बुटवल । नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिताको रुपमा हेरिदै आएको रुपन्देहीकै पुरानो गोल्डकप तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता चैतको पहिलो सातादेखि हुने भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोगी संस्था रहेको प्रतियोगिताको २३ औं संस्करण चैत ९ गतेबाट शुरु हुने भएको हो ।
आईतबार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले प्रतियोगिताको तयारी पूरा भएको बताए । नेपालकै प्रतिष्ठित गोल्डकप मध्येको एकमा पर्ने तिलोत्तमा गोल्डकपको तयारी पूरा भएको उनले बताए । ‘नेपालमा खप्टड, रारा, आहा रारा र तिलोत्तमा चार मुख्य गोल्डकपमध्ये हो ।’- उनले भने । प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैया, गोल्डकप, प्रमाणपत्रबाट पुरसकृत गरिने छ । यसैगरि उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।
यसैगरि विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाबाट पुरस्कृत गरिने उनले बताए । यो वर्ष डिफेन्डिङ च्याम्पियन मनाङ मर्याङदी क्लब सहभागी नहुने उनले बताए । प्रतियोगितामा रुपन्देही-११, संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज क्लब, थ्रि स्टार क्लब, नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, एडोर्न गडवाल स्पोर्टिङ क्लब, उज्वेकस्थान टिमलाई सहभागीताको लागि पत्राचार गरिएको उनले बताए ।
कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेय, उपमेयर सावित्रादेवी अर्याल, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पियाले खेलकुद पर्यटनको रुपमा विकास गर्ने गरि पूर्वाधार र खेल गतिविधि भैरहेको बताए । चैत ९ गतेबाट १६ गतेसम्म संचालन हुने प्रतियोगितामा १ करोड ८ लाख रुपैया, ८८ हजार रुपैया खर्च हुने अनुमान रहेको छ ।
यस्तो छ तिलोत्तमा गोल्डकपको इतिहास
तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि प्रतियोगिता सुरू भएको प्रतियोगिताको २३ औं संस्करण ४८ वर्षमा हुन लागेको हो । बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत २५ वर्ष देखि जिल्ला फुटबल संघ रुपन्देहीले सञ्चालन गर्दै आएको छ । ३३ देखि ३५ सालसम्म नियमित भएको प्रतियोगिता त्यसयता ३९ सालसम्म हुन सकेको थिएन । त्यसपछि ४३ सालदेखि ५१ सालसम्म सात वर्ष रोकिएको प्रतियोगिता ५६ सालमा फेरि रोकिएको थियो । ५७ र ५८ मा दुई वर्ष लगातार सञ्चालन भएपनि ६४ सालसम्म सञ्चालन हुन सकेको थिएन । त्यसपछि ६५ सालमा सञ्चालन भएपनि ६६ मा रोकिएर फेरि ६७ सालमा संचालन भएको थियो ।
६८ देखि ७० सालसम्म रोकिएको तिलोत्तमा गोल्डकप ७१ सालमा संचालन भए पनि पछिल्लो पटक ७२ सालमा संचालन हुन सकेन । त्यसयता लगातार तीन वर्ष भने प्रतियोगिता सञ्चालन हुंदै आएको गोल्डकप २०८० सालमा पनि संचालन हुन सकेन ।
२०३३ सालमा भएको पहिलो खेलमा सिद्धार्थ खेलकुद परिषद् रुपन्देही विजयी भएको थियो भने दोस्रोमा बम्बई फर्टिलाईजर मुम्बई, तेस्रो, नवौं, दशौं र तेह्रौमा महेन्द्र पुलिस क्लब, चौथो, पांचौ र छैटौंमा कालिका स्पोर्टिङ क्लब, सातौं जनकपुर चुरोट कारखाना विजयी भएका थिए ।
त्यस्तै, आठौमा आरएनएसी, एघारौंमा महिन्द्रा एण्ड महिन्द्रा मुम्बई, बाह्रौं र सोह्रौमा त्रिभुवन आर्मी क्लब, चौधौं र अठारौंमा रुपन्देही ११, पन्ध्रौमा फ्रेन्ड्स क्लब, सत्रौमा जावलाखेल युथ क्लब र १९ औं संस्करणको उपाधि सिएमसी संकटा क्लब २० औं मा थ्रिस्टार क्लब काठमाडौं, २१ औं मा क्यामरुन दाउफिन्स क्लबले जितेका थिए । २२ औं संस्करणको उपाधि भने मनाङ मर्स्याङ्दी क्लबले जितेको थियो ।
प्रतिक्रिया