नवलपुर । नेकपा माओवादी केन्द्रको तराई–मधेश केन्द्रित जागरण अभियान नवलपुरमा बैशाख २ गते सुरू हुने भएको छ। यसअघि स्थगित गरिएको उक्त अभियानलाई पुनः सुरु गर्दै पार्टीले गैडाकोटलाई उद्घाटनस्थलको रूपमा तय गरेको छ ।
पार्टीका केन्द्रीय सदस्य तथा नवलपुर जिल्ला इञ्चार्ज धनप्रसाद सापकोटाका अनुसार वैशाख २ गते बिहान गैडाकोटबाट अभियानको विधिवत शुभारम्भ गरिनेछ। अभियानको तयारीका सिलसिलामा माओवादी जिल्ला कमिटीको टोली आइतबार खुमलटारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगेको थियो।
छलफलपछि अध्यक्ष प्रचण्ड वैशाख १ गते साँझ नवलपुर आइपुग्ने र वैशाख २ गते बिहानै अभियान उद्घाटन गर्ने तय भएको सापकोटाले जानकारी दिए। “अभियानको नेतृत्व स्वयं अध्यक्ष प्रचण्डले गर्नुहुनेछ,” सापकोटाले भने, “यो अभियान तराई–मधेशमा संगठन विस्तार र जनसंपर्क सुदृढीकरणमा निर्णायक हुनेछ।”
जिल्ला कमिटीले प्रचारप्रसार, स्वागत, आवास र यातायात व्यवस्थापनलगायतका उपसमिति गठन गरी तयारी तीव्र पारेको जनाएको छ। पार्टी स्रोतका अनुसार अभियान अन्तरगत मधेश र तराईका जिल्लाहरूमा शीर्ष नेताहरूको सहभागितामा आमसभा, जनसंवाद तथा संगठन सुदृढीकरण कार्यक्रमहरू सञ्चालन गरिनेछ।
पार्टीले यो अभियानलाई ‘जनताको बीचमा पार्टी, परिवर्तनको एजेन्डा र प्रतिगमन विरुद्धको अभियान’ का रूपमा व्याख्या गरेको छ। नेताहरूका अनुसार विगतमा स्थगित अभियानलाई पुनः सुरु गर्नु पार्टीको रणनीतिक पुनर्संरचना र स्थानीय तहको संगठनात्मक पुनर्गठनसँग सम्बन्धित छ।
प्रतिक्रिया