१९ चैत्र २०८१, मंगलबार | April 1, 2025

नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’



काठमाडौं । नेपालमा केही वर्षयता सामाजिक विषयवस्तुसँग जोडिएका चलचित्र बढी निर्माण भइरहेका छन् । सामाजिक विषय र हास्यप्रधान प्रस्तुतीकरण रहका चलचित्रले दर्शकको साथ पनि राम्रै पाइरहेका छन् । ‘छक्का पञ्जा’, ‘कबड्डी’, ‘जात्रा’ चलचित्रका शृङ्खलाको व्यापार हेर्दा नेपालमा हास्यप्रधान चलचित्रमा दर्शक आकर्षित रहेको बुझ्न सकिन्छ ।

फरक विषय वा प्रस्तुतीकरण भएका चलचित्र निर्माण गर्नु चलचित्रकर्मीको दायित्व रहेको निर्देशक बिक्की महर्जनको बुझाइ छ । यही महसुस गरेर उनले दुई वर्षअघि पहिलो चलचित्र निर्देशन गर्ने सोच बनाउँदा द्वन्द्व विधालाई रोजे । उजले निर्देशन गरेको चलचित्र ‘आउट लः दफा २१९’ द्वन्द्व विधामा तयार गरिएको छ । “हामीले बनिरहेका चलचित्रभन्दा फरक गर्ने कोसिस गर्दै जोखिम मोलेर पनि द्वन्द्व विधामा चलचित्र तयार गरेका छौँ । यस चलचित्रको प्रस्तुतीकरणको शैली बनिरहेकाभन्दा फरक छभने हामीले दफा २१९ को विषयलाई उठाएका छौँ । महिला हिंसा र बलत्कारका विषय चलचित्रमा समेटेका छौँ”, निर्देशक महर्जनले भने ।

उनले चलचित्रलाई बिनासम्झौता तयार गर्न दुई वर्ष समय लागेको जानकारी दिए । अन्य विधाको तुलनामा द्वन्द्व विधामा निर्माण गरिने चलचित्रमा जोखिम हुनाका साथै लगानी बढी लाग्ने अभिनेता सुशील श्रेष्ठको भनाइ छ । पहिलोपटक द्वन्द्वप्रधान चलचित्रमा काम गरेका अभिनेता श्रेष्ठले चलचित्रको काम सुरु हुँदादेखि प्रदर्शनसम्म दुई वर्ष समय दिएको बताए । उनले भने, “एउटा राम्रो चलचित्र बनाउन र नेपालमै उपलब्ध स्रोतसाधनको प्रयोग गर्न हामीले कुनै कसर बाँकी राखेका छैनौँ । एउटा द्वन्द्वको दृश्य खिच्न नौ दिन लागेको छ । यस्ता दृश्य खिच्दा थकित हुनाका साथै जोखिम पनि उत्तिकै हुन्छ ।”

विदेशी चलचित्रमा कलाकारझैँ देखिने जोखिमका दृश्य ‘बडी डबल’ भए पनि नेपालमा भने अभिनेताले नै सबै दृश्यमा आफैँले छायाङ्कन गर्नुपर्छ । द्वन्द्वका दृश्यको छायाङ्कन गर्दा अभिनेता श्रेष्ठको हातको औँला भाँचिनेदेखि चोटपटक लागेको थियो । प्रायः प्रेमकथानक चलचित्रमा देखिरहनुभएका अभिनेता श्रेष्ठका लागि यसपटक फरक विधाको चलचित्रमा काम गर्नु चुनौतीसँगै अवसर पनि थियो । “एकै किसिमको चलचित्रमा काम गर्दा हाम्रो विषयमा धारणा नै बन्छ, त्यसकारण पनि मैले जोखिम मोलेर फरक विधामा प्रयास गरेँ । छायाङ्कनका क्रममा घाइते भएर पनि काम गरेको दृश्यलाई पर्दामा हेर्दा सन्तुष्टि मिलेको छ । चलचित्र भनेको सामूहिक कार्य हो, राम्रो बनाउन हामी सबैले उत्तिकै मेहनत गरेका छौँ”, उनले भने ।

चलचित्रका निर्देशक महर्जनले चलचित्र छायाङ्कनसँगै त्यसपछि गरिने प्राविधिक कार्यका लागि समय लागेको बताए । “हाम्रो चलचित्रमा प्राविधिक पक्षलाई समय दिनुपरेकाले दर्शकसम्म ल्याउन समय लागेको हो किनकि विदेशी चलचित्र हेरेर तारिफ गर्ने दर्शकले हाम्रोमा कमी नदेखुन् भन्ने हामी सम्पूर्ण निर्माण समूहलाई लाग्थ्यो । पारिवारिक चलचित्र मात्र बनिरहेको सन्दर्भलाई मध्यनजर गर्दै विविधता चाहिन्छ भनेर द्वन्द्वप्रधान चलचित्र निर्माण सुरु गरेका थियौँ । त्यसैले यसमा गर्नुपर्ने मेहनत र लगानीमा कुनै सम्झौता गरेका छैनौँ”, निर्देशक महर्जनले भने ।

उनका अनुसार विदेशी चलचित्रमा देखिने द्वन्द्वका दृश्यझैँ ‘आउट लः दफा २१९’ का दृश्यलाई तयार गरिएको छ । यही फागुन २९ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रलाई अमित अग्रहरी र निशा गुइडेले निर्माण गरेका हुन । निर्देशक महर्जन र दीर्घ धामीले संयुक्त रूपमा पटकथा तयार गरेको चलचित्रमा नवीन गुरुङले छायाङ्कन र साहिल खानले सम्पादन गरेका छन ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  ८ : १६ बजे

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

लिस्बन । पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेलले राष्ट्रपति

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

म्याग्दी । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न

पाटेबाघलाई निकुञ्जमा छाडियो

कञ्चनपुर । बेलौरी नगरपालिका-२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले

प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक

नारायणगढ-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्र

नवलपरासी । नारायणगढ-बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर