१७ कार्तिक २०८१, शनिबार | November 2, 2024

जब पत्रकारलाई केबलकारमा रोकियो !



काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा रहेको केबलकार चढ्न आज उपत्यकाका एक हुल पत्रकार पुगेका थिए । चन्द्रागिरि केबलकारका प्रायःसबै गोण्डोला (डिब्बा) भरिभराउ भए, यत्तिकैमा पत्रकारको यात्रा चल्यो । चल्दै गरेका गोण्डोला (केबलकारको डिब्बा) केही मिनेटपछि रोकिए । त्यसबेला पत्रकार आत्तिएनन् । बरु गोण्डोलामा उभिएरै तस्बिर तथा भिडियो लिन ब्यस्त भए । उनीहरु काठमाडौं उपत्यका तथा चन्द्रागिरि डाँडो र त्यहाँको जङ्गलको वरपरका दृश्य क्यामेरमा कैद गर्नेतिर लागे ।

यो एक अभ्यास थियो र केबलकारका प्राविधिकहरुले पूर्वजानकारी गराएरै केबलकार रोकेका थिए । त्यसैले पनि गोण्डोलमा रहेका पत्रकार डराएनन् र यसलाई स्वाभाविकरुपमा लिए । पत्रकार चढेका हरेक गोण्डोलामा केबलकारका प्राविधिक र कर्मचरी सहभागी थिए । उनीहरुले पत्रकारलाई आउनसक्ने समस्या र समाधानका उपायबारे बुझाइरहेका थिए । आजको अभ्यास यो केबलकार सुरक्षित छ र कहिलेकाहीँ कुनै प्राविधिक कारणले केही मिनेट रोकिन सक्छ भन्ने जानकारी दिन आयोजना गरिएको थियो । त्यसैले हरेक गोण्डोलामा यहाँका प्राविधिक र पत्रकार राखिएको थियो र उनीहरुले यसका विविध प्राविधि विषयको जानकारी गराइरहेका थिए ।

एक गोण्डोलामा सहभागी थिए चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाल । उनी भन्दैथिए, “यो केबलकारको प्रविधि अर्थात् उत्पादक अष्ट्रियन ‘डोब्बलमेयर’ कम्पनी हो । यो विश्वकै सबैभन्दा सुरक्षित कम्पनी हो र हाम्रोजस्ता विश्वका २० हजार केबलकारमा यही कम्पनीको प्रविधि सञ्चालनमा छ । यो प्राविधिक विषय हो र पूरैरुपमा बिजुलीमा निर्भर हुने भएकाले बिजुली गएपछि केही समय रोकिन्छ त्यसलगत्तै जेनेरेटर चल्छ । जेनेरेटरले पनि समय लाग्ने अवस्था भएमा हामीसँग ‘इमर्जेन्सी ड्राइभ’ का कैयौँ विकल्प छन् । त्यस्तै सङ्कट नै पर्ने या उद्धार नै गर्नुपर्ने भन्ने केही हुँदैन ।”

गोण्डोलामा लेखिएको सूचना ‘हावाहुरी चलेका बेला, चट्याङ परेका बेला यो केबलकार पनि रोकिन सक्छ, नआत्तिइ यसैमा बस्नुहोला’ देखाउँदै ढकालले भने, “यो प्रविधि हो, पूरै सुरक्षित छ, तर कुनैबेला रोकिन सक्छ रोकिँदैमा डराउनुपर्दैन ।” हालै आफू स्वीट्जरल्याण्ड पुगेका बेला पनि यसैगरी केबलकारमा रहेकै बेला प्राविधिक कारणले केहीबेर केबलकार हावामै रोकियो तर त्यहाँ समाचार भएन भन्दै उहाँले यो एक नियमित प्रक्रिया नै हो तर हामीकहाँ समाचार नै बन्नु विडम्बना भएको उनले बताए ।

चन्द्रागिरि केबलकारका सेल्स मार्केटिङ प्रमुख प्रभाकर खड्का भन्छन्, “मेसिनबाट चल्ने भएकाले कहिलेकाहीँ केबलकार रोकिन सक्ने, प्राविधिक समस्या आउन पनि सक्ने भए पनि पूर्ण सुरक्षित रहन्छ, यसमा यात्रु आत्तिनु पर्दैन, तत्काल नभए केही समयमा समस्या समाधान गरेर केबलकार सञ्चालन गरिन्छ ।”

केही दिनअघि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चढेका बेला केबलकार रोकिएको समाचार आएको थियो । त्यस बखत केहीबेर केबलकार रोकिएपछि गोण्डोलामा मानिस आत्तिएका, अक्सिजन नपुगेर सास फेर्न गाह्रो भएको समाचार आएको थियो । सो समाचारतर्फ सङ्केत गर्दै अध्यक्ष ढकालले डिब्बामा सात मिनेट रोकिएर रहेका पत्रकारलाई सोधे, “के यहाँहरुलाई सास फेर्न गाह्रो भएको हो ? उनले डिब्बामा रहेका झ्यालतर्फ देखाउँदै”, भने । हरेक डिब्बामा झ्याल रहेकाले नियमित अक्सिजन आपूर्ति भइरहेको थियो । फेरि केबलकारका माथिल्लो बटम स्टेसन नै दुई हजार तीन सयमात्र उचाइमा रहेकाले यहाँ अक्सिजनको कमी हुने अवस्था पनि नरहेको प्राविधिको भनाइ थियो ।

