नेपालगन्ज। नेपाली कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलनको तयारी पूरा भएको छ । नेपाली कांग्रेसले आज बाँकेको नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै म्मिेलनको तयारी पूरा भएको जानकारी दिएको हो । यही चैत ३० गते नेपालगन्जमा हुने सम्मेलनको महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गर्ने कांग्रेस बाँकेले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले नेपालगन्जमा हुनगइरहेको पार्टीको जिल्ला सम्मेलन आमकार्यकर्ता र नेपाली जनताका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
सभापति गौडेलले तेस्रो जिल्ला सम्मेलनमा पहिलो र दोस्रो जिल्ला सम्मेलनले निर्दिष्ट गरेका योजना तथा कार्यक्रमको प्रगति अवस्थाका बारेमा समिक्षात्मक छलफल हुने बताए । ‘यसका साथै सम्मेलनमा देशको समसामयिक राजनीतिका साथै सामाजिक, सांस्कृतिक तथा आर्थिक घटनाक्रमका विषयमा समेत गहन छलफल हुनेछ’ उनले भने ।
जिल्ला सम्मेलनमा मूलतः बाँके जिल्लामा नेपाली कांग्रेसको वस्तुगत सांगठानिक अवस्था, पार्टीसंग जिल्लावासीको अपेक्षा, विकास गतिविधिमा पार्टीले विगतमा खेलेको भूमिकालगायतका विषयवस्तुमाथि गहन छलफल हुने उल्लेख गर्दै गौडेलले जिल्ला सम्मेलनमा बाँके काँग्रेसको बार्षिक नीति तथा कार्यक्रम र सांगठानिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत हुने र त्यसमाथि गहन छलफल भएर संशोधनसहित पारित हुने जानकारी दिए ।
उनका अनुसार सम्मेलनमा बाँके कांग्रेसको सांगठानिक अवस्था, क्रियाशिल सदस्यता वितरण, नविकरण, भातृ संस्थाहरुको उचित व्यवस्थापन तथा परिचालनलगायतका एजेण्डामा वृहत छलफल हुनेछन् । सम्मेलनमा पार्टीको सागठानिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने संस्था तथा व्यक्तिहरुलाई, जग्गादाता, पार्टीका उत्कृष्ट वडा सभापतिहरु, भातृ संस्थालाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुर्याउने अध्यक्षहरु, प्रजातन्त्र सेनानीहरु, २०४६ सालदेखि अहिलेसम्म अनवरत पार्टी लागिपरेका कार्यकर्ताहरु, पार्टी केन्द्रीय कार्यसमितिको सय दिने अभियान र बाँके कांग्रेसको १२० दिने अभियानका उत्कृष्ट वडा सभापति र उत्कृष्ट जिल्ला प्रतिनिधिहरुलाई सम्मान प्रदान गरिनेछ ।
त्यस्तै, पार्टीमा महत्वपूर्ण योगदान पुर्याएका तर, दिवंगत भएकाहरुलाई जिल्ला सम्मेलनमा मरणोपरान्त सम्मान गरिनेछ । यस्तै मुलुकको लोकतान्त्रिक आन्त्दोलनमा महत्वपूर्ण योगदान पुर्याउने र पेशागत कर्ममा इमान्दारितापूर्वक अनवरत लागिरहेका बाँकेका दुई जना पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको सभापति गौडेलले बताए ।
सम्मेलनमा सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्य दिपक गिरी, गोपाल दहित, डा. गोविन्द पोखरेल, मैकुलाल बाल्मिकी, संजय गौतम, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेश सहमहामन्त्री निमा गिरी, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ्ग, राष्ट्रिय सभा सदस्य युवराज शर्मालगायतका नेतागणहरु पनि सहभागि हुने सभापति गौडेलले जानकारी दिए । जिल्ला सम्मेलनमा बाँकेका झण्डै १६ सय प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने छ ।
सचिव सुधांशु कोइरालाले संचालन गरेको पत्रकार सम्मेलनमा जिल्ला उपसभापतिद्वय गोपाल अधिकारी, कृष्ण कार्की, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, सहसचिव रेनु सिंह ठाकुरलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया