बुटवल । मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीका एक युवाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको सरावलमा मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीको शुद्धोधन गाउँपालिका अमहवा बस्ने २८ वर्षीय कमल परियारको मृत्यु भएको हो ।
दुर्घटनामा अर्का युवा गम्भिर घाइते भएका छन् । सरावल गाउँपालिका १ सालबासस्थित पूर्वपश्चिम राजमार्गमा बुटवलतर्फ आउँदै गरेको प्रदेश नं. ३-०२-००६ प ९८३६ को मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसपी रेशम बोहराले जानकारी दिए ।
डीएसपी बोहराका अनुसार दुर्घटनामा मोटरसाइकल चालक नुवाकोटको लिखु गाउँपालिका-३ घर भएका २९ वर्षीय गोपाल लोहनी गम्भीर घाइते भएका छन् । उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
तीव्र गतिमा रहेको मोटरसाइकल सडकको बीचमा रहेको पेटीमा ठोकिँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै युवकलाई तत्कालै उपचारको लागि लुम्बिनी सिटी अस्पताल लगिएको थियो । उपचारकै क्रममा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी बोहोराले जानकारी दिए ।
प्रतिक्रिया