काठमाडौं । राज्यकोषमा करोडौंको व्ययभार थोपर्दै मन्त्री, सचिव तथा उच्चपदस्थको विदेश भ्रमणमा लर्कै लाग्न थालेको छ ।
यसअघि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले फजुल खर्च नियन्त्रण तथा ‘अनावश्यक विदेश भ्रमण’मा अंकुश लगाउने निर्णय गरे पनि प्रधानमन्त्री कार्यालयले आफ्नै निर्णयविपरित दर्जनौं विदेश भ्रमणको स्वीकृति दिँदै आएको छ ।
गत २० भदौमा बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक ११ वटा भ्रमण दलको विदेश घुमफिरलाई स्वीकृति दिएको थियो । त्यसअघि भदौमा मात्रै पाँच विदेश भ्रमण स्वीकृत भइसकेको छ । २० भदौसम्म त १६ भ्रमण दलको स्वीकृति दिइसकिएको पाइएको छ ।
त्यसको प्रस्ताव विभिन्न मन्त्रालयबाट आए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ‘भ्रमणको औचित्य सम्बन्धमा कुनै छानबिनै नगरी’ धमाधम स्वीकृतिका लागि मन्त्रिपरिषद्का पेस गरेको थियो ।
जबकि, अघिल्लो सरकारको पालामा प्रधानमन्त्री कार्यालयले विभिन्न मन्त्रालयबाट आएका विदेश भ्रमण प्रस्ताव सम्बन्धमा ‘औचित्ययुक्त भए वा नभएको’’ अनुसन्धानसहित कतिपय प्रस्ताव फिर्तासमेत गर्ने गरेको थियो । तर, अहिले भने ‘जस्तासुकै विदेश भ्रमणलाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आँखा चिम्लेर अगाडि बढाउँदै आएको’ बताइएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार स्वीकृत भ्रमण दलमा मन्त्री, राज्यमन्त्री, सचिव, सरकारी पदाधिकारी र कर्मचारीसमेत सहभागी हुने गर्छन् । तर, तल्ला तहका कर्मचारीको विदेश भ्रमणको भने कुनै रेकर्ड छैन । विदेश भ्रमणमा मात्रै राज्यकोषबाट वार्षिक ७० करोडभन्दा बढी खर्च हुने गरेको सरकारी अधिकारी नै बताउँछन् ।
गत ६ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले दुई मन्त्री र तीन सचिव तथा उनीहरूको दलको ‘विदेश भ्रमण’ स्वीकृत गरेको थियो । त्यसदिन शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र सचिव रामकृष्ण सुवेदीलाई ‘आइभरीकोस्टमा हुने एक कार्यक्रमका लागि भ्रमण स्वीकृति दिइएको’ हो ।
यसअघि, मन्त्रालयका मन्त्री र सचिव एकैपटक विदेश जान नपाउनेगरी नियम बनाइएको थियो । अहिले सोही नियम मिचिएको छ ।
त्यस्तै, बेलायतमा आयोजना हुने ‘द एक्सपोजर प्रोग्राम एन्ड नलेज सेयरिङ’सम्बन्धी कार्यक्रममा भाग लिन भूमिसुधार मन्त्रालयका सचिव रामप्रसाद थपलियाको भ्रमणलाई पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।
लगत्तै गत १३ भदौको मन्त्रिपरिषद् बैठकले थप तीन विदेश भ्रमण स्वीकृत गरेको थियो । अमेरिकाका लागि वन तथा वातावरणमन्त्री प्रदीप यादव, भुटानका लागि स्वास्थ्यराज्यमन्त्री हिराचन्द्र केसीको विदेश भ्रमणसमेत स्वीकृत भएको छ ।
यसैगरी, अर्को एक कार्यक्रममा भुटान भ्रमणकै लागि योजना आयोग उपाध्यक्ष डा. विश्वनाथ पौडेल र स्वास्थ्य राज्यमन्त्रीसँगै स्वास्थ्य सचिव डा. रोशन पोखरेल र विशेषज्ञ डा. संगीता कौशल मिश्राको भ्रमण स्वीकृत गरिएको थियो ।
गएको २० भदौमा बसेको मन्त्रिपरिषद् बैठकले १० देखि १४ असोजसम्म फिलिपिन्स मनिलामा हुने एसियाली विकास बैंकको ५५ औं वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री जनार्दन शर्मा र उनको टोलीको निर्णय गरेको छ ।
त्यस्तै, १४ देखि १८ कात्तिकसम्म क्यानडामा हुने कायर्कमका लागि उद्योग सचिव डा. तोयानाथ ज्ञावालीको भ्रमण स्वीकृत भइसकेको छ ।
आगामी २७ असोजदेखि २ कात्तिकसम्म अमेरिकामा हुने ‘प्रहरी सम्मेलन’का लागि अतिरिक्त महानिरीक्षक पूजा सिंह र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलको भ्रमण पनि सरकारले गत सोमबार स्वीकृत गरेको छ ।
यसैगरी, परराष्ट्र सचिव भरतराज पौड्यालको टोलीलाई भरत भ्रमणका लागि स्वीकृति दिइएको छ ।
२७ देखि ३१ भदौसम्म बेल्जियम ब्रसेल्समा हुने कार्यक्रमका लागि युवा खेलकुद मन्त्रालयका सचिव डा. दामोदार रेग्मी त्यसतर्फ जाँदै छन् ।
७ देखि ११ असोजसम्म अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको अस्ट्रिया भियानामा हुने बैठकका लागि शिक्षामन्त्री देवेन्द्र पौडेल र उनको टोली त्यसतर्फ जानेगरी स्वीकृति दिइसकिएको छ ।
२८ देखि ३० कात्तिकसम्म उज्वेकिस्तानमा हुने कार्यक्रमका लागि शिक्षा विज्ञान तथा प्रविधिराज्यमन्त्री बोधकुमारी यादवलगायतको टोलीलाई पनि स्वीकृति दिइएको छ ।
त्यस्तै, नेदरल्यान्ड र बेल्जियममा हुने अर्को कार्यक्रमका लागि शिक्षासचिव रामकृष्ण सुवेदीलाई दोस्रोपटक स्वीकृति दिइएको छ । सरकारले तीन सातामा भ्रमण स्वीकृत गर्दा वन तथा वातावरणमन्त्री प्रदीप यादवको मात्रै तीन विदेश भ्रमणलाई स्वीकृति दिइसकेको छ ।
मन्त्रिपरिषद्ले यादवको रसिया भ्रमण स्वीकृत गरेको थियो । तर, उनी त्यसतर्फ नजाने बताइएको छ । २७ देखि २९ भदौसम्म सेनेगलमा हुने कार्यक्रम तथा अमेरिकामा हुने अर्को छुट्टै कार्यक्रमसमेत स्वीकृत गरिएको छ ।
पछिल्लो महिना विदेश भ्रमणमा स्वीकृति पाउनेमा शिक्षामन्त्री पौडेल र सचिव सुवेदी पनि अग्रपंक्तिमा देखिएका छन् । उनीहरूको दुई भ्रमण स्वीकृत गरिएको छ ।
गत ६ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री देवेन्द्र पौडेल र सचिव रामकृष्ण सुवेदीलाई आइभरीकोस्ट भ्रमणको स्वीकृत गरेको थियो । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।
प्रतिक्रिया