बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न १ नयाँमिल जनसेवा चोकमा कार र मोटरसाईकल ठोक्किदा १ जनाको मृत्यु भएको छ । आज बिहानै भएको दुर्घटनामा मोटरसाइकलमा सवार शान्ति नमुना मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा गुल्मीको रुरु गाउँपालिका वडा न ३ घर भई हाल बुटवल ३ ट्राफिकचोक बस्दै आएका १९ बर्षिय रोशन परियार रहेको राजमार्ग सुरक्षा ट्राफिक सुरक्षा कार्यालय बुटवलले जनाएको छ । तिलोत्तमा ५ स्थित शान्ति नमुना मावि कक्षा १२ मा अध्ययनरत परियारको उपचारका क्रममा मृत्यु भएको राजमार्ग सुरक्षा ट्राफिक सुरक्षा कार्यालय बुटवलका सूचना अधिकारी डिएसपी मधुसुदन न्यौपानेले बताए ।
न्यौपानेका अनुसार बुटवलबाट आउँदै गरेको लु ५६ प १९६१ नम्बरको मोटरसाइकल र मुख्य हाइवेको पश्चिम लेनबाट पुर्वतर्फ बाटो काट्दै गरेको बा २० च १७५४ नम्बरको कार नयाँमिलस्थित जनसेवा क्लव अगाडी आज बिहान एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा परि गँभिर घाइते भएका परियारको उपचारका क्रममा निधन भएको हो ।
कार तथा कार चालकलाई नियन्त्रणमा लिएर छानवीन अगाडी बढाइएको प्रहरीले जनाएको छ । विद्यार्थीको सडक दुर्घटनामा परि निधन भएपछि विद्यालयले आज एक दिनका लागी शोकस्वरुप विद्यालय बन्द रहने जनाएको छ ।


















प्रतिक्रिया