विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता कायम गर्ने उद्देश्यले गरिने कुनै पनि क्रियाकलापलाई आन्दोलन नभई अपराधको रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन् । उनले विराटनगरमा आइतबार आयोजित हाम्रोमत दैनिकको २२ औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उक्त विचार प्रस्तुत गरेका हुन् ।
उनले राजनीतिक दलहरूमा रोग देखा परेको र त्यसको उपचारका लागि गहन समीक्षा आवश्यक रहेको उल्लेख गरे। संविधान जारी गर्दा दलहरूबीच दश वर्षपछि समिक्षा गर्ने सहमति भएको स्मरण गराउँदै उनले त्यसको समय अब आएको बताए। तथापि, संविधानको समीक्षा गर्दा पछाडि फर्किन नहुने स्पष्ट पारे।
‘संविधानको समीक्षा गर्दा एउटा शर्त रहन्छ। हामी पछाडि फर्किनका लागि समीक्षा गर्ने होइनौं। हामी अगाडि बढ्नका लागि समीक्षा गर्ने हो। जनताले प्राप्त गरेका उपलब्धिहरू खोस्नका लागि होइन, ती उपलब्धिहरू थप बलियो बनाउन, विस्तार गर्न र परिमार्जन गर्नका लागि समीक्षा गरिन्छ,’ उनले भने ।
शनिबार सम्पन्न तीन दलबीचको छलफलमा आफूले आन्दोलनको परिभाषा निर्धारण गर्नु आवश्यक रहेको कुरा उठाएको ेउनले जानकारी दिए । ‘तीन दलको बैठकमा मैले भनेको थिएँ– आन्दोलन भन्नाले के बुझ्ने ? विद्रोह के हो ? र के होइन ? भन्नेमा स्पष्ट परिभाषा आवश्यक छ। एउटा साझा व्याख्या आवश्यक छ,’ उनले उल्लेख गरे ।
‘यदि कसैले लोकतन्त्र, गणतन्त्र, र इमान्दारिताका साथ अघि बढ्ने प्रयत्न गर्दछ भने त्यो आन्दोलन हो, त्यसलाई संरक्षण गरिनुपर्छ। तर, यदि कसैले लोकतन्त्रको विरोधमा, निरंकुशता र तानाशाहीका पक्षमा आवाज उठाउँछ भने त्यो आन्दोलन कहलिन सक्दैन। त्यो अपराध हो, समाजविरुद्धको गतिविधि हो।’ उनले भने ।
उनले कुन गतिविधि आन्दोलन हो ? कुन आपराधिक वा इतिहासविरुद्धको हो ? कुन जनताको आवश्यकतासँग मेल खान्छ ? भन्ने विषयमा गणतन्त्रवादी दलहरूले स्पष्ट दृष्टिकोण लिनुपर्नेमा जोड दिए ।
‘एकल परिभाषाका आधारमा आन्दोलन, विद्रोह, क्रान्ति भन्ने शब्दहरूको प्रयोग गरिनु हुँदैन। निरंकुशता वा तानाशाहीतर्फ फर्किनका लागि गरिने प्रयासलाई आन्दोलन भन्न मिल्दैन। कम्तीमा पनि लोकतन्त्रवादी र गणतन्त्रवादीहरूले यस्तो शब्द प्रयोग गर्नु अनुचित हुन्छ। त्यो आन्दोलन हुनै सक्दैन,’ उनले स्पष्ट पारे ।
‘त्यस्ता गतिविधिहरू इतिहास र जनहित विपरीत, लोकतान्त्रिक मर्म र भावनाविपरीत षड्यन्त्र मात्र हुन्छन्। त्यसलाई आपराधिक र समाजविरोधी क्रियाकलापको रूपमा परिभाषित गर्नुपर्छ।’ उनले थपे ।
‘नेतातन्त्र भन्ने शब्द प्रयोग गरेर तीन जना नेताहरूलाई लक्षित गर्दै लोकतन्त्र, प्रणाली र संविधानप्रति नै आक्रोश पोखिने प्रयास भइरहेको उनले बताए । ‘नेतातन्त्र भन्ने कुनै व्यवस्था हुँदैन। नेताहरूमा कमजोरी हुन सक्छ। उनीहरूको आलोचना गर्न सकिन्छ। तर, नेताविनाको लोकतन्त्र सम्भव छैन। नेतातन्त्र भन्ने शब्दावली लोकतन्त्रको उपहास हो।’ उनले भने ।
गणतन्त्र पक्षधरहरू मिल्नुपर्ने आवाज उठिरहे पनि व्यवहारमा त्यो सम्भव हुन नसकेको उनको टिप्पणी थियो। ‘हामी गणतन्त्रवादीहरू मिलेर शान्ति सम्झौता गरेका थियौं, संविधानसभा गठन र गणतन्त्र स्थापनामा सँगै लागेका थियौं। तर, आजको दिनमा हामी किन एक ठाउँमा उभिन सकेनौं भन्ने विषयमा गम्भीर बहस आवश्यक छ,’ उनले भने, ‘मैले पनि अनेकौं पहलहरू गरेको हुँ, तर हामीबीच एकता कायम हुन सकेन। यसले कतै न कतै समस्या रहेको स्पष्ट हुन्छ।’
अहिले अपनाइएको निजीकरण र उदारीकरणको मोडल पनि पुनः समीक्षा गर्नुपर्ने उनको धारणा थियो।
त्यसैगरी, नेपालको मौलिक इतिहास, उत्पादन प्रणाली र सांस्कृतिक विरासतलाई आधार मानेर स्वदेशी मोडल निर्माण गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए । ‘हामी विदेशी सिफारिसहरू मात्र पछ्याउने प्रवृत्तिमा लाग्यौं। आत्मनिर्भरता र मौलिकताको बाटोमा अघि बढ्न सकेनौं। अब हामीले आफैंको इतिहास र आवश्यकता अनुसारको मोडल निर्माण गर्नु आवश्यक छ,’ उनले स्पष्ट पारे ।


















प्रतिक्रिया