हकमा पनि स्वभाविक हुन्थयो नैं), राष्ट्रियसभाको सिट संख्या गुमाएर एमालेले झनै पार्टीलाई कमजोर बनाएको छ ।
कुनै समय राष्ट्रियसभामा दुईतिहाई बहुमतको पार्टीका सचेतक अहिले खुम्चिएर एकतिहाई भन्दा कम सदस्य भएको प्रतिपक्षी दलको सचेतक मात्र सीमित भएका थिए, खिमलाल भटट्राई । उनको पद चैट हुँदा एमालेले राष्ट्रियसभामा कमजोर बनेको छ । नेतृत्वले समयमै बुद्धि नपुर्याउँदा १७ बाट १६ सदस्यमा झरेको छ एमाले ।
प्रतिक्रिया