नेपालगन्ज । होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसरमा घोषणा गरेको स्वादउत्सवको तयारी पुरा भएको जनाएको छ । पौवा ब्यवस्थापनले नेपालगन्जमा आज पत्रकार भेटघाट गर्दै यही चैत्र २५ गतेदेखि २९ गतेसम्म पौवाका सबै शाखामा आयोजना हुने स्वाद-उत्सवको तयारी पुरा भएको जनाएको हो ।
स्वाद-उत्सवमा नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति हुने पत्रकार भेटघाटमा जानकारी दिइयो । नवौं वार्षिकोत्सवको अवसरमा देशभरका शाखाहरूमा विभिन्न कार्यक्रमसहित पौवाले स्वादउत्सव मनाउन लागेको हो । होटल पौवाका अनुसार उत्सवमार्फत पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको छ । उच्च आतिथ्यता प्रदान गर्दै मौलिक स्वादको अनुभव पाहुनाहरूसमक्ष पु¥याउने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको छ ।
यसैगरी स्पाद उत्सवको उद्देश्य पौवाका सेफहरूबीच नै स्वस्थ प्रतिस्पर्धा गराई बढीभन्दा बढी गुणस्तरीय खाना तयार पार्नु पनि रहेको होटल संचालकहरुको भनाई छ । स्वाद उत्सवमा पाहुनाहरूले दिने प्रतिक्रियाले सेफहरूको अनुभवमा निख्खरता आई क्षमता अभिवृद्दि गर्न मद्दत पुग्ने पौवाका सिओओ कृष्ण गौतमले बताए ।
नवौं वार्षिकोत्सवको अवसरमा आयोजित स्वादउत्सव देशभरका शाखाहरूमा एकैसाथ सञ्चालन हुने गौतमले बताए । उत्सवमा भाग लिनका लागि सबै शाखाबाट २ लाख स्थानीय तथा बाह्य पाउनाहरूलाई प्रत्यक्ष भेट गरी निमन्त्रणापत्र दिइएको उनले जानकारी दिए । ती सबै अतिथि पाहुनाहरूलाई पौवामा आएर खानाको नि-शुल्क स्वाद लिन पाउनेगरि ब्यवस्था मिलाइएको गौतमले बताए ।
होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले पौवाले नेपालगन्जमा मात्र १ अर्बको हाराहारीमा लगानी गर्ने योजना बनाएको जानकारी दिए । पौवाको विस्तारमा अहिलेसम्म बिभिन्न बैंकहरुको ८५ करोड लगानी भएको जानकारी दिँदै अध्यक्ष भण्डारीले लगानीकर्ताहरुले झण्डै ४० करोड लगानी गरेको बताए । ‘जसरी विगतमा बाटोमा हिँड्ने बटुवाले आश्रय लिने स्थानलाई पाटी पौवा भन्ने गरिन्थ्यो, आकाशबाट झरी पर्दा होस् वा आँधीतुफान आउँदा पाटी पौवा बटुवाहरूका लागि ओत बस्ने सहारा बन्ने गर्दथ्यो । त्यसैगरी, होटल पौवा देश विदेशका अतिथि पाहुनाहरूको ओत बनेको छ । पाहुनाहरूले दिएको विश्वास र समर्थनकै कारण पौवा ‘मिसन १००’ को लक्ष्य पच्छ्याउँदै देशभर विस्तारित भैरहेको छ ।’ उनले भने ।
नेपालगन्जमा पाँचतारे होटल ‘पौवा वेस्ट्रन’को पहिलो चरणको काम सम्पन्न भएको उनले जानकारी दिए । उनका अनुसार नेपालगन्जमा मुख्य आवास भवन निर्माण भैरहेको छ । अत्याधुनिक सभा हल तथा नेपाली रेस्टुरेन्ट सुरु भई सकेको छ । नेपालगन्जको होटलमा नेपाली हस्पिटालिटी भित्र अन्तरराष्ट्रिय सुबिधा रहने उनले बताए ।
होटल पौवा नेपालगन्जमा प्रबन्धक गिरिराज पाण्डेले नेपालगन्जमा सञ्चालन शाखामा फरक फरक स्वाद र परिकारका ५ वटा रेष्टुरेन्ट, ४ वटा ठुलो सभा हलसहित १४ वटा मिटिङ हल, ७ वटा स्वीट रुमसहित ९६ वटा डिलक्स रुम उपलब्ध हुने जानकारी दिए । नेपालगन्जमा पहिलो होटलका रुपमा ९ तला सहितको एउटै छानामुनी क्यासिनो, स्पा, स्विमिङ, जिम सुविधा रहने उनले दाबी गरे ।
स्थापनाको ९ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पौवाको पहुँच पुगेको छ भने छिमेकी कर्णाली प्रदेशको जुम्ला, गण्डकी प्रदेशको पोखरा, सुदुरपश्चिम प्रदेशको धनगढी तथा बाग्मती प्रदेशको काठमाडौं र सौराहामा पौवाको सेवा उपलब्ध छ ।
लुम्बिनी प्रदेशको रुपन्देहीको भैरहवाको चिल्ड्रेन पार्क र बुटवलको योगीकुटी, दाङको भालुवाङ, लमही र घोराही, कपिलवस्तुको गोरुसिङ्गेमा पौवाले समान र नेपालीपन सहितको सेवा दिइरहेको छ । त्यसैगरि पाल्पाको तानसेन र गुल्मीको रेसुङ्गामा पनि अन्तरराष्ट्रिय स्तरको रिसोर्टसहित होटल संचालनमा रहेको छ । त्यसैगरि सिन्धुलीको मुलकोट र खोटाङको हलेसीमा पनि पौवाको सेवा संचालन भइसकेको छ । १ वर्षभित्र पाल्पाको झिँगामारामा पौवा बनवास रिसोर्ट संचालनमा आउने पौवा व्यवस्थापनले जनाएको छ ।
कोशी प्रदेशमा होटल सञ्चालनको अध्ययन गरिरहेका तथा मधेश प्रदेशको जनकपुरमा सम्भाब्यतासहित होटल संचालनको प्रारम्भिक तयारी गरिएको छ । यस्तै, गण्डकी प्रदेशमा पनि थप होटल संचालनको अध्ययन थालिएको छ ।
सिन्धुली सदरमुकाममा नयाँ शाखा स्थापना हुन गैरहेको छ । अबको केही समयभित्रै पाल्पाको झिगामारामा पौवा बनवास रिसोर्ट समेत स्थापना हुँदैछ ।
स्थापनकालदेखि नेपाली हस्पिटालिटी दिने उद्घोष गर्दै पौवाका हरेक शाखाहरूमा नेपाली स्वाद, नेपालीपनको मनैदेखिको सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने कार्यक्रमहरू हुँदै आएका छन् । अन्तर्राष्ट्रिय जगतमा समेत ख्याती कमाएको नेपाली सत्कारलाई ब्राण्डिङ गर्दै हरेक शाखाहरूमा नेपाली पहिचान दिने सेवालाई थप समृद्ध बनाउने उद्देश्यका साथ पौवाले आफ्नो अभियानलाई अघि बढाइरहेको होटल पौवाका अध्यक्ष भण्डारीले बताए । ‘नेपाली संस्कृति र संस्कार एवं नेपाली रैथाने स्वादको पहिचानलाई पौवाले लक्ष्य बनाएको छ । सबै धर्म, संस्कृति मान्ने नेपालीका विभिन्न चाडपर्वलाई पौवाले विशेष बनाउँदै आएको छ ।’ भण्डारीले भने ।
‘देशलाई चिनाउने क्षेत्र पर्यटन क्षेत्र नै हो । हाम्रो डाँडापाखालाई सदुपयोग गर्ने हो भने रोजगारीको लागि विदेश पलायनलाई समेत कम गर्न सकिन्छ,’ अध्यक्ष भण्डारीले भने, ‘पौवाको प्रमुख लक्ष्य देशभित्रै रोजगारी सिर्जना गर्ने हो । पौवाले स्थानीय उत्पादनको समेत खपत गर्दै आएको छ जसले पौवा पुगेको स्थानमा आम्दानीको स्रोत समेत विस्तार भएको छ ।’
प्रतिक्रिया