काठमाडौं । स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले फेरि एक पटक लजास्पद ब्याटिङ प्रदर्शन गरेको छ । आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा २ सय रनको मध्यम लक्ष्य पछ्याउँदा पनि ६३ रनको फराकिलो हार बेहोर्न बाध्य भयो ।
केही खराब सट र अम्पाएरको गलत निर्णयको सिकार बनेको नेपाली टिम ३७.५ ओभरमा १३६ रनमा अलआउट भयो । निकै खराब ब्याटिङ गरेको नेपालले पछिल्ला ५ विकेट केवल १८ रन बनाउँदा गुमाएको थियो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाउँदा ओपनर आसिफ सेखले ३५ रन बनाए । यस्तै मोहम्मद अदिल आलमले २०, रोहितकुमार पौडेलले १७ रन बनाउँदा पवन सर्राफ ११ रनमा नटआउट रहे । नेपालका कुशल भुर्तेल, सन्दीप लामिछाने र बासिल अहमदले खाता खोल्न पनि सकेनन् ।
नेपालको इनिङ ध्वस्त बनाउने क्रममा स्पिनर बर्नाड सोल्ट्चले घातक बलिङ गरे । उनले उनले ९.५ ओभरमा २ मेडनसहित २२ रन खर्चेर ५ विकेट लिए। यस्तै, ज्याक फ्राइलिंकले ३ तथा गेहार्ड इरामसले २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निर्धारित ४९.२ ओभरमा अलआउट गुमाउँदै १९९ रन बनायो । पावरप्लेमा सोमपाल कामी र सन्दीपले ३ विकेट लिएपछि दबाबमा आएको नामिबियाका लागि कप्तान गेहार्ड इरामसले अर्धशतकीय इनिङ खेल्दै टिमलाई सम्हालेका थिए ।
इरामसले ७० बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ५३ रन बनाए । यस्तै, दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर डेविड विसाले ३४ रन बनाउँदा जेजे स्मिथ र डिवान ला ककले समान २७ रनको योगदान दिए ।
नोपलका लागि कप्तान सन्दीपले १० ओभरमा २ मेडनसहित २९ रन खर्चेर ४ विकेट लिए । यस्तै, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिँदा वासिर अहमदले पनि राष्ट्रिय टिममा विकेटको खाता खोले ।
अब नेपालले सिरिजको अन्तिम खेल आइतबार आयोजक स्कटल्यान्डको सामाना गर्ने छ ।
हारसँगै नेपाल अंक तालिकामा छैठौं स्थानमा
नामिबियासँगको लागतार दुई हारसँगै नेपाल विश्वकप लिग २ को अंक तालिकामा पुनः छैठौं स्थानमै झरेको छ । नेपालले १९ खेलमा ८ जित, १ बराबरीसहित १७ अंक जोडेको छ। यता, नेपालविरुद्ध जित निकाल्दै नामिबिया भने पाँचौं स्थानमा उक्लिएको छ । उसले १८ खेलमा १८ अंक नै जोडेको छ ।
अंक तालिकामा ४४ अंकसहित ओमान शीर्ष स्थानमा छ भने ३२ अंक जोडेको स्कटल्यान्ड दास्रो, २६ अंकसहित युएई तेस्रो र २३ अंक जोडेको अमेरिका चौथो स्थानमा छ ।
प्रतिक्रिया