विश्वकै उत्कृष्ट प्रविधि प्रयोग गरे पनि प्राविधिक समस्याका कारण केही समय केबलकार रोकिनसक्ने तर त्यसका लागि वैकल्पिक व्यवस्थाका लागि सधैँ तयारी अवस्थामा रहने हुनाले पनि कुनै जोखिम नहुने सञ्चालकको भनाइ थियो । यसै विषयमा जानकारी गराउन चन्द्रागिरि हिल्सले आज यसको सम्पूर्ण प्राविधिक पक्षको स्थलगलत अध्ययन गराई, केबलकारमार्फत बटम स्टेनसमा लगेर पत्रकार सम्मेलन गरेको थियो ।

अध्यक्ष ढकालले तीन चरणबाट केबलकार सञ्चालन हुने जानकारी गराए । “पहिलो विद्युत्बाट सञ्चालन हुन्छ, विद्युत् गएको खण्डमा एक मेगावाट बराबरको जेनेरेटरबाट सञ्चालन गरिन्छ, यदि त्यसले पनि काम गरेन भने, ‘इमरजेन्सी ड्राइभ’ भन्ने छ, त्यो सय प्रतिशत चल्छ, त्यसमार्फत जति पनि यात्रु गोण्डोलामा हुनुहुन्छ, उहाँहरुलाई सकुसल अवतरण गराउने समयसम्ममा नै काम गर्छ ।”

उनले यदि कोही यात्रु रोकिएर माथि रहेमा उनीहरुलाई निःशुल्करुपमा रिसोर्टमा बस्ने, खाने व्यवस्था गरिने र आकस्मिकरुपमा तल झर्नुपर्ने यात्रुलाई सवारी साधनकोसमेत व्यवस्था रहेको जानकारी दिए।

केबलकारका इलेक्ट्रिोनिक इञ्जिनीयर सरोज चापागाईं केबलकार रोकिएर कुनै पनि हालतमा दुर्घटना नहुने जिकिर गरे । उनले भने, “यदि प्राविधिक समस्या नै आइहाल्यो भने पनि अधिकतम ४० मिनेटमा आकस्मिकरुपमा मानिसलाई ओराल्ने काम हुन्छ, नत्र ५, १० मिनेटमा नै सुरक्षितरुपमा सञ्चालनमा आउँछ ।”

“हरेक दिन केबलकार सञ्चालनमा ल्याउनुअघि प्राविधिक परीक्षण हुन्छ, त्यसपछि पनि समस्या आइहालेमा तत्काल विज्ञबाट अध्ययन हुन्छ, र ५, १० मिनेटमा निराकरण गरेर सेवा सञ्चालन हुन्छ । यदि समय लाग्ने खालको समस्या देखियो भने आकस्मिक ड्राइभमार्फत मानिसलाई अवतरण गराउँछौँ, धेरै समय लाग्यो भने तलका यात्रुलाई तलैबाट फिर्ता गराउँछौँ र माथिका यात्रुलाई माथि रिसोर्टमा पनि लैजान्छौँ”, उनले थपे ।

केबलकारका संस्थापक सञ्चालक अम्बिकाप्रसाद पौडेलले प्रश्न गरे, “हिजोको घटनामा चर्चा भएको अवस्था र आज आफैँ पत्रकार चढेरे रोकिएको अवस्थामा कस्तो महसुस गर्नुभयो ?

-रासस

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ६ : १५ बजे

बुटवलमा मनाइयो ‘न्हुँ दयाः भिन्तुना’ (फोटोफिचर)

बुटवल । बुटवलमा नेपाल संवतको सुरुवातलाई शुभकामना आदानप्रदान सहित बिबिध

नेपालगन्जमा नेपाल संवतको भब्य स्वागत (फोटोफिचर)

नेपालगन्ज । नेपालगन्जमा नेपाल संवत ११४५ लाई भब्यरुपमा स्वागत गरिएको

शुक्लाफाँटामा छ करोडको खानेपानी आयोजना अन्तिम चरणमा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका २ मा निर्माणाधीन खानेपानी आयोजना निर्माण

हङकङ सिक्सेसको क्वाटरफाइनलमा नेपाल र श्रीलंका भिड्दै

काठमाडौँ । हङकङ सिक्सेसको क्वाटरफाइनलमा नेपालले आज श्रीलंकाको सामना गर्ने

सर्लाहीको बरहथवा बजारको एक पसलमा आगलागी

मलङ्गवा । सर्लाहीको बरहथवा बजारको एक किराना पसलमा आगलागी भएको