नेपालगन्ज । राष्ट्रिय गौरवको हुलाकी राजमार्गअन्तर्गत नेपालगञ्ज–गुलरिया खण्ड अन्तर्गतको २७ दशमलव छ किलोमिटर सडक निर्माण हालसम्म ९५ प्रतिशत निर्माण सम्पन्न भएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका अनुसार नेपालगञ्जको नन्दनीमिल क्षेत्रबाट सुरु भएर बर्दियाको लालपुर चोकसम्म डबल अस्फाल्ट विधिबाट कालोपत्र सम्पन्न भएको हो ।
विसं २०७० माघ १५ गतेदेखि निर्माण सुरु गरिएको उक्त खण्डको गुलरिया नगरपालिका–११ लालपुर चोकसम्म कालोपत्र पूरा भएको आयोजना कार्यालयका इञ्जिनियर युवराज तिमिल्सिनाले जानकारी दिए । हाल करिब आठ किलो मिटर मात्र कालोपत्र गर्न बाँकी रहेको भन्दै उनले पहिलो (सिङ्गल) कालोपत्रको काम दुई दिनभित्र सम्पन्न हुने बताए ।
इञ्जिनियर तिमिल्सिनाका अनुसार यही चैत २५ गतेभित्र सम्पूर्ण खण्डमा कालोपत्र सम्पन्न गर्ने योजना छ । निर्माण कम्पनी शर्मा एण्ड कम्पनीले रु दुई अर्ब ७८ करोड २९ लाखमा सो सडक निर्माणको ठेक्का लिएको थियो ।
आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण पाण्डेले आगामी मङ्सिर २७ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कम्पनीले तीव्र गतिमा काम गरिरहेकाले निर्धारित समयभन्दा अघि काम सम्पन्न हुने सम्भावना देखिएको बताए ।
नेपालगञ्ज–गुलरिया हुलाकी सडकको हाल निर्माण भइरहेको सडकको कूल लम्बाइ २७ दशमलव छ किलोमिटर रहेको छ । जसमध्ये ११ दशमलव छ किमी चार लेनमा निर्माण गरिएको सूचना अधिकारी पाण्डेले जानकारी दिए । उन का अनुसार बाँकी १६ किमी खण्डको दुई लेनमध्ये करिब तीन किमी डबल कालोपत्र गर्न बाँकी छ ।
सडक सम्पन्न भएसँगै नेपालगञ्ज–गुलरिया यात्रा छिटो, सहज र सुरक्षित हुने विश्वास गरिएपनि सोही सडक खण्डको खजुरा गाउँपालिकका खण्डको १ हजार ८ सय मिटर सडक भने अलपत्र अवस्थामा रहेको छ । नेपालगन्ज(गुलरिया खण्डको अन्यत्र चिल्लो र फराकिलो सडक बनिसक्दा त्यसै सडक खण्डको खजुरा बजार क्षेत्रको १८सय मिटर सडकको भने कन्तबिजोग कायम रहेको छ ।
बाँकेको खजुरा तथा बर्दियाको गुलरिया सडक खण्डमा निर्माणाधिन सडकको तीन पटक म्याद थप, दर्जनौपटक काम सुधारको ताकेता र त्यस यता पनि लगातार बिभिन्न सुबिधा दिएर काम गर्ने अवसर दिँदा पनि ठेकेदार कम्पनी गजुरमुखी कन्ट्रक्सनबाट काम हुन नसकेपछि गत साउन २८ गते ठेक्का सम्झौता तोडिएको थियो । तर ठेक्का सम्झौता तोड्ने सडक विभाग अन्तर्गत सडक डिभिजन कार्यालय नेपालगन्जका विरुद्ध ठेकेदारले मुद्दा दर्ता गराएर सडक निमार्णलाई अनिश्चित बनाइदिएको छ ।
सम्झौता अनुसारको गुणस्तरमा लापरवाही सुधार गर्न, समयसिमाभित्र काम सम्पन्न गर्न र ठेकेदारको माग अनुसार पटक पटक म्याद थप गर्दापनि ठेकेदार कम्पनीले सडकको काम सम्पन्न गर्ने तदारुकता नदेखाएपछि डिभिजन कार्यालय नेपालगन्जले ठेक्का सम्झौता तोडेको थियो ।
बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । ठेकेदारको चरम लापरवाहीका विरुद्ध स्थानीयले पटक पटक आन्दोलन गर्दै आएका छन् । स्थानीयले सम्झौता ताडेर कालो सूचीमा राख्न माग हुँदै आएपनि ठेकेदार कम्पनीले सडकको विरुद्ध उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा मुद्दा दर्ता गराएर खजुरा सडक खण्डको अवस्था थप कन्त विजोग बनाउने योजना बनाएको खजुराका स्थानीयबासीको भनाई छ ।
ठेकेदारलाई काम गर्ने अवसर, समयमा काम सक्न र गुणस्तर सुधार गर्न दर्जनौपटक पत्राचार गर्दा पनि अटेर गरेपछि ठेक्का खारेज गरिएको जनाउँदै मुद्दा दिएर फेरि योजनालाई अल्झाउन खोजिएको सडक डिभिजनका अधिकारीहरु बताउँछन् ।
बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको सडक निर्माणका लागि रु २१ करोड ४९ लाखमा सम्झौता भएको थियो ।
प्रतिक्रिया