१३ चैत्र २०८१, बुधबार | March 26, 2025

सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र रैती दुनियाँबाट सार्वभौम नागरिक हुन नेपाली जनताले रगतसँग साटेको उपलब्धि भएको बताएका छन् । शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार नागरिकलाई भएको उनले स्पष्ट पारे ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा हरेक नागरिक आफ्नो सार्वभौमसत्ताको आफैँ मालिक हुने व्यवस्था भएको बताएको उनको सचिवालयले जनाएको छ ।

उनले भने, “शासन व्यवस्थालाई सुदृढ बनाउन र यही व्यवस्थाबाट नेपाली जनताको भाग्य एवं भविष्य सुनिश्चित छ भन्ने महसुस गराउनुपर्ने दायित्व सरकार, राजनीतिक दललगायत हामी सबैको हो ।” उनले स्वतन्त्रता र शासन प्रणाली समयको माग र जनताको चाहना भएको बताउँदै नेपाली जनतालाई आफूले बनाएको संविधान बाहिरका कुनै पनि निरङ्कुशता र अराजकता स्वीकार्य नहुने बताए ।

राष्ट्रपति पौडेलले भने, “इतिहास साक्षी छ कि १०४ वर्षीय जहानीयाँ राणा शासन होस् कि ३० वर्षे पञ्चायत वा सक्रिय राजतन्त्र नेपाली जनताले कुनै पनि निरङ्कुशताका नाम र अवशेषलाई रुचाएनन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामीले त्यसै प्राप्त गरेका होइनौँ । यो हजारौँको त्याग, सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि हो ।”

राष्ट्रपति पौडेलले सभामुख हुँदा पैदलयात्रा गर्दै यस ठाउँमा र पूर्वी पहाडका डाँडाकाँडा पुगेको र जनतासँग साक्षात्कार गरेको स्मरण गरे। उनले भने भावविह्वल हुँदै नजिकै रहेको टिम्बुरबोटेको ओडारमा रुझ्दै र भिज्दै पुगेको बताए। टिम्बुरबोटेको नाम उच्चारण गर्दा राष्ट्रपति पौडेलको गला अवरूद्ध भएको थियो । टिम्बुरबोटे नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा २०४१ सालमा पञ्चायती सरकारले दर्जनभन्दा माथि योद्धाको हत्याको गरेको स्थान हो ।

राष्ट्रपति पौडेलले देशको युवा जनशक्ति विदेश पलायन हुने प्रवृत्ति रोक्न जरुरी रहेको उल्लेख गर्दै यसका लागि उचित शिक्षा, स्वास्थ्यको प्रबन्ध, उद्योगधन्दाको विकास, उत्पादनमा वृद्धि, चुस्तदुरुस्त सेवा प्रवाह, गाउँमै रोजगारी र आम्दानीको व्यवस्थाको लागि जनता केन्द्रित नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्नुपर्ने बताए । उनले भने विगतमा भएका कमजोरीबाट पाठ सिकेर अघि बढ्दै समृद्ध राष्ट्र निर्माणको अभियानमा जुट्न सम्बद्ध सबैलाई आग्रह गरे ।

राष्ट्रपति पौडेलले सङ्घीयता कार्यान्वयनका लागि तीन तहको सरकार मुलुकमा क्रियाशील भएको भन्दै जनताको ठूलो सङ्घर्ष, त्याग र बलिदानले हामीले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याएको बताए । उनले भने, “यसलाई सार्थक बनाउन संविधानको मर्म र भावनाअनुसार जनताको आवश्यकतामा जिम्मेवार ढङ्गले काम गर्न स्थानीय सरकार अझ बढी क्रियाशील हुनुपर्छ भन्ने म ठान्दछु ।”

उनले कृषि, जलस्रोत पर्यटन, पूर्वाधार र उद्योगधन्दाको विस्तार नै मुलुक विकासको आधार भएको बताउँदै यही भूगोलको सोलु र दूधकोशी नदी क्षेत्रमा निर्माणाधीन साना ठूला जलविद्युत् आयोजनाबाट मुलुकको आर्थिक विकासमा योगदान पुग्नेमा आफू विश्वस्त भएको बताए । उनले भने “हिमाल आरोहण, पदयात्रासहित साहसिक गतिविधिमार्फत सगरमाथा क्षेत्रले मुलुकको पर्यटनको विकास र विस्तार एवं अन्ततः राष्ट्रिय अर्थतन्त्रमा पु¥याएको योगदान महत्वपूर्ण छ ।”

राष्ट्रपति पौडेलले राजधानी र मधेसबाट सर्वोच्च शिखर सगरमाथाको काख अब धेरै टाढा नभएको देख्दा आफू अत्यन्तै खुसी भएको भन्दै अपर सगरमाथा मार्ग निर्माणका लागि भएका पहल र आफूले गरेको सङ्घर्षको स्मरण गरे ।

राष्ट्रपति पौडेलले सगरमाथाको काख मात्र नभई डोल्पाको दुनैदेखि पूर्वी पहाडमा समेत सडक पुगेको बताए । उनले भने, “नुन, तेल लिन भारी बोकेर कैयौँ दिन हिँड्नुपर्ने हिजोको परिस्थितिबाट टाउकोको भारी बिसाउने अवस्था बहुदलीय लोकतन्त्रले ल्याएको हो । लोकतन्त्रले ल्याएको यो परिवर्तनलाई हामीले भुल्न हुँदैन ।”

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ५ : २६ बजे

बर्खास्त गर्ने सरकारको निर्णय विरुद्ध कुलमान सर्वोच्चमा

काठमाडौँ । आफुलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट गैरकानुनीरुपमा

प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ दिनुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा

प्रतिपक्षी दलहरूलाई प्रधानमन्त्रीको कटाक्ष – संसदमा जवाफ दिईंदैन, चिसै पानीले नुहाएहुन्छ

काठमाडौं। प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटीपिटी

बालविवाह, शोषण, हिंसा, उत्पीडन र बेचबिखनबाट मुक्ति दिलाउन युवतीहरुलाई सिपमूलक तालिम

नेपालगन्ज । लुम्बिनी प्रदेशका पूर्व सहरी विकास मन्त्री कृष्णा केसी

इटहरीको सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा

इटहरी । इटहरीको सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