१ बैशाख २०८२, सोमबार | April 14, 2025

आपसी मतभेद हटाएर पार्टी सङ्गठन निर्माणमा लाग्न सभापति देउवाको निर्देशन



सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आपसी मतभेद र असमझदारी हटाएर पार्टी सङ्गठन निर्माणमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज धनगढीमा सुरु भएको पार्टीको प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा उनले आपसी प्रतिस्पर्धाका नाममा पार्टीलाई अहित गर्ने काम गर्न नहुने र सुदूरपश्चिमबाटै यसको सुरुआत गर्न आग्रह गरे । “पार्टीभित्रको प्रतिपर्धा स्वभाविक मानिए पनि अन्य पार्टीसँगको प्रतिस्पर्धाका क्रममा हुने अन्तर्घात जस्तो रोगलाई सदाका लागि निर्मूल गरेर अघि बढ्नुपर्छ । यसको सुरुआत यहीबाट गरौँ”, उनले भने ।

कांग्रेस–एमालेबीच गठबन्धन गर्नुपर्ने विविध कारण उल्लेख गर्दै सभापति देउवाले मुख्य प्रतिस्पर्धी भए पनि संसद्को गणित र देशको आवश्यकताअनुसार मिलेर सरकार बनाउनुपरेको धारणा राखे । उनले प्रतिस्पर्धालाई आफ्नो ठाउँमा राखेर देशका हितमा भोलिका दिनमा पनि मिलेर काम गर्न सकिने बताए । “संविधानबमोजिम राष्ट्र नै समावेशी र समानुपातिक पद्धतिमा चलेकाले प्रत्यक्ष चुनावमा कुनै पनि पार्टीको बहुमत प्राप्त गर्न नसकेकाले कुनै पनि पार्टीसँग गठबन्धन गर्नुपर्ने अवस्था रहेको छ । प्रतिस्पर्धा हुन्छ तर मिलेर पनि काम गर्नुपर्ने आवश्यकता छ । भोलिका दिनमा हामी सबै मिले सङ्गठन बलियो बनाउन लाग्यौँ भने एक्लै बहुमत पनि ल्याउन सकिन्छ । त्यसका लागि इमान्दर भएर लागौँ”, उनको आग्रह थियो ।

उपसभापति पूर्णबहादुर खड्काले पार्टीले गरेका राम्रा कामको प्रचार गरेर पार्टीप्रति जनताको विश्वास र भरोसा जगाउन जरूरी रहेको धारणा राखे । उनले भने, “पार्टीप्रतिको भरोसाको जगलाई आधार बनाएर अहिले देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न सकिन्छ । त्यसमा सबै जुटौँ, आआफ्नो क्षेत्र र तहबाट राम्रो काम गरौँ ।”

महामन्त्री गगनकुमार थापाले देशमा व्यवस्था बदलिए पनि नागरिकको अवस्था नबदलिएको गुनासो आइरहेकाले पार्टीले नागरिकको असन्तुष्टिको आगो निभाउनेतिर लाग्नुपर्ने बताए । उनले शासनको भार संविधानलाई बोकाएर नहुने भन्दै संविधान निर्माणको नेतृत्व गरेको कांग्रेसले संविधानबमोजिम जनताको अवस्था बदल्ने विश्वास दिन जरूरी रहेको उनको भनाइ थियो । “नागरिकले हामीले भनेको हरेक परिवर्तनका आन्दोलनमा साथ दियो । हामीले व्यवस्था बदल्न साथ देऊ, अवस्था बदल्न लाग्छौँ भनेर वाचा गर्‍योैँ । आज त्यो पूरा भएन भनेर असन्तुष्टि छ । जनताले अवस्था बदल्ने गरी सेवा प्रवाह खोजेकोले व्यक्तिगत आकाङ्क्षातिर नलागेर काम गर्नुपर्छ । वाचा पूरा गर्न ठोस काम गर्न जरुरी छ”, उनले भने ।

महामन्त्री थापाले समयमै पार्टीको महाअधिवेशन गर्ने कुरा पार्टीका क्रियाशील सदस्यमा भर पर्ने बताउँदै समयमै सदस्यता नवीकरण गराएमा अधिवेशन समयमै हुने बताए ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको व्यवस्थाभित्रैबाट सबैको हित गर्न सकिने चर्चा गर्दै पुरानो व्यवस्थाबाट पार नलाग्ने बताए । विगतमा देशको प्रतिकूलतालाई अनुकूलतामा लैजाने कामको नेतृत्व कांग्रेसले गरेको उल्लेख गर्दै उनले पार्टीले संयमता, एकता, परिपक्ताका साथ काम गर्ने समय आएको बताए ।

कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखकले व्यवस्था र संविधानविरुद्ध भइरहेको षड्यन्त्रलाई राष्ट्र र कांग्रेसविरुद्धको षडयन्त्रको संज्ञा दिए । उनले सहिष्णुता, उदारता जस्ता नेपाली लोकतन्त्रका विशेषतालाई कमजोरीका रूपमा नलिन परिवर्तनविरोधीलाई चेतावनी दिए ।

कांग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुशासन कायम गर्न प्रदेश सरकारले इमान्दारिता र नैतिकताका साथ काम गरिरहेको बताए । सम्मेलनको उद्घाटन समारोहमा कांग्रेसका केन्द्रीय प्रवक्ता डा प्रकाशशरण महत, सहमहामन्त्रीहरू जीवन परियार, भीष्मराज आङदम्बे, महालक्ष्मी (डिना) उपाध्याय, पूर्वमहामन्त्रीद्वव कृष्ण सिटौला, डा. शशाङ्क कोइराला, प्रदेश सभापति वीरबहादुर बलायरलगायतले सम्बोधन गरेका थिए ।

सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट कांग्रेसका प्रतिनिधि सहभागी सम्मलेनमा पार्टीका प्रदेश महामन्त्रीले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ८ : ३२ बजे

कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु

धम्बोझी चोकमा आजबाट महाराजा रेष्टुरेन्टको पूर्ण सेवा संचालनमा

नेपालगन्ज । नयाँ वर्षको आगमनसँगै नेपालगन्जमा थप एक अत्याधुनिक रेष्टुरेन्ट

विद्यार्थी टिकाउ दर बढाउन अझै मेहनत गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शैक्षिक सत्र २०८२ को

वर्ष २०८२ मा आशावादी छन् चलचित्रकर्मी

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष, २०८१ स्मरणयोग्य एवं

नयाँ वर्षको अवसर पारी बुटवलको चाँदबारीचोकमा खुल्यो कान्तिपुर बुटवल सिटी पोलिक्लिनिक

बुटवल । नव वर्ष २०८२ को प्रारम्भसँगै बुटवलमा कान्तिपुर बुटवल