२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

अलोकतान्त्रिक गतिविधिविरुद्ध एमालेको सचेतना अभियान, प्रमुख शहरहरुमा सभा



काठमाडौँ । नेकपा (एमाले) ले लोकतान्त्रिक गणतन्त्रका पक्षमा जनमत सिर्जना गर्न देशव्यापी सचेतना अभियान घोषणा गरेको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मुलुकमा हाल भइरहेका अलोकतान्त्रिक गतिविधि विरुद्ध जनतालाई सचेत गराउनका लागि अभियान सञ्चालन गरिने बताए । उनका अनुसार अभियानअन्तर्गत एमालेले यही चैत ११ गते एकैदिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको छ ।

अभियानका क्रममा यही चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी विरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम र चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल ¥याली आयोजना गरिने उनले बताए । एमालेले चैत १८ गते सबै जिल्लामा जिल्लास्तरीय जागरणसभा आयोजना गर्ने भएको छ ।

चैत २४ देखि ३० गतेसम्म प्रमुख सहरहरु धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने निर्णय गरिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

प्रदेश तहमा हुने सभामा पार्टी केन्द्रबाट वक्ता पठाइने भएको छ भने जिल्ला तहको सभाका लागि भने आवश्यकता आधारमा केन्द्रीय नेता खट्ने उनले बताए ।

कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा जोड

अभियान सञ्चालन तयारीका सम्बन्धमा आज महासचिव शङ्कर पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई ‘भर्चुअल’ बैठक गरी पार्टीले तय गरेको कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् । पार्टीको यही चैत ४ गतेको सचिवालय बैठकले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति गम्भीर रूपमा छलफल गरी पार्टी संविधान र यसले संस्थागत गरेको लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गरेको थियो ।

उनले जनचेतना अभियान सञ्चालन गर्दा तथ्यका आधारमा गर्न पनि निर्देशन दिए । उनले पञ्चायतकालीन र लोकतन्त्रको अवधिमा भएका आर्थिक र सामाजिक विकासका साथै जनताको जीवनस्तरमा आएको व्यापक परिवर्तन सम्बन्धमा तथ्यगत विवरण जानकारी गराएका थिए ।

अभियानका क्रममा महासचिव पोखरेलले पञ्चायतको अन्त्यपछि कूल गार्हस्थ उत्पादन, प्रतिव्यक्ति आय, निरपेक्ष गरिबी दर, सडक सञ्जाल विस्तार, जनतालाई आधारभूत पिउने पानीको उपलब्धता, सञ्चार सुविधा, विद्युत् उत्पादन तथा उपभोग, नेपालीको औसत आयु वृद्धि, मातृशिशु मृत्युदर घटाउन हासिल उपलब्धिबारे आम जनसमुदायलाई अवगत गराउनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  ९ : ५९ बजे

स्वास्थ्य मन्त्रालयद्वारा निःशुल्क प्राप्त हुने सेवासम्बन्धी विवरण सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त

नेपालमा राजतन्त्रको सम्भावना छैन : प्रकाशशरण महत

धनुषा । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपालमा राजतन्त्रको

दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद

काठमाडौं । काठमाडौंको तीनकुने घटनामा मुछिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि

दीपमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

बुटवल । बुटवल-८ सुख्खानगरमा रहेको दीप बोर्डिङ हाई स्कुलले उत्कृष्ट