काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले आठमहिनासम्म गरेको कुशासन र भ्रष्टाचारका कारण लोकतन्त्र विरोधी र राजावादीहरु हौसिएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले सरकारले कुशासन र भ्रष्टाचारको काण्डैकाण्ड मच्चाएका कारण जनता विकल्प खोज्ने अवस्थातिर लागेको बताए । उनले देशभित्र र बाहिरका शक्तिकेन्द्रले जनताको यो असन्तोषलाई आफ्नो पक्षमा पार्न प्रयत्न गरेको जिकिर गरे । उनले अहिले राजावादीहरूको चहलपहलका पछाडि देशभित्र र बाहिरका चलखेल मिसिएको दाबी गरे । उनले वर्षौंसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्थापनाको सपना देख्न डराएकाहरु आज सडकमै ओर्लिएको उनले बताए ।
अध्यक्ष प्रचण्डले नेपालमा गणतन्त्र र लोकतन्त्र ल्याउन माओवादी युद्धसहित कैयौं आन्दोलनको बल रहेको त्यसका लागि ढुंगाढुंगामा जनताको रगत लतपतिएको बताए । तर, जनताको बलिदान र रगत पसिना मिसिएर आएको लोकतन्त्र कमजोर नरहेको स्पष्ट पारे । उनले राजतन्त्र र राजावादीहरुले व्यवस्था नै परिवर्तन गर्न प्रयास गरे त्यस विरुद्ध इतिहास निमर्म बन्ने चेतावनी पनि दिए । उनले इतिहासका गौरवपूर्ण कालखण्डलाई आज सबैले अझ विवेक तथा कृतज्ञताका साथ स्मरण गर्नुपर्ने बेला आएको बताए ।
प्रतिक्रिया