८ बैशाख २०८२, सोमबार | April 21, 2025

लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै



लुम्बिनी । धार्मिक तथा सांस्कृतिक सम्पदास्थल लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदैछ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ स्थित बुद्धजन्मस्थलमा परम्परागत चैत्र पूर्णिमा महोत्सव एवं रुमिन्देइमाई मेला यही चैत २९ गते शुक्रबारदेखि सुरु भएको हो । यो मेला वैशाख २ गतेसम्म जारी रहने छ ।

बर्सेनि लाग्ने यो महोत्सव तथा मेला बुद्ध धर्मावलम्बीका लागि मात्र नभई विभिन्न धर्म एवं समुदायलाई समेत आकर्षित गर्ने एक विशेष अवसर पनि हो । यस मेलाले श्रद्धा, सांस्कृतिक विविधता र आध्यात्मिक ऊर्जाको सङ्गमका रूपमा काम गर्ने गरेको बौद्ध भिक्षु विवेकानन्द पाण्डेले बताए ।

इसापूर्व ६२३ मा लुम्बिनीस्थित बगैँचामा माता मायादेवीको कोखबाट सिद्धार्थ गौतम (बुद्ध)को जन्म भएको विश्वास गरिन्छ । बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको सम्झनामा मनाइने यो विशेष दिन हो । यो अवसरमा स्थानीय हिन्दू र बौद्ध धर्मावलम्बी विशेष पूजा, ध्यान र दान–धर्मका कार्यमा समर्पित देखिन्छन् ।

मेलामा विशेष किसिमको धार्मिक तथा सांस्कृतिक नृत्य हुनुका साथै कथा सुन्ने, कडाही चढाउने र अन्य धार्मिक अनुष्ठान गर्ने गरिन्छ । मेलामा स्वास्थ्य शिविर र पिउने पानीको व्यवस्था पनि छ । बौद्ध भिक्षु धम्म सिद्धीले लुम्बिनीमा चैत्र पूर्णिमा मेलाको अनुभवलाई अत्यन्त धार्मिक, शान्त तथा प्रेरणादायक रहेको बताए ।

सो अवसरमा विशेषगरी मायादेवी मन्दिर क्षेत्रमा भक्तजनको भीड देखिन्छ । स्थानीयले यो मन्दिरलाई समयमाई वा रूमिन्देइमाई स्थानको रूपमा पुज्ने गर्छन् । “विशेष भव्यता र व्यवस्थापनका साथ अहिले पाँच दिनसम्म मनाइने यो मेला पहिला १५ दिनसम्म मनाइन्थ्यो”, पर्यटन व्यवसायी हुसेनी लोधले भने ।

अभियानकर्ता मेघनाथ आचार्यका अनुसार यो मेलाले पर्यटनमा केही सुधार ल्याएको छ । यातायात र हस्तकला बिक्रीमा वृद्धि भएको छ । वैशाख पूर्णिमाका अवसरमा लुम्बिनी विकास कोषले लाखौँ खर्च गरेर मनाउने बुद्धजयन्ती तथा लुम्बिनी महोत्सवभन्दा स्वःस्फुर्त लाग्ने यो मेलामा बढी धार्मिकता र रौनकता देखिन्छ ।

यद्यपि लुम्बिनीमा भीड व्यवस्थापन, पार्किङ समस्या, शौचालय, खानेपानीको र धुलाम्मे मेलास्थलमा परिवर्तन देखिएको छैन । तर पनि रुमिन्देइमाई र बुद्धजन्मस्थलप्रति स्थानीयको श्रद्धा र लगाव कायमै देखिन्छ । इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख तथा प्रहरी निरीक्षक दीपक मगराठीका अनुसार मेलास्थलमा शान्ति सुरक्षाको प्रबन्ध पर्याप्त छ ।

लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खानले भने, “चैत्र पूर्णिमा महोत्सव लुम्बिनीको अन्तरराष्ट्रिय पहिचान बलियो बनाउने अवसरमात्र नभई धर्मिक आस्था, सांस्कृतिक ऊर्जा र पर्यटनको समुचित मिश्रण पनि हो ।” उनले भविष्यमा अझ प्रभावकारी व्यवस्थापन र स्मार्ट मेला प्रणाली लागू गरेर अझ सभ्य बनाउनुपर्ने आवश्यकता औँल्याए ।

“लुम्बिनीको चैत्र पूर्णिमा मेला बौद्धकालीन मानिन्छ । यो केवल धार्मिक उत्सव मात्र होइन, सांस्कृतिक विविधता, मानवताबीचको एकता र सद्भावको प्रतीक पनि हो । यसले न केवल स्थानीय समुदायलाई एकत्रित गर्छ, अपितु विश्वभरका बौद्धमार्गीलाई पनि नयाँ ऊर्जा र उत्साह प्रदान गर्दछ”, लुम्बिनी विकास कोषका कोषाध्यक्ष शिद्धीचरण भट्टराईले भने, “यसलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन सबै पक्षले मिलेर काम गर्न अत्यावश्यक छ ।”

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ९ : २२ बजे

एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौँमा

एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मङ्गलबार नेपाल कम्युनिष्ट

अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक वेष्ट्रनलाई

बुटवल । बुटवलमा सम्पन्न अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि

पत्रकार महासंघ रूपन्देहीद्वारा पत्रकार विश्वकर्मालाई आक्रमण प्रयास गर्नेमाथि कारबाही माग

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देही शाखाले पत्रकार राधेश्याम विश्वकर्मामाथि

दानव खोलामा बेपत्तामध्ये एकको शव भेटियो, दुई अझै बेपत्ता

भैरहवा । रुपन्देहीको दानव नदीमा बेपत्ता तीन बालकमध्ये एकको शव