काठमाडौँ, ११ चैतः राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले ‘राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२’को अवसरको सन्दर्भ पारेर ‘५औँ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ आयोजना गर्ने भएको छ ।
समूहले आज पत्रकार सम्मेलन गर्दै आगामी वैशाख १३ गते फोटो पत्रकारिता अवार्ड आयोजना गर्ने जानकारी गराएको हो । अवार्ड समारोहमा देश तथा विदेशमा कार्यरत फोटो पत्रकारको क्षमता र योगदानको सम्मानस्वरूप विभिन्न १६ विधामा ट्रफी, सम्मानपत्र प्रदान गरिनेछ ।
साथै ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्राप्त गर्ने व्यक्तिलाई नगद रु २५ हजार, ट्रफी र सम्मानपत्र प्रदान गरिने समूहका अध्यक्ष प्रदिपराज वन्तले जानकारी दिए ।
विभिन्न नौ विधामा अवार्ड प्रदान गरिनेछ । जसमा दैनिक जीवनयापन, खेलकुद, महिला, पर्यटन तथा संस्कृति, आर्थिक, राजनीतिक, मनोरञ्जन, स्वतन्त्र तथा समग्र फोटोपत्रकारिता समेटिएको छ ।
त्यसैगरी, प्रदेशस्तरीय अवार्डतर्फ कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उत्कृष्ट फोटो पत्रकारलाई सम्मान गरिनेछ ।
फोटो पत्रकारिता क्षेत्रमा तीन वर्षभन्दा बढी समयदेखि क्रियाशील फोटो पत्रकारले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । आवेदनका लागि कार्यरत संस्थाको परिचयपत्र, २०७९ साल वैशाखदेखि २०८१ साल फागुन मसान्तसम्म खिचिएका उत्कृष्ट पाँच फोटो पेश गर्नुपर्नेछ । आवेदन फाराम २०८१ साल चैत्र ३० गते राति १२ बजेभित्र बुझाइसक्नुपर्ने समूहले जनाएको छ ।
व्यावसायिक फोटो पत्रकारको नेतृत्वदायी संस्थाका रूपमा एनएफपिजे नेपाल, संस्था २०५३ सालमा स्थापना भएको हो ।
प्रतिक्रिया